Logo

कोरोनाका कारण भेटिएनन् दशैंमा घर जाने हवाईयात्रु, अन्यौलमा अग्रिम टिकट बुकिङ

कोरोनाका कारण भेटिएनन् दशैंमा घर जाने हवाईयात्रु, अन्यौलमा अग्रिम टिकट बुकिङ



काठमाडौं । कोरोना महामारी र यसले निम्त्याएको आर्थिक अन्यौलताका कारण हरेक क्षेत्रमा असर परेको छ । मानिसहरु ओहोरदोहोर गर्नेदेखि व्यवसायीक गितिविधिसमेत ठप्प हुँदा हवाई क्षेत्रमा पनि यसको ठुलो असर पर्याे । जसका कारण गत चैत ११ गतेदेखि बन्द आन्तरिक र अन्तरराष्ट्रिय नियमित उडान भर्खरै मात्रै संचालनमा आएको छ ।

laxmi

दशैं, तिहार र छठलगायतका ठुला चाडपर्वहरु नजिकिँदै जाँदा यसअघि आन्तरिक उडान भर्नेे एयरलाईन्स कम्पनीहरुले विक्री गर्ने दशैंको अग्रिम टिकट बुकिङमा पनि यो बर्ष अन्यौलता छाएको छ । कोरोना कहरबीच बन्द भएको नियमित आन्तरिक उडान असोज ५ गतेदेखि मात्रै संचालनमा आएको छ । त्यसयता प्रत्येक कम्पनीहरुले ८० देखि ९० प्रतिशतको अकुपेन्सीमा जहाज उडाईरहेका छन् । यस्तो बेला बुद्ध एयरलाईन्सले भने आफ्ना १३ ओटै उडान गन्तव्यमा आफ्ना उडान भरिरहेको छ । जसमार्फत कम्पनीले दैनिक यात्रुहरुलाई विभिन्न स्थानसम्म पुर्याउने काम गरिरहेको छ ।

हरेक बर्ष दशैंका लागि खोलिने अग्रिम टिकट बुकिङमा भने अन्यौलता नै छ । यसअघिका दशैंहरुमा १ महिनाअघि नै खोलिने जहाजको अग्रिम टिकट बुकिङलाई यो बर्ष दशैं आउन १ महिना बाँकी हुँदा त्यति चासोको रुपमा लिईएको छैन ।

यसपाली दशैंका लागि भन्दै अग्रिम टिकट लिन यात्रुहरुले चासो नदिएको बुद्ध एयरका प्रवक्ता रुपेश जोशी बताउँछन् । बुद्ध एयरले दशैंका लागि भन्दै टिकट नखोलेपनि अग्रिम रुपमा टिकट बुकिङ गर्न सकिने सुविधा दिँदै आएको छ । तर अग्रिम टिकट लिने यात्रुको संख्या गतबर्षहरको जस्तो नभएको उनले बताए । उनका अनुसार कोरोनाका कारण यात्रुहरु टिकट पाईहाल्छ नि भनेर ढुक्कसाथ बसेका छन् ।

‘घर जाने यात्रुहरु यसअघिनै विभिन्न साधनमार्फत गईसकेका छन्,’ उनले भने, ‘तर केही बाँकी यात्रुहरु भने जहाजको भाडा सस्तो हुने र टिकट पाईहालिन्छ भन्ने मनसायसाथ बसेका छन् ।’

यस्तै श्री एयरलाईन्सको अवस्था पनि त्यस्तै छ । हाल धनगढी र नेपालगंज गरी २ गन्तव्यमा मात्रै उडान भरिरहेको कम्पनीले पनि ८० देखि ८५ प्रतिशत अकुपेन्सीमा जहाज उडान गरिरहेको छ । तर हालसम्म अग्रिम टिकट बुकिङ भने नखुलेकाले पनि अग्रिम टिकट लिने यात्रु नआएको कम्पनी बताउँछ । कम्पनीका प्रवक्ता अनिल मानन्धरका अनुसार हालसम्म पनि यात्रुहरुले दशैंका लागि भन्दै अग्रिम टिकट बुक गरिसकेका छैनन । तर नेपालीको बानी नै उड्ने अघिल्लोदिन मात्रै टिकट लिने भएकाले यसपाली दशैंका लागि अग्रिम टिकट लिनेको संख्या न्युन हुने उनको भनाई छ ।

यता सडकमा गुड्ने सार्वजनिक यातायातको अवस्था पनि त्यस्तै छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुले हालसम्म कहिलेदेखि अग्रिम टिक बुकिङ खुल्ने भन्ने टुंगो लगाएका छैनन । असोज १ गतेदेखि चल्न थालेका लामो रुटका सार्वजनिक यातायातहरुले हाल मानिसहरु काठमाडौंबाट बाहिर र बाहिरबाट काठमाडौं ओसारीरहेका छन् । तर दशैंका लागि भन्दै अग्रिम टिकट अझै अन्यौलमै छ ।

यसपाली जानुपर्ने र आउनुपर्ने प्राय यात्रुले ओहोरदोहोर गरिसकेकाले दशैंमा धेरै चाप नहुने यातायात व्यवसायीको अनुमान छ । सोही कारण यसपाली अग्रिम टिकट बुकिङ नखुलाएपनि हुने अवस्था सिर्जना भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् । यो पटक कोरोनाको कहरका कारण अग्रिम टिकट बुकिङ खोल्दा र नखोल्दा उस्तै उस्तै हुन आउने हुनाले पनि व्यवसायी त्यती नतातेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL