Logo

किसानहरुले गरे बल्खु तरकारी बजारमा अन्तरक्रिया, तरकारीको आपूर्ति नियमित

किसानहरुले गरे बल्खु तरकारी बजारमा अन्तरक्रिया, तरकारीको आपूर्ति नियमित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बल्खु कृषि तथा तरकारी बजारमा ढुवानीको समस्याका वावजूद पनि देशभरिबाट उत्पादित विभिन्न किसिमका तरकारीहरु सुलभरुपमा उपलब्ध भैरहेको छ । कृषि क्षेत्रमा क्रियाशील मुलुकभरका कृषि उद्यमीहरुको अवलोकन भ्रमण टोलीलाई बजारमा स्वागत गर्दै कार्यकारी निर्देशक रामकृष्ण कुँवरले यस बजारको स्थापना भएपछि किसानहरुलाई बजारको अभावसम्वन्धी गुनासो आउन छोडेको जानकारी दिए । ‘आत्मनिर्भर नहुँदा मुलुकले दुख पाइरहेको छ,’ उनले भने, ‘कृषि तथा पशुपालनमा तपाईहरु लाग्नुहोस, उत्पादन गर्नुहोस, हामी तपाईलाई सुपथ बजार उपलब्ध गराउन तयार छौं ।’

उनले निजीक्षेत्रबाट पनि बजार खुल्न थालेकोले अव किसानले उत्पादित बस्तुको मोल पाएनौं भनेर गुनासो गर्ने कुनै ठाउँ रहने बताए । बल्खु कृषि तथा तरकारी बजारमा तरकारी, फलफूल र कृषि उपजदेखि माछामासुको समेत उचित मोलमा विक्री वितरणको व्यवस्था मिलाइएको छ । स्टल राखेर वा त्यहाँका कृषि व्यापारीहरुलाई आफ्नो सामान विक्री गरेर प्रशस्त लाभ लिन सकिन्छ ।

कार्यकारी निर्देशक कुँवरले ढुवानीमा समस्या देखिएपनि अत्यावश्यक खाद्य बस्तु भएकोले तरकारीको आपूर्तिलाई हरतरहले सहज बनाइएको जानकारी दिए । आपूर्ति मात्र होइन, सकेसम्म मूल्यलाई समेत नियन्त्रण गरिएको र महंगोमा बिक्री हुने संभावना भएपनि उपभोक्ताहरुलाई मर्कामा नपार्न व्यापारीहरुसमक्ष आग्रह गरे । बजार भविष्यलाई पनि चाहिने भएकोले यो विषम परिस्थितिको फाइदा नउठाउन भनिएको छ ।

मानवीय दृष्टिले पनि दैनिक अत्यावश्यकीय खाद्य वस्तुहरुको ढुवानीमा समस्या नबनाउन पनि उहाँले आन्दोलनकारीहरुलाई आग्रह गरे ।
कृषि विकास मन्त्रालयले मुलुकभरबाट विभिन्न कृषि तथा पशुपालनका क्षेत्रमा उत्कृष्ठ ठहरिएका किसानहरुलाई विश्व खाद्य दिवसको उपलक्ष्यमा पुरस्कृत गर्ने भएको छ । सोही सिलसिलामा किसानहरु बजारको अवलोकनका लागि बल्खु तरकारी बजारमा आएका थिए । कृषि व्यवसाय तथा बजार विकास निर्देशनालयले आफनो कार्यालय परिसरमै मंगलबार विश्व खाद्य दिवसका अवसरमा पुरस्कार तथा सम्मान वितरण गर्दैछ ।

सहभागी किसानहरुले सामान्य अवस्थामा पनि ढुवानीको समस्या हुने गरेको र किसानहरुले उत्पादित बस्तुको उचित मोल पाउन नसकेको गुनासो गरेका थिए । बजारको विस्तारले आफूहरुलाई कृषि उत्पादन वृद्धितिर लाग्न प्रेरित गरेको जानकारी दिएका थिए । सो अवसरमा उनीहरुले कृषि उपजको मोल, ढुवानी, भण्डारण तथा प्याकेजिङका बारेमा बल्खुका कृषि व्यापारीहरुसँग अन्तक्रिया गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL