Logo

कोरोना महाप्रकोप र भद्रगोलमा गोल गर्ने साथी : निर्मल भट्टराईको विचार

कोरोना महाप्रकोप र भद्रगोलमा गोल गर्ने साथी : निर्मल भट्टराईको विचार



कोरोना नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनमा मेरो एक जना तुफानी जीवन शैली भएको साथी के गर्दै होलान भन्ने उत्सुकता मलाई पहिलो भाले डाकसँगै सुरु भयो । कोरोनाले ल्याइदिएको अनपेक्षित फुर्सदले आफ्ना पुराना जिग्री साथीहरु सम्झना गरें मैले । अरु गर्ने नै पो के थियो र !

laxmi

आज एका विहानै सम्झेको मेरो साथी चाहिँ सानैदेखि अलि विचित्रकै थियो । स्कुले जीवनको सम्झना छ, भकुण्डो खेल्दाको । हामी गोल हान्न मैदानमा ननस्टप दौडने । ऊ चाहिँ विपक्षीको गोलपोण्ट नजिकै घोर हेरेर बसिरहने । गोलपोष्टमा सबै खेलाडि झुम्म भएपछि ऊ एकाएक सक्रिय भईहाल्ने । कता कताबाट गोलपोष्टमा गोल हान्न सफल भईहाल्थ्यो ऊ । गोल गरेपछि प्रफुल्ल मुद्रामा भन्थ्यो –भद्रगोलमा गोल गर्ने हो क्या !

स्कुल सँगसँगै पढे पनि ऊ र म फरक–फरक कलेजमा अध्ययन शुरु गर्यौ । उसले सानो बेलामा भकुण्डो खेलमा प्रयोग गरेको ‘भद्रगोलमा गोल गर्ने’ तौर तरिका झन राम्ररी प्रयोग गर्न थाल्यो । सबभन्दा राम्ररी त यो तौर तरिका उसले राजनीतिमा प्रयोग गर्यो । अरु पर्चा बाँड्थे । विद्यार्थीको घर घर जान्थे । भेला बैठक गर्थे । आमसभागर्थे, भाषण गर्थे । विपक्षीसँग लड्थे । कुट्थे, कुटाई खान्थे । तर मेरो वालसखालाई वालमतलव थिएन । ऊ परिस्थितिलाई कसरी भद्रगोलतिर लैजान सकिन्छ भन्ने तानावाना बुन्थ्यो, लागू गथ्र्यो र राजनीतिक ‘गोल’गथ्र्यो ।

भद्रगोलमा गोल गर्न माहिर बन्दै गयो ऊ । उसको निसाना सधै अचुक । हेर्दाहेर्दै ऊ राजनीतिको राष्ट्रिय खेलाडी बन्यो । देशमा कहिले युद्धमा राजनीति चल्यो, कहिले राजनीतिमा युद्ध । उसको सफलता रोकिएन । युद्धको खेलमा पनि उसकै गोल, राजनीतिको खेलमा पनि उसकै गोल ।
आज विहानै मैले उसलाई सम्झें । मलाई उसको हालखबर बुझ्ने उत्सुकता ह्वात्तै बढ्यो । दुरभाषको प्रयोग गरेर केही भलाकुसारी गर्ने निधो गरें मैले । अरुबेला अचाक्ली व्यस्त रहने उसको फोन आज होलै रहेछ । हाम्रो फोनवार्ता यहाँ जस्ताको तस्तै उतारिएको छ ।

म : हेलो, नमस्कार ! कता हुनुहुन्छ ? सञ्चो विसञ्चो के छ ?
साथी : नमस्कार, नमस्कार ! तपाईं पनि आरामै हुनुहुन्छ ? हालखबर के छ ?
म : हालखबर त खासु छ नि !
साथी : खासु ? मैले कुरो बुझिन नि ।
म : खा सु मतलब खायो सुत्यो !
साथी : हाहाहा !
म : तपाईंको चाहिँ के छ नि खास खबर ? तपाईंको पनि मेरो जस्तै खासु खबर त होला नि ।
साथी : हेर्नोस् मित्र, जस्तोसुकै परिस्थितिमा पनि म चुपलागेर बस्ने मानिस होईन तपाईंलाई थाहै छ, म भद्रगोलमा गोल गर्न बानी परेको मानिस हुँ । आज सम्म जे जति उपलब्धी पाएको छु त्यो सबै मैले भद्रगोलमा गोल गरेरै पाएको हुँ । कोरोना भाइरस विरुद्धको यो युद्धमा म चुपलागेर बस्ने कुरै आउदैन । मेरो जीवनकै सबभन्दा ठूलो सफलता हात पार्ने लक्ष सहित मेरो खेल शुरु भईसकेको छ ।
म : यत्रो मानव संकटमा पनि ? मलाई त चित्तबुझेन है ।
साथी : राजनीतिक सफलता संकटमै प्राप्त गर्ने हो । देशमा अझै महासंकट आए हुन्थ्यो भन्ने सोचाईमा छु म ।
म : ओहो ! मेरो त भेजाले काम गरेन । राजनीति त यस्तो पो हो ?
अलि प्रष्ट पारिदिनु हुन्थ्यो कि ?
साथी : तपाईं राजनीतिको गोलचक्कर बुझ्नुहुन्न । मेरो भगिरथ प्रयत्नका बाबजुद यो सरकारले भद्रगोल हुनै दिएन, नेपालमा मैले चाहेजति कोरोना संक्रमण हुनै दिएन । बेलैमा आवश्यक तयारी गर्यो । स्वास्थ्य सामग्रीको व्यवस्था भयो प्रादेशिक तथा स्थानीयतहले बडो तदारुकताका साथ गरिरहे, गरिरहेका छन् । कोरोनाको संक्रमण संख्या अलि बढ्ला भनेको एकोहोरो अंकमै सीमित छ । यसले मेरो खेलमा अलि गाह्रो भएको छ ।
म : यो त सरकारले गरेको काम भयो । तपाईं चाहिँ के गरिरहनु भएको छ ?
साथी : तपाईं पनि पत्रकार जस्तो भएर प्रस्तुत हुनुभयो । तपाईंले देख्नु भएन ?
म प्रायःमौन नै देखिन्छु तर मेरा सहयोगीहातहरु भद्रगोल निर्माण गर्न र सरकारलाई अप्ठ्यारो पार्न चौविसै घण्टा व्यस्त छन् । भंगेरे अक्षरमा पत्र –पत्रिका र सामाजिक सञ्जालमा सरकार, कोरोना सम्बन्धी भ्रमपूर्ण समाचार प्रसारण गरिरहेका छन् । तिललाई पहाड बनाउने नयाँ नयाँ तरिका सोचिदैछन । मेरा नजिकका लेखक, कलाकार व्यङ्गकर्मीलाई यो अन्तिम युद्ध हो आ–आफ्नो ठाउँमा जुटौं भनिएको छ । जति धेरै भद्रगोल त्यति धेरै ‘हाम्रो’ सफलता भन्ने नाराका साथ लागिएको छ ।

साथीको अर्को मोबाइलमा घण्टी बझयो । साथी हड्बडाए । कोही खास व्यक्तिको फोन हुनु पर्छ त्यो । साथी, म जीवनकै कठिन खेल खेलिरहेको छु अहिले । विगतका कैयन खेलमाजस्तो सजिलै भद्रगोल सिर्जना हुने छाँट छैन अहिले । त्यसकारण न्वारानदेखिको बल लगाएर देशमा भद्रगोल सिर्जना गर्नु छ । मेरा लागि पनि यो साँच्चै अन्तिम युद्ध हो भनेर फोन राखे ।

सोचें–राजनीतिको छेउ टुप्पै थाहा नपाई जीवन जाने भो । हाय !
(भट्टराई नेकपाका नेता हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्
MBL