Logo

सेयर बजारमा ओरालोको संकेत, के सोच्दैछन् चलाख लगानीकर्ता ?

सेयर बजारमा ओरालोको संकेत, के सोच्दैछन् चलाख लगानीकर्ता ?


बिजखबर संवाददाता
27
Shares

बिजखबर विश्लेषण :
कारोबारको हिसावले अझै पनि झण्डै दैनिक एक अर्ब रुपैयाँ रहेको सेयर बजारमा अझै आकर्षण देखिएको छ । तर बजार निरन्तर ओरालो लागिरहेकोले आजभन्दा भोलि सेयर किन्नेहरुले पैसा बचाइरहेको स्थिति छ । गत वैशाखदेखि भदौसम्मको सेयर बजारको प्रबत्तिलाई नियाल्ने हो भने आज सेयर किन्नेले तीन दिनपछि बिक्री गर्दा नाफा कमाउने गरेको थियो । अहिले ठीक विपरीत स्थिति देखिएको छ । अर्थात आज भन्दा भोलि र भोलि भन्दा पर्सी सेयर किन्नेले सस्तो पाइरहेको छ ।

त्यसैले आज होइन भोलि किन्ने र भोलि होइन पसी किन्ने मनोविज्ञान सेयर लगानीकर्ताहरुमा छ । यस्तो बजारमा अहिले त्यस्ता लगानीकर्ताहरुले सेयर किनिरहेका छन, जसले पहिला महंगोमा बिक्री गरेका थिए । तर दिनैपिच्छे र आजको तुलनामा तीन दिनपछि झन सस्तो पाइने भएकोले पनि तिनिहरुको मथिंगल तिरमिराएको छ । बजार कतिसम्म घट्ला लगानीकर्ताहरुमा अन्योल छ ।

हकप्रद र बोनस सेयरको आकर्षण सकियो
एकसमय हकप्रद र बोनस सेयर पाइने, त्यसपछि पनि मूल्य नघट्ने लोभले धेरै लगानीकर्ताहरुलाई बजारले आकर्षित गरेको थियो । तर बढी प्रतिशतमा बोनस र हकप्रद घोषणा गर्दा पनि किन मूल्य बढेन भनेर साना लगानीकर्ताहरु छक्क परिरहेका छन । धेरैलाई लागेको थियो, पुँजी कम भएकोले एभरेष्ट बैंकले ४०।५० प्रतिशत बोनस सेयर दिनेछ र यो क्रम जारी रहनेछ । सो बैंकले हालै ७० प्रतिशत बोनस र त्यसपछि ३० प्रतिशत हकप्रद सेयरको घोषणा ग¥यो । घोषणा सेयरका लगानीकर्ताहरुले अनुमान गरेको भन्दा पनि बढी हो । तथापि मूल्य बढेन ।

अन्य कम्पनीहरुले पनि आकर्षक बोनस सेयर र हकप्रद घोषणा गरेपनि मूल्य घट्न शुरु भयो । यसको मूल कारण हो, आकर्षक घोषणा हुनेछ भन्ने अनुमानका आधारमा बढ्नपर्ने जति मूल्य बढिनैसकेको थियो । त्यस्तै बजारमा सँधै मूल्य बढिरहने प्रबृत्ति हुँदैन । बजार १८ सय अंकभन्दा माथि गैसकेको थियो । बिजखबरले एक विश्लेषण तयार गरी यसअघि गत असारमा नै लगानीकर्ताहरुलाई सचेत गराएको थियो । बजार अव योभन्दा माथि धानिदैन, अव बरु घट्न थाल्नेछ भन्ने समाचारको सार थियो । अहिले ठीक त्यही भएको देखियो । बजार निरन्तर घटिरहेको छ । यसको कारण पनि बजार धेरै नै बढ्नु, तरलताको समस्या हुनु, हकप्रद र बोनसको आकर्षण सकिनु प्रमुख कारण जिम्मेवार छन ।

त्यसपछि अर्को खतरनाक पक्ष भनेको संस्थापक सेयर साधारणमा रुपान्तरण गर्न पाइने कानूनी सुविधाको तयारी पनि हो । संसदमा विचाराधीन कानून पास भएमा संस्थापकहरुले ह्वात्तै सेयरको बिक्री गर्लान र माग र आपूर्तिको सामान्य नियम अनुसार सेयरको आपूर्ति बढेर मूल्य घट्नेछ भन्ने त्रास फैलियो । पछिल्लोपटक भारु नोटका ५ सय र १ हजार माथिको प्रतिवन्धले दोहोरो नागरिकता भएका लगानीकर्ताहरुलाई दूरुत्साहन भयो । उनीहरुले थप सेयर किन्ने होइन बिक्री गर्न थालेका छन ।

फेरि पनि साना लगानीकर्ता फसे

विगतमा धेरै साना लगानीकर्ताहरु बजार बढेर उच्च चक्रमा पुगेको बेला फँसेका थिए । बजारको विद्यमान प्रवृत्तिलाई नियाल्दा अहिले पनि ठीक त्यस्तै अवस्था आउँदैछ । चलाख लगानीकर्ताहरु त अनेक उपाय गरेर उम्किन्छन र उम्किसकेका पनि होलान । तर साना लगानीकर्ताहरु भने फेरि पनि झुक्किएर फँसेका छन । अहिले पनि बजार १८ सय अंक होइन, २२ सय अंक नाघ्नेछ भनेर हल्ला चलाइयो र महंगोमा सेयर किन्न लगाइयो । साना लगानीकर्ताहरु झुक्किएका छन ।

उनीहरु अहिले नै नोक्सानीमा नपरेपनि नाफा चाहि गुमाइसकेका छन । साना लगानीकर्ताहरु पनि यसमा जिम्मेवार छन । किनकि धितोपत्र बोर्ड लगायत नियमन निकाय र मिडियाको विश्लेषण नसुनेर नपढेर उनीहरुले रकम गुमाएका हुन सक्छन । अर्कोकुरा साना लगानीकर्ताहरुले बच्नका लागि म्युचुअल फण्ड जस्ता माध्यम प्रयोग गर्नुपर्ने थियो । यतातिर नजानेहरु पनि फँसेका हुन सक्छन ।

चलाख लगानीकर्ताहरु के सोच्दै होलान ?

नेपालको सेयर बजारमा लगानीका लागि साधारण सूत्र रहेको छ । त्यो हो, हल्ला किन्ने र तथ्य प्रकाशित जानकारी बेच्ने । ठूला लगानीकर्ताहरु यसै गर्छन । भित्री सूचना तथा जानकारीहरुमा उनीहरुको पँहुच मजबूत हुन्छ । भित्री सूचना थाहा पाएर सेयर किन्छन र त्यो सूचना सार्वजनिक भएका दिन सेयर बिक्री गर्छन । आकर्षक बोनस र हकप्रद सेयर घोषणा गरेको दिन अथवा कुनै कम्पनीले अर्को कम्पनी खरिद गरेको सार्वजनिक भएका दिन पहिला खरिद गरिएका सेयरहरु बिक्री गरिहाल्छन । अर्थात सेयर मूल्यलाई प्रभावित पार्ने सूचना प्राप्त गरेर सेयर किन्ने र सूचना सार्वजनिक भएका दिन विक्री गर्ने गर्छन ।

यस्तोमा साना लगानीकर्ताहरु अक्सर फँस्ने गर्छन । किनकि साना लगानीकर्ताहरुमा सूचना तथा जानकारीहरुको पँहुच कम हुन्छ । उनीहरु नेपालको सेयर बजारको प्रारम्भदेखि नै केही सीमित संख्याका लगानीकर्ताहरुले सेयर होल्ड गर्ने, बजारमा कम मात्र सक्रिय कारोबारमा राख्ने मूल्य उच्च बनाउने, विक्री गरेर कमाउने र अन्तमा मूल्य घटेपछि त्यही सेयर फेरि खरिद गर्ने प्रवृत्ति देखिएको छ । बैंकहरुमा धेरै ठूलो संख्यामा सेयर हुन थालेपनि विशेषगरी बीमा र लघुवित्त कम्पनीहरुमा अहिले पनि यस्तो प्रबृत्ति व्यापक मात्रामा देखिएको छ ।

पहिला पनि बिजखबरले सार्वजनिक गरिसकेको तथ्य हो, यस्ता लगानीकर्ताहरुमा सूचीकृत कम्पनीका संस्थापकहरु, राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, बीमा समितिका कर्मचारीहरु, केही सूचनामा प्रत्यक्ष पहुँच भएका सरकारी कर्मचारीहरु, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु यस अन्तर्गत पर्छन ।

यिनीहरु नीतिलाई परिवर्तन गरेर अथवा अनुकूलको नीति बनाएर सेयर बजारबाट लाभ लिने गर्छन । मूल्यलाई प्रभाव पार्ने संवेदनशील सूचनाहरु सेयरिङ हुन्छ । उनीहरु योजनावद्ध ढंगले सेयर खरिद विक्री गरी लाभ लिने गर्छन । दलालहरुसँग मिलेर यिनीहरुले लाभका लागि बजारलाई उतारचढाव गराइरहन्छन । नीतिको असर प्रभावकारी ढंगले विश्लेषण गर्न सक्छन र सर्वसाधारण लगानीकर्ताहरुले बाहिर निस्कन नपाउँदै आफू बाहिर निस्किहाल्छन । यसलाई नीतिगत भ्रष्टाचार भनिन्छ ।

अन्य मुलुकमा भित्री सूचनाको आधारमा हुने यस्तो सेयर कारोबारलाई अपराधको रुपमा लिएर कार्बाही गर्ने गरिन्छ । अहिलेको बजार प्रबृत्तिलाई हेर्दा पनि स्पष्ट देख्न सकिन्छ, ठूला लगानीकर्ताहरुले सेयर बिक्री गरिसकेका छन । बजारलाई घटाइरहेका छन र न्युनतम विन्दूमा पुगेपछि यिनीहरु खरिदका लागि जमजमाएर बाहिर निस्किनेछन । यिनीहरुले अहिले नेप्से १२ सयदेखि १४ अंकको न्युनतम विन्दूलाई पर्खिरहेको अनुमान धेरैको रहेको छ । त्यसैले बजार उक्त विन्दुसम्म घट्न सक्नेछ ।

यस्तो अवस्थामा के गर्ने ?

बढेको सेयर बजारले उचाईको एउटा चक्र पूरा गरेपछि निकै समय तलमाथि गर्दै जसरी बढेको थियो, त्यसैगरी घट्ने प्रबृत्ति देखाएको छ । आफ्नो लाभको अपेक्षालाई कुशल व्यवस्थापन गर्नुपर्ने हुन्छ । सेयर बजारमा स्टप फर्दर लस भन्ने चलन छ । थप नोक्सानी रोक्न सक्यो भने पनि यो लाभ बराबर नै हुन्छ । बजार घटिरहदा पनि लाभ हुन सक्छ ।

तर यस्तो अवस्थामा धेरै नै बुद्धिमानीपूर्वक र सावधानीपूर्वक लगानी गर्ने र लगानी झिक्ने गर्नु उत्तम हुनेछ । विशेषगरी कर्जा लिएर लगानी गर्नेहरुको होल्डिङ्ग क्षमता कमजोर हुन्छ । यस्तो आफ्नो उक्त क्षमता हेरेर चल्नुपर्ने हुन्छ । अन्यथा होल्ड गर्नु राम्रो हुनेछ । फेरि बजारमा अर्को चक्र फर्किनेछ । त्यसलाई केही राजनीतिक, आर्थिक, नीतिगत बाहना आवश्यक पर्छ र त्यसबेला सम्म पर्खिनु नै बुद्धिमानी हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL