Logo

नेपालबाट ११ सय बस्तु निर्यात हुँदा १३ मात्रै नाफामा, निर्यातमा पनि कसरी हुन्छ घाटा ?

नेपालबाट ११ सय बस्तु निर्यात हुँदा १३ मात्रै नाफामा, निर्यातमा पनि कसरी हुन्छ घाटा ?



काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ९ महिनामा झण्डै ११ सय प्रकारका वस्तुहरु विदेशतर्फ निकासी गरेको छ । त्यसमध्ये धेरैजसो वस्तुको निर्यातमा व्यापारघाटा व्यहोरेको नेपालले जम्मा १३ वस्तुमा मात्रै व्यापार नाफा गरेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ९ महिनाको तथ्यांक अनुसार नेपालले जम्मा १३ वस्तुबाहेक सबैमा व्यापारघाटा व्यहोरेको हो ।

laxmi

जसमा सबैभन्दा पहिलो स्थानमा गलैंचा छ । खासगरी नेपालले व्यापारनाफा व्यहोरेका वस्तुहरुको आयातभन्दा निर्यात उच्च हुन्छ । सोही अनुसार चालु आवको ९ महिनामा नेपालले गलैंचाको आयातभन्दा निर्यात बढी गर्दा ८ अर्ब २२ करोड रुपैयाँ बढीको व्यापारनाफा आर्जन गरेको हो ।

भन्सार विभागको तथ्यांकलाई आधार मान्दा नेपालले यस अवधिमा विभिन्न देशमा ८ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ बराबरको गलैंचा बेच्दा जम्मा २९ करोड २२ लाख रुपैयाँ बराबरको मात्रै गलैंचा आयात गरेको छ । यसरी नेपालले यसमार्फत ८ अर्ब २२ करोड बढीको व्यापारनाफा आर्जन गरेको हो । यसरी आयात हुने गलैंचाबाट पनि नेपालले १३ करोड ५१ लाख रुपैयाँ बराबरको राजस्व असुली गरेको छ ।

यता नेपालले धेरै व्यापारनाफा आर्जन गरेको दोस्रो स्थानमा तरकारी र फलफूल रहेको छ । यसमार्फत नेपालले ९ महिनामा ४ अर्ब ४४ करोड रुपैयाँ व्यापारनाफा आर्जन गरेको छ । यस्तै यसै अवधिमा वनस्पतीजन्य वस्तुहरु जस्तै डोको, नाम्लोलगायत बाँसबाट बनेका विभिन्न सजावटका सामग्रीहरुमार्फत पनि २ अर्ब ७१ करोड रुपैयाँ व्यापारनाफा आर्ज गरेको भन्सार विभागले जानकारी दिएको छ

विभागका अनुसार नेपालले उनी, फेल्ट, धागोलगायतबाट २ अर्ब ३६ करोड, काठबाट बनेका सामग्रीहरुबाट २ अर्ब २८ करोड, चिया, कफीलगायतबाट १ अर्ब १९ करोड र सिसाजन्य वस्तुहरुबाट ८७ करोड रुपैयाँ बराबरको व्यापारनाफा आर्जन गरेको छ । यससँगै नेपालले पछिल्ले ९ महिनामा वनस्पतीजन्य रेशा अर्थात अल्लो, गाँजालगायतको रेशा निर्यात गरेर ४४ करोड, संगितका सामग्रीहरु निर्यात गरी ३९ करोड, कपडा र पोशाकबाट १८ करोड ८० लाख रुपैयाँ बराबरको व्यापारनाफा आर्जन गरेको छ ।
यता विशेष सामग्री जस्तै कसैले केहि संकलन गरेका वस्तु या बहुमूल्य वस्तु निर्यात गरी नेपालले १८ करोड २३ लाख, कच्चा छाला र लेदर निर्यात गरी १५ करोड ४३ लाख र मासु निर्यात गरी १ करोड ४० लाख रुपैयाँ व्यापारनाफा आर्जन गरेको छ ।

यसरी व्यापारनाफा गरेका १३ वस्तुहरु नेपालले पछिल्लो ९ महिनामा समग्रमा २१ अर्ब ७९ करोड रुपैयाँ बराबरको आयात गर्दा निर्यात भने ४६ अर्ब १३ करोड रुपैयाँ बराबरको गरेको छ । यसरी यी वस्तु आयातभन्दा बढी निर्यात गरेवापत नेपालले पछिल्लो ९ महिनामा २४ अर्ब २३ करोड रुपैयाँ व्यापारनाफा आर्जन गरेको हो ।

यी वस्तुहरुको आयात भएपनि सोही अनुसारको भन्सार राजस्व भने सरकारले ५ अर्ब ४० करोड रुपैयाँ बराबर आर्जन गरेको छ ।
यसरी नेपालले गर्ने व्यापारमा धेरैजसो वस्तुको आयात निर्यातभन्दा कैयौं हिस्सा बढी हुँदा नेपालले चालु आवको ९ महिनामा मात्रै १० खर्ब ५३ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । यसरी नेपालले उच्च व्यापारघाटा व्यहोर्नुको पछाडी भने खनिज इन्धन, फलाम र स्टिल विभिन्न ठुला उपकरणहरु, विद्युतीय उपकरण, सवारीसाधन, प्लास्टिक र अन्नलगायत छन् ।

विभागको तथ्यांकलाई आधार मान्दा चालु आवको ९ महिनामा नेपालले खनिज इन्धनमात्रै आयात गरेर सबैभन्दा बढी २ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । यस्तै फलाम र स्टिल आयात गरी ८५ अर्ब ६८ करोड, ठुला औद्योगिक उपकरण आयात गरी ७७ अर्ब ८ करोड, विद्युतीय उपकरणहरुमार्फत ७६ अर्ब १ करोड, सवारीसाधन आयात गरी ५५ अर्ब ३३ करोड, प्लास्टिक र प्लास्टिकजन्य वस्तु आयात गरी ४२ अर्ब २९ करोड र अन्न आयात गरी ३७ अर्ब रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL