काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेका सम्पत्ति विवरणले उनको सेयरप्रतिको गहिरो रुचि उजागर गरेको छ। उनको कुल सम्पत्तिमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम सेयरमा लगानी रहेको पाईएको हो ।
संस्थापक सेयरधनीको रूपमा पौडेल सातवटा कम्पनीमा आवद्ध छन्। ती कम्पनीहरूमा सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर, चितवन इनर्जी तथा अर्को एक पटक ग्लोबेको प्रालि दोहोरिएर उल्लेख गरिएको छ। यी कम्पनीहरूमा उनका नाममा कुल १४ करोड ५ लाख ६७ हजार रुपैयाँ बराबरको प्रवर्द्धक सेयर रहेको उनले सार्वजनिक गरेका छन्।
त्यस बाहेक, गभर्नर पौडेल र उनकी श्रीमती प्रतिभा शर्माको संयुक्त रूपमा विभिन्न बैंकमा २० लाख रुपैयाँभन्दा बढी रकम बचत रहेको छ। सानिमा बैंकमा रहेको डलर खातामा झण्डै ५ हजार ५ सय ३५ अमेरिकी डलर समेत रहेको उल्लेख गरिएको छ।
गभर्नर पौडेलको सम्पत्ति विवरणमा भौतिक सम्पत्ति पनि उल्लेखनीय छन्। उनका नाममा ४५ तोला सुन रहेको छ भने उनकी श्रीमतीको नाममा ललितपुर र नवलपरासीमा रहेका दुईवटा जग्गाको संयुक्त मूल्य २ करोड १५ लाख रुपैयाँ छ—ललितपुरको १ करोड ५५ लाख र नवलपरासीको ६० लाख रुपैयाँ।
सवारी साधनको रूपमा, प्रतिभा शर्माको नाममा ४४ लाख रुपैयाँ बराबरको सुजुकी कार रहेको उल्लेख गरिएको छ।


