Logo

उच्च व्याजदर विरुद्ध व्यवसायीको ठाउँठाउँबाट विरोध प्रदर्शन : सरकार मुकदर्शक, राष्ट्र बैंक मौन

उच्च व्याजदर विरुद्ध व्यवसायीको ठाउँठाउँबाट विरोध प्रदर्शन : सरकार मुकदर्शक, राष्ट्र बैंक मौन



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणीसँग उच्च ब्याज असुल्न थालेसँगै उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन् । केही समयअघि चर्को ब्याजको विरुद्धमा नेपाल उद्योगी तथा व्यवसायी महासंघले नेपाल राष्ट्र बैंक लगायतका निकायमा ज्ञापन पत्र बुझाउँदै विरोध जनाएको थियो भने नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी हाल बैंक तथा वित्तीय संस्थाले आफुखुशी लिएको ब्याजदर नियन्त्रण गरिदिन आग्रह गरेका थिए । तर सो विषयमा कुनै सुनुवाई नभएपछि उद्योगी व्यवसायीहरुले आफु बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताएका छन् ।

laxmi

सोही अनुरुप गत हप्ता उद्योग वाणिज्य संघ काठमाडौंको नेतृत्वमा नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत व्यवसायीहरुले माईतीघरमा उपस्थित भएर ब्यानर र प्लेकार्डसहित आन्दोलनमा उत्रिएका थिए । त्यसलगत्तै पूर्वका उद्योगी व्यवसायीहरु पनि आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहोरा र पूर्वका उद्योगी व्यसायीहरुले बैंक तथा वित्तीय संस्थाका देखिएको समस्या समाधन गर्न व्यानर सहित जुलुस निकायले सम्बद्ध निकायमा ज्ञापन पत्र बुझाएका छन् ।

पछिल्लो समय उद्योगी व्यवसायीले तरलता समस्या र उच्च ब्याजदरको विषयमा प्रधानमन्त्री, अर्थमन्त्री तथा राष्ट्र बैंक लगायतका निकायमा पटक पटक घच्घच्याउँदा पनि सामाधानका लागि कुनै वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको उद्योगी व्यवसायीहरुको भनाई रहेको छ ।

केही समयअघि अर्थमन्त्री जनार्दन शर्माले हाल देखिएको उच्च व्याजदरको समस्या समाधान गर्न भन्दै एक कमिटिनै गठन गरेका थिए । तर उक्त कमिटिले पनि व्याजदरको विषयमा कुनै हस्तक्षेप गर्न नमिल्दै भन्दै विज्ञप्ती निकालेर समस्या समाधानको विषयमा कुनै चासो देखाएन भने हाल बजारमा देखिएको तरलता समस्या तथा उद्योगीको आन्दोलनको विषयलाई लिएर अर्थमन्त्रालय मुकदर्शक मात्रै बनेको छ ।

यसैगरी ब्याजदरको विषयमा कदम चाल्ने राष्ट्र बैंक पनि हालको बढ्दो ब्याजदर तथा उद्योगी व्यवसायीको आन्दोलनको विषयमा आफु अनभिज्ञ रहेको बताउँदै आएको छ । ब्याजदर माग र आपूर्तिको श्रृंखला अनुरुप बढ्ने तथा उद्योगी व्यवसायीले कहाँ र कस्तो खालका आन्दोलन गरे भन्ने विषयमा आफुहरुलाई कुनै जानकारीमा नभएको राष्ट्र बैंक स्रोतको भनाइ रहेको छ । ‘ब्याजदर कहिले बढ्छ कहिले घट्छ यो स्वाभाविक प्रक्रिया हो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तर ब्याजदर उच्च भयो भनेर कसले कहाँ आन्दोल तथा विरोध गरे त्यस विषयमा राष्ट्र बैंकलाई थाहा हुँदैन ।’

व्यवसायीले सुरुवातमा ७/८ प्रतिशत लिएको ऋणको व्याज हाल भनेर १५/१६ प्रतिशत पुगिसकेको छ । पछिल्लो समय बैंकको वेसरेटका साथै बैंकहरुले आफुखुशी मनलाग्दी रुपमा प्रिमियम जोड्न थालेपछि उद्योगी व्यवसायी थप आन्दोलित बन्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL