Logo

आयात यहि गतिमा भइरहे जीडीपीको आकारकै व्यापार घाटा हुन सक्छ, डा.पोषराज पाण्डेको लेख

आयात यहि गतिमा भइरहे जीडीपीको आकारकै व्यापार घाटा हुन सक्छ, डा.पोषराज पाण्डेको लेख



हामी जस्तो गरिब मुलुकको लागी अन्तर्राष्ट्रिय व्यापारमा ‘एंगेज’ हुनु कठिन विषय हो । यसको लागी हामी निर्यातमुखी अर्थतन्त्रतर्फ जानुपर्छ । यसले उत्पादकत्वसँगै स्थानीय सामग्रीको अधिकतम प्रयोग गर्न सहयोग पुर्याउँछ । रोजगारी सिर्जनामा पनि सहयोग पुर्याउँछ । हामीले दश लाख डलरको कृषि उत्पादन गर्दा ३८ जना रोजगारी सिर्जना गरेका हुन्छौं । यदि सोही रकम बराबरको औद्योगिक उत्पादन गर्ने हो भने १३ जनालाई रोजगारी प्राप्त हुन्छ । यसो हुँदा देशमा रोजगारी सिर्जना गर्न पनि निर्यात उद्योगलाई प्रोत्साहन दिनुपर्छ ।

नेपालको निर्यात प्रवृत्ति हेर्ने हो भने केहि वर्षयता बढेको देखिन्छ । तर हाम्रो अर्थतन्त्रको आकार अनुसार निर्यात बढ्न सकेको छैन । विश्वको २० कम निर्यात गर्ने मुलुक छान्ने हो भने नेपाल त्यो समुहभित्रै पर्छ । हाम्रो कुल ग्राहस्थ उत्पादन (जीडीपी) जुन रुपमा वृद्धि भैरहको छ, सो अनुसार निर्यात बढेको छैन । हाम्रो निर्यात वस्तु र निर्यात बजार दुवै चुनौतिपुर्ण छ । वस्तुको कुरा गर्दा १० वटा वस्तुले नै निर्यातको ९० प्रतिशतभन्दा बढि हिस्सा ओगटेको हुन्छ । पाम र सोयाबिन तेलकै निर्यात धेरै छ । हाम्रो मुख्य निर्यात बजार भारत, संयुक्त राज्य अमेरिका, युरोप लगायत हुन् । यी क्षेत्रले हाम्रो लगभग ८० प्रतिशत बजार सुरक्षित गर्छन् । अर्को कुरा भनेको हामीले कम विलासीपूर्ण वस्तु मात्रै निर्यात गरिरहेका छौं । यसरी हामीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं । उदाहरणका लागि पस्मिना हेरौं, हाम्रो मूल्यको तुलनामा गुणस्तर निकै कमजोर छ । सोही मूल्यमा विदेशी पस्मिना उच्च गुणस्तरको पाउन सकिन्छ । हाम्रो निर्यात सर्भाइबल निकै कम रहेको छ । यो वस्तु दीर्घकालसम्मै निर्यात हुन्छ भन्ने केहि ग्यारेन्टी छैन ।

हाम्रो आयाततिर हेर्दा धेरै बढिरहेको छ । निर्यात हुने वस्तु संकुचित भइरहेका छन् तर आयात हुने वस्तुमा एकदमै विविधता बढि हुँदै गएको छ । आयात हुने वस्तु र आयात हुने स्थानको दायरा पनि बढ्दै गएको छ । आयातको वृद्धि सामान्यभन्दा झन् धेरै बढदै गएको छ । व्यापार घाटा उच्चदरमा वृद्धि हुदै गएको छ । पछिल्लो वर्षको ट्रेण्डलाई हेर्दा जीडीपीको ३७३८ प्रतिशत व्यापार घाटा पुगिसकेको छ । चालु वर्षको ८ महिनालाई हेर्ने हो भने पनि व्यापार घाटा ११ सय ६० अर्ब पुगिसकेको छ ।

यहि गतिमा गयो भने जीडीपीको आकारमै व्यापार घाटा हुन सक्छ । यसको लागि धेरै समय कुर्नु पर्दैन । यसले जतिसुकै बेला वैदेशिक मुद्रा अभावको सिकार बन्न सक्छौं । हाम्रो वस्तु र सेवा दुवै निर्यात गर्नुपर्ने अवस्था छ । तर, हामीले ट्यालेन्ट निर्यात गरिरहेका छौं । वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिटेन्सले नै हाम्रो विनिमय सञ्चिति धानिरहेको छ । यसतर्फ हामीले विचार गरेनौं भने जतिसुकै बेलामा हामी समस्यामा पर्न सक्छौं । अब एउटा प्रश्न के आउँछ भने के नेपालको ट्रेड सधैं घाटामै रहने हो त ? यसमा विश्व बैंकले गरेको अध्ययनमा नेपालको क्षमता चाहिं छ भन्ने देखाएको छ । सन् २०१९ मा विश्व बैंकले गरेको अध्ययनले वार्षिक ९.२ अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्न सक्ने क्षमता देखाएको छ । यसले नेपालले निर्यात गर्ने क्षमता राख्छ भन्ने प्रमाणित गर्छ । तर हामीले काम नगरेरै पछि परेका हौं ।

कुनै क्षेत्र विशेषभन्दा पनि समग्र अर्थतन्त्रलाई नै हामीले केन्द्रित गर्नुपर्छ । हाम्रो अर्थतन्त्रको क्षमता नै बढाउनु पर्छ । यसको लागी अर्थतन्त्रको उत्पादकत्व, अर्थतन्त्रमा रहेको ‘लिकेज’ दुवैलाई व्यवस्थापन गर्नुपर्छ । उत्पादकत्व बढाउनु भनेको निर्यातमुखी वस्तु बढाउनु हो । हामी अन्तर्राष्ट्रिय व्यापार सम्झौता गर्छौं, विश्व व्यापार संगठन(डब्लुटीओ)को सदस्य बन्यौं, दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र(साफ्टा)को सदस्यता लियौं, बिमस्टेकसँग हामी निगोसिएसन गर्दै छौं । यसले बजारसम्म जाने बाटो मात्रै देखाइदिने हो । अब हाम्रो उपाय भनेको उत्पादन बढाएर व्यापार घाटा कम गर्ने नै हो ।

सरकारले अहिले जुन पोलिसी अपनाएको छ, त्यो प्यारालाइसिस छ । यसलाई तत्कालै अन्त्य गर्नुपर्छ । हामीले कयौं वर्षदेखी भन्दै आएका छौं, दोस्रो चरणको सुधारको कुरा । यो कुरा सुरु गरेकै १५ वर्ष भैसकेको छ । यसतर्फ सरकारको ध्यान जान सकेको छैन । कतिपय ऐन नियम नै खारेज गर्नुपर्ने अवस्था रहेको छ । निजिक्षेत्र मैत्री कानुन बनाउनुपर्छ । अहिले हाम्रो देशमा राजनीतिक एजेन्डाले महत्व पाएको छ । तर आर्थिक मुद्दा ओझेलमा परेको छ । यसले आर्थिक नीति प्यारालाइसिस भैरहेको छ । हाम्रो निर्यात बजार असफल भैरहेको अवस्था छ । हाम्रो सरकार पनि असफल भैरहेको छ । सोभन्दा बढी असफल अन्तरसरकारी निकायबीचको समन्वय भैरहको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एउटा कुरा गर्छ । अर्थ मन्त्रालयले अर्कै कुरा गर्छ । कुनै प्रोडक्टको विकास गर्नुपर्यो भन्यो, वाणिज्यले एउटा गरौं भन्छ तर कृषिले अर्कैतर्फ गर्छ । पुर्वाधारको विकासमा अर्को निकायले अर्कोलाई मान्दैन । यसकारण हाम्रो देशमा अन्तरसरकारी समन्वय निकै कमजोर बन्दै गएको छ ।

अर्को ठूलो कमजोरी भनेको विश्व अर्थतन्त्रमा आइरहने परिवर्तनलाई आत्मसाथ नगर्नु हो । विश्व अहिले चौथो चरणको औद्योगिक क्रान्तिमा प्रवेश गरिसकेको छ । औद्योगिकरणमा विश्व डिजिटल प्रविधि धेरै टाढा पुगिसकेको छ । अब हाम्रो तत्कालको ध्यान भनेको ज्ञानमा आधारित अर्थतन्त्रतर्फ जानुपर्छ । यसको लागी नयाँ प्रविधिलाई नेपालमै विस्तार गर्दै जानु पर्नेछ । बाहिरबाट आयात नै गरेर ल्याएको वस्तुलाई स्विकार कसरी गर्ने ? प्रविधिमा हस्तान्तरण कसरी गर्ने विषय महत्वपुर्ण छ । व्यापारको अर्को सबैभन्दा ठूलो शत्रु भनेको भारतसँगको विनिमय दर हो । सन् १९९३ मा हामीले १.६ मा तय गरेको निनिमय दर अहिलेसम्म परिवर्तन भएको छैन । यो पछिको २७ वर्षमा धेरै परिवर्तन आइसकेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांक हेर्ने हो भनेपनि नेपालको मुद्रा ओभर भ्यालुएसन भैसकेको छ । यसकारण नेपाल र नेपालको विनिमय दर तत्कालै परिवर्तन गर्नुपर्छ । अहिले हामी व्यापारको सबैभन्दा ठूलो हिस्सेदार भारत नै हो । यसमा हाम्रो निर्यात महंगो भैरहेको छ । आयात सस्तो भैरहेको छ । यो हुने वित्तिकै हाम्रो मुद्रा थप सस्तो बन्न गयो भने भारतबाट आयात हुने वस्तु विस्तारै महँगो हुदैं जन्छ । हामीले निर्यातलाई प्रोत्साहन गर्ने हो भने व्यापार खर्च वा व्यवसाय लागत चाहिं घटाउनु पर्छ । एउटा खर्चको पँुजी घट्नुपर्छ । कर्पोरेट कर घटाएर उत्पादकलाई सहुलियत दिन सक्छौं ।

हामीले ध्यान दिने अर्को विषय भनेको विदेशी लगानीलाई केन्द्रित गर्नुपर्छ । उदाहरणको लागि हाम्रो जुस निर्यात गर्न सक्ने कुनै हैसियत छैन । तर डाबर नेपालले अर्बौंको जुस निर्यात गरेको छ । एफडीआईले विश्वव्यापी व्यापार प्रणालीमा सहभागी गराउन सहयोग पुर्याउँछ । अहिलेको हाम्रो मुख्य समस्या विश्वव्यापी र क्षेत्रीय व्यापार प्रणालीमा सहभागी हुन नसक्नु हो । यसको लागि विदेशी लगानी ल्याएर हुन्छ कि, स्वदेशी लगानीलाई प्रवद्र्धन गरेर हुन्छ, यसतर्फ ध्यान दिनुपर्छ ।

अहिलेको विश्वव्यापी प्रवृत्ति हेर्दा वस्तुको व्यापारभन्दा सेवा व्यापारको सम्भावना बढ्दै गएको छ । यसको वृद्धिदर अलि छिटो गतिमा बढिरहेको छ । उदाहरणको लागि भारत एउटा धेरै अटोमोबाइल उत्पादन गर्ने राष्ट्र हो, हामीले ती सवारीमा लाग्ने स–साना पार्टहरुको मात्रै निर्यात गर्न सक्यौ भने ठूलो लाभ लिन सकिन्छ । यस्तै गार्मेन्ट निर्यातको पनि ठूलै सम्भावना रहेको छ । अहिले व्यवसायीले उद्योग लगाएरभन्दा व्यापारमा पैसा लगाएर छिटो प्रतिफल पाउने गरेका छन् । उदाहरणको लागि निर्यात गर्ने हो भने एउटा उद्योगीले उद्योग राख्नुपर्छ, यसको लागि जग्गा महँगो छ, उसले धेरै झन्झट बेहोर्नुपरेको हुन्छ । तर, उसले जग्गामा मात्रै लगानी गर्यो भने लालपुर्जा सिरानीमा हाल्यो । डेढ दुई वर्षमा दोब्बर भन्दा बढी भैहाल्छ । जोखिम पनि कम हुन्छ । यस्तै पँुजी बजारमा लगानी गर्दा पनि उद्योगबाटभन्दा सजिलोसँग आम्दानी हुन्छ ।

अर्को आयात गरेर पैसा कमाउने । आयातमा ६ महिनाभित्र सामान ल्याएर पनि नाफा कमाइसकेको हुन्छ, उसले किन उद्योगमा पैसा लगाउँछ ? यसले गर्दा सरकारले जतिसक्दो उद्योगलाई धेरै सहुलियत दिनुपर्छ । अर्को हामीले गुणस्तरिय पूर्वाधारमा पनि ध्यान दिनुपर्छ । अहिले विश्वका देशहरु गुणस्तरमा निकै संवेदनशिल हुन थालेका छन् । यसले हामीले गुणस्तरिय सामान उत्पादन गर्न सकेनौं भने तत्कालै बजार गुमाउन सक्ने सम्भावना रहन्छ । यसकारण यो विषयमा संवेदनशील हुनु जरुरी छ ।

हाम्रो व्यापार कुटनीति निकै कमजोर हुन थाल्यो । सन् २०१६ मा अमेरिकाले हामीलाई गार्मेन्टको ७७ वटा लाइनमा जिरो ड्युटी सुविधा दियो । तर नेपालले यसलाई यति खेलाची गरेर लिइदियो कि यसमा व्यापार कुटनीति पुर्ण रुपमा फेल भयो । अमेरिकाले प्रत्येक वर्ष यो सुविधाको बारेमा विश्व व्यापार संगठनमा जवाफ दिनुपर्नेछ । नेपालमा भुकम्पको कारण समस्यामा छ । यसकारण नेपालको लागि १० वर्षको लागि सुविधा दिनुपर्छ भनिरहेको छ । तर नेपालमा कसैलाई मतलबै छैन । न उसलाई सकारले गम्भिर रुपमा लिएको न निजी क्षेत्रले लिएको छ । हाम्रो सरकारले अहिले जुन् परम्परागत हिसाबले व्यापार नीति व्यवस्थापन गरिरहेको छ, यसले राम्रो नतिजा दिदैंन । हाम्रो नीति यस्तो बनोस जसले विश्व अर्थतन्त्रलाई सम्बोधन गरोस् । हामीले निर्यात वस्तुको छनोटमा पनि ध्यान दिनुपर्छ । ज्ञानमा आधारित सेवा निर्यातमा ध्यान दिनुपर्छ । अध्यक्ष, सावति नेपाल (चेम्बर स्मारिकाबाट)

प्रतिक्रिया दिनुहोस्
MBL