Logo

विद्युत प्राधिकरणले भन्यो, खानीखोला जलविद्युतलाई क्षतिपूर्ति दिँदैनौं

विद्युत प्राधिकरणले भन्यो, खानीखोला जलविद्युतलाई क्षतिपूर्ति दिँदैनौं



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले खानीखोला जलविद्युत कम्पनीलाई क्षतिपूर्ति नदिने भएको छ । खानीखोला जलविद्युत कम्पनीले केही प्राधिकरणले प्रशारण लाईन नबनाईदिएका कारण उत्पादित विजुली खेर गएको भन्दै ४१ करोड ३ लाख रुपैयाँ क्षतिपूर्ति दावी गर्दै प्राधिकरणलाई पत्र लेखेको थियो । तर प्राधिकरणले भने खानीखोलाले आफूखुशी क्षतिपूर्ति दावी गरेपनि आफुहरुले भने नदिने बताएको छ । ‘खानीखोलाले एकतर्फी रुपमा प्राधिकरणसँग क्षतिपूर्ति माग गर्दै पत्र लेखेको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘तर त्यसरी माग गर्दैमा प्राधिकरणले क्षतिपूर्ति दिँदैन ।’

खानीखोलाले निर्माण गरेको आयोजनाहरुबाट उत्पादित विद्युत जोड्ने मातातिर्थ माल्टा ३३ केभी प्रसारण लाईनको निर्माण कार्य नेपाल विद्युत प्राधिकरणले समयमा सम्पन्न नगरेका कारण उत्पादित विद्युत खेर गएको भन्दै सोको क्षतिपूर्ति दावी गरेको छ । साथै केही समयअघि कम्पनीले आफ्नो वित्तीय विवरण प्रकाशित गर्दै प्राधिकरणको बैकल्पीक व्यवस्था पश्चात २ वटा ११ केभी वितरण लाईन मार्फत विद्युत प्रवाह गर्दा एक तिहाई भन्दा कम विद्युत मात्र प्रवाह मै आयोजनालाई नोक्सानी भैरहेको र प्राधिकरणले माण्डुको स्वीच्याईमा अपग्रेड गर्दा अझै बढि विद्युत खेर गएको भन्दै सो वापत ४१ करोड ३ लाख रुपैयाँ क्षतिपूर्ति माग दावी गरेको छ ।

साथै त्यसरी दावी गरिएको रकमलाई कम्पनीले आफ्नो आम्दानीमा देखाएर गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको थियो । जसले गर्दा गत आवको पहिलो त्रैमाससम्म कम्पनीको नेटवर्थ र इपीएस ऋणात्मक रहेकोमा उक्त दावी रकमलाई आम्दानी मान्दा धनात्मक देखिएको छ । तेस्रो त्रैमासमा ४२ रुपैयाँले ऋणात्मक रहेको नेटवर्थ चौथो त्रैमासमा ८९ रुपैयाँले धनात्मक देखिएको छ । यसैगरी प्रतिसेयर आम्दानी पनि २१ रुपैयाँ ऋणात्मकबाट एकैपट ७१ रुपैयाँ धनात्मक देखिएको छ । जसका कारण सो कम्पनीको सेयर खरिदमा लगानीकर्ताको चाप देखिएको छ भने दैनिकजसो सकारात्मक सर्किट होनेको छ ।

तर प्राधिणका कार्यकारी निर्देशक घिसिङले भने कम्पनीसँग पीपीए मात्र गरेको तर क्षतिपूर्ति भने दिने विषय उल्लेख नभएको बताए । ‘कम्पनी आर्विट्रेसनमा गएर वा मुद्दा मामिलामा गएर क्षतिपूर्ति पाउने आधार लिएर आयो भने त्यसबेला सोचौंला,’ उनले भने, ‘तर अहिले कम्पनीले जसरी क्षतिपूर्ति माग गरेको छ सोही पत्रको आधारमा प्राधिकरणले क्षतिपूर्ति दिँदैन ।’

यसैगरी अधिवक्ता ज्योति दाहाल पनि कम्पनीले क्षतिपूर्ति दावी गर्नु ठिक भएको तर दिने नदिने विषय भने प्राधिकरणसँग सम्बन्धित रहेको बताउँछन् । ‘कम्पनीले प्रष्टसँग सूचना निकालेर हामीले आफ्नो खेर गएको विजुली बराबरको रकम क्षतिपूर्तिको माग दावी मात्रै गरेका हौं भनेको छ जुन ठिक हो, तर त्यो रकम पाउँछौ या पाउँदैनौं केही भनेको छैन,’ उनले भने, ‘तर बजारमा लगानीकर्ताले इपीएसलाई हेरेर कम्पनीले क्षतिपूर्ति पाईसकेको जसरी लगानी गरिरहेका छन्, यदि भोलीका दिनमा क्षतिपूर्ति पाएन भने पनि बजारमा म्यानुपुलेशन गरेको भनेर कम्पनी जिम्मेवार हुँदैन ।’ कम्पनीको सूचनाले नै हामीले माग दावी मात्रै गरेको हो है भनेर स्पष्ट पारेको समेत दाहाल बताउँछन् । साथै एनएफआरएस बिधी अनुसार वित्तीय विवरण देखाउँदा कम्पनीको खातामा पैसा नआएपनि आफ्नो दावी आम्दानीलाई वित्तीय विवरणमा देखाउनु पर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This