Logo

बीआईएसको वार्षिक बैठकमा गभर्नर पौडेलको सहभागिता, अन्तरदेशीय सहकार्य विस्तारमा जोड

बीआईएसको वार्षिक बैठकमा गभर्नर पौडेलको सहभागिता, अन्तरदेशीय सहकार्य विस्तारमा जोड



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले असार १२ देखि १४ सम्म स्विट्जरल्यान्डको बार्नमा सम्पन्न ‘इन्डरनेशनल सेटलमेन्ट्स (बीआईएस)’ को १२औँ वार्षिक बैठकमा सहभागिता जनाएका छन् । सन् १९३० मा स्थापना भएको उक्त संस्था विश्वभरका ६२ केन्द्रीय बैंकहरूको साझा मञ्च हो, जसले मौद्रिक तथा वित्तीय स्थायित्व कायम गर्न सहकार्य गर्दछ।

बैठकका क्रममा गभर्नर पौडेल ‘इमर्जिङ मार्केट्स एण्ड डेभलपिङ इकोनोमी–ब्रिजिङ ग्याप्स’, ‘फाइनान्सियल इन्क्लुजन, रिजनल इन्टिग्रेसन एण्ड क्रस बोर्डर पेमेन्ट्स’ लगायतका अन्तरक्रिया तथा ‘एआई एण्ड सेफ्टी’ विषयक बीआईएस इन्नोभेसन हब सेमिनारमा सहभागी भए। त्यहाँ केन्द्रीय बैंकमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, त्यसले निम्त्याउन सक्ने चुनौती र आवश्यक नीतिगत तयारीमाथि गम्भीर छलफल भयो।

गभर्नर पौडेलले बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्स, बैंकिङ विभाग प्रमुख लुइस बेडिङ्गोसाका साथै अन्य वरिष्ठ अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटघाट गरे। सो क्रममा विदेशी विनिमय सञ्चिति व्यवस्थापन, सुन खरिद, लगानी विविधीकरण तथा नयाँ उपकरणहरूमा लगानी विस्तार गर्ने विषयमा छलफल भएको थियो।

यसैबीच गभर्नर पौडेलले भारतीय रिजर्व बैंकका गभर्नर सञ्जय मल्होत्रा र चाइना पिपुल्स बैंकका गभर्नर पान गोङशेङसँग पनि भेटवार्ता गरे। यी भेटहरूमा द्विपक्षीय सहकार्य, भुक्तानी प्रणाली सुदृढीकरण र जनशक्ति विकासका विषयमा सहमति प्रकट गरिएको थियो। गभर्नरसँग बैंक नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नर कार्यालयका निर्देशक शरणकुमार अधिकारीको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्