Logo

राष्ट्र बैंकको कडाई पछि बैंकहरुले दिन छाडे कर्जा : सीडी अनुपात ९१.३० मा झर्यो, रोकिएन निक्षेप बाहिरिने क्रम

राष्ट्र बैंकको कडाई पछि बैंकहरुले दिन छाडे कर्जा : सीडी अनुपात ९१.३० मा झर्यो, रोकिएन निक्षेप बाहिरिने क्रम



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कडाई गरेसँगै कर्जा प्रबाह घट्न थालेको छ । बैंकहरुले सीमाभन्दा बढी कर्जा प्रबाह गरेसँगै राष्ट्र बैंकले कर्जा प्रबाह सम्बन्धी विस्तृत कार्ययोजनानै माग गरेको थियो ।

laxmi

राष्ट्र बैंकले निर्देशननै जारी गरेर कर्जा प्रबाह सम्बन्धी कार्ययोजना माग गरेसँगै बाणिज्य बैंकहरुले प्रबाह गर्ने कर्जामा गिरावट आएको छ । तरलता अभावकै अवस्थामा पनि केही हप्ता अघिसम्म साप्ताहिक रुपमा १० देखि १५ अर्ब रुपैयाँ कर्जा प्रबाह हुँदै आएकोमा अघिल्लो हप्तादेखि घटेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार अघिल्लो हप्ता १ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह भएको छ भने गत हप्ता ३ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको छ । यस अघि राष्ट्र बैंकले कर्जा प्रबाह सम्बन्धी विस्तृत कार्ययोजना बनाएर संचालक समितिबाट पारित गराएर पेश गर्न निर्देशन दिएको थियो ।

यसैगरी कर्जा प्रबाहमा कडाई गरेसँगै कर्जा निक्षेप अनुपात पनि घटेको छ । अघिल्लो हप्ता ९१.४९ प्रतिशत रहेको सीडी अनुपात गतहप्ता घटेर ९१.३० प्रतिशत झरेको छ । राष्ट्र बैंकको नियम अनुसार २०७९ असार मसान्तसम्ममा सीडी अनुपात ९० प्रतिशतमा झार्नुपर्ने छ । सो अबधिमा बाणिज्य बैंकहरुको कुल कर्जा प्रबाह बढेर ४० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै सो अबधिमा बैंकिङ प्रणालीबाट ४ अर्ब रुपैयाँ बाहिरिएको छ । बैंकहरुले निक्षेप संकलन गर्न नसकिरहेको अवस्थामा बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिने क्रम भने रोकिएको छ । अघिल्लो हप्ता बाणिज्य बैंकसँग कुल ४२ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत हप्तासम्म आईपुग्दा घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL