Logo

कोरोनाका कारण दुग्ध क्षेत्रमा २० अर्बको क्षति, किसानले विक्री भएको दूधको भुक्तानी पनि पाएनन्

कोरोनाका कारण दुग्ध क्षेत्रमा २० अर्बको क्षति, किसानले विक्री भएको दूधको भुक्तानी पनि पाएनन्



काठमाडौं । कोभिड–१९ को महामारीका कारण डेरी तथा उद्योग क्षेत्रको ६० प्रतिशत बजार गुमेको छ । दुग्ध व्यवसायीहरुका अनुसार कोरोना शुरु भएदेखि हालसम्म डेरी क्षेत्रमा मात्र २० अर्ब रुपैयाँ बराबरको नोक्सान भएको हो ।

एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले शनिवार आयोजना गरेको ‘कोभिड–१९ कारण दुग्ध क्षेत्रमा परेको समस्या र समाधानका उपायहरु’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सो क्षेत्रका सरोकारवालाहरुले धारणा राख्ने क्रममा त्यसको जानकारी प्राप्त भएको हो ।

नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले कोरोनाका कारण डेरी उद्योगका ६० प्रतिशत बजार समाप्त भएको र हालसम्म यो क्षेत्रले २० अर्बको नोक्सान बेहोरिसकेको बताए । कोरोनाका कारण अर्बौको नोक्सान भएपनि डेरी उद्योग जसोतसो सेवा दिइरहेको बताउँदै उनले किसानको पनि निकै नोक्सान भएको बताए ।

दैनिक ६२ लाख दुध उत्पादन हुँदै आएकोमा ३१ लाख दुध मात्रै बजारमा जानेको दाहालले बताए । त्यस्तै केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोरोना महामारीका कारण किसानको दुधमा ३० प्रतिशत ह्रास आएको बताए । देशभरि सहकारीमा ६ लाख लिटर दुध संकलन हुँदै आएकोमा अहिले ३० प्रतिशत कमी आएको उनले बताए । अहिले सबै समस्या किसानसँग ठोकिएको बताए ।

किसानले डेरी उद्योगीबाट चार महिनादेखि भुक्तानी नपाएको गुनासो गर्दै उहाँले एकातिर किसानको दुध विक्रि नभएको र अर्कोतिर विक्रि भएको दुधको भुक्तानी नपाइरहेको अवस्थामा किसान साह्रै पीडामा रहेको बताए । सरकारले किसानले प्रतिलिटरमा सुविधा दिने वाचा गरेको थियो तर हालसम्म त्यो नदिएको गुनासो उनले गरे ।

कोरोना महामारीका कारण डेरी क्षेत्रमा मात्र होइन, किसानलाई पनि निकै समस्या भएको धारणा राख्दै वाग्मती प्रदेशका भूमी, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले दुग्ध क्षेत्रको उद्योगीदेखि किसानसम्मको समस्या समाधान हुनुपर्ने बताए ।

किसानले उत्पादन गरेको दुधले बजार नपाएको बताउँदै मन्त्री लामाले त्यसको बारेमा सरकार तथा नीजि क्षेत्र मिलेर छलफल गरी समाधान गर्नुपर्ने बताए ।कोरोनाका कारण सबै क्षेत्रमा समस्या रहेको बताउँदै सबै भन्दा बढी समस्यामा किसान रहेको मन्त्री लामाले बताए । यसको समाधान दुग्ध क्षेत्रका उद्योगीहरुले पनि गर्नुपर्ने उनको भनाई थियो ।

उनले किसानहरु मार्कामा परेका र त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने तयारी गरिरहेको समेत आश्वासन दिए । डेरी तथा दुध क्षेत्रको समस्याको बारेमा आफूले संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रीसँग पनि छलफल गर्ने र समाधानका लागि प्रयास गर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL