Logo

बैंकरहरुलाई गभर्नर अधिकारीको निर्देशन : उद्यम व्यवसायको प्रवर्द्धनका निम्ति सहजीकरण गर्नुहोस्

बैंकरहरुलाई गभर्नर अधिकारीको निर्देशन : उद्यम व्यवसायको प्रवर्द्धनका निम्ति सहजीकरण गर्नुहोस्



काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अप्ठ्यारोमा परेका उद्यम व्यवसायको प्रवर्द्धनका निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् ।

laxmi

बुधबार क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थासम्बद्ध बैंकर्स संघका वित्तीय अध्यक्ष प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो निर्देशन दिएका हुन् । उनले असल मनशायले व्यवसाय सञ्चालन गर्दागर्दै पनि अर्थतन्त्रको प्रतिकूल अवस्था र परिस्थितिजन्य कारणले कसैलाई अप्ठ्यारो परेमा त्यस्ता व्यवसायीलाई सहजीकरण गरिदिन निर्देन दिएका हुन् । उनले भने, ‘व्यवसाय सहज रूपमा सञ्चालन हुने आवश्यक वातावरण बनाऔं । त्यसको निम्ति आवश्यक नीतिगत समन्वय र अभिभावकत्व ग्रहण गर्न राष्ट्र बैंक सधैं तयार छ ।’

वित्तीय स्थायित्वमा असर पार्नेगरी वित्तीय क्षेत्रविरुद्ध हुने अवाञ्छित गतिविधिप्रति कुनै किसिमको सम्झौता हुन नसक्ने गभर्नर अधिकारीले स्पष्ट पारे। त्यस्ता गतिविधि बैंकिङ कसुरजन्य कार्य भएको धारणा उनले राखे । ‘ऋण लिएपछि तिर्नैपर्छ । कसैले तिर्दिन भन्छन् र तिर्नुपर्दैन भनेर ऋणीलाई उकास्छन् भने त्यस्ता गतिविधिलाई बैंकिङ कसुरको दायरामा ल्याउनुपर्ने देखिन्छ।’ उनले भने ।

सो अवसरमा गभर्नर अधिकारीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको संयोजकत्वमा २०८० मङ्सिर ४ र ५ गते आयोजित मुलुकको अर्थतन्त्रको वर्तमान स्थिति र आगामी कार्यदिशासम्बन्धी अन्तरक्रियामा उठेका विषयवस्तुका बारेमा समेत जानकारी गराए ।

कार्यक्रममा डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू देवकुमार ढकाल, डा। गुणाकर भट्ट, रेवतीप्रसाद नेपाल र विश्रुत थापाले वित्तीय क्षेत्रका समसामयिक विषयबारे धारणा राखेका थिए ।

अन्तरक्रियामा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसी, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष नरेशसिंह बोहरा, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्त र नेपाल लघुवित्त बैंकर्स संघका कार्यवाहक अध्यक्ष रामबहादुर यादव र अन्य प्रतिनिधिको उपस्थिति थियो ।

उहाँहरूले पछिल्लो सावाँ ब्याज असुली तथा समय कर्जाको खराब कर्जाको व्यवस्थापन चुनौतीपूर्ण रहेको र बैंकिङ क्षेत्रमा कार्यरत जनशक्ति विदेशिने क्रम बढेको उल्लेख गर्दै त्यसको समाधानको निम्ति आवश्यक कदम चाल्नुपर्ने सुझाव दिए। साथै, कर्जा नोक्सानीसम्बन्धी विद्यमान व्यवस्थामा सहजीकरण गर्नुपर्ने आवश्यकतामा उहाँहरूले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL