Logo

पर्यटन क्षेत्रमा पलाउँदै आशाको किरण, हिमाल आरोहणका लागि नेपाल आईपुगे बहराइनका राजकुमार

पर्यटन क्षेत्रमा पलाउँदै आशाको किरण, हिमाल आरोहणका लागि नेपाल आईपुगे बहराइनका राजकुमार



काठमाडौं । हिमाल आरोहणका लागि बहराइनइनका राजकुमार नासिर बिन हामिद अल खलीफा नेपाल आइपुगेका छन् । खुम्बु क्षेत्रको लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्ने उद्देश्यका साथ राजकुमार खलीफासहित १८ जनाको टोली आज काठमाडौँ आइपुगेका हुन् ।

उक्त टोली शेख इशा एयरवेजबाट विशेष विमानमार्फत नेपाल आएको हो । सो विमान आज बिहान ११ः०० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । टोलीमा बहराइन रोयल गार्डमा कार्यरत १५ बहराइनी र तीन बेलायती रहेको बताइएको छ ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइन अधिराज्यबाट राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उद्देश्यसहित गए राति नेपाल प्रस्थान गरेको थियो । उक्त टोलीलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाललगायतले प्रस्थानपूर्व पर्वतारोहणमा सफलताको शुभकामना दिएका थिए । सो क्रममा राजदूत सुन्दासले नेपाल र बहराइनबीच रहँदै आएको मित्रवत् सम्बन्धमा आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गरे ।

मन्त्रिपरिषद्को यही भदौ १४ गतेको बैठकले बहराइनी राजकुमारसहितको टोलीलाई नेपालको हिमाल आरोहणका लागि अनुमति दिएको थियो । करिब दुई महिना समयावधिको कार्यक्रमसहित नेपाल आएको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीका रुपमा लिँदै सन् २०२१ मा सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको दूतावासले जानकारी दिएको छ ।

क्वारेन्टिनपछि आरोहण अनुमति

हिमाल आरोहणका लागि आएको सो टोलीले पर्यटन विभागबाट आरोहण अनुमति लिनुपर्ने हुन्छ । विभागका निर्देशक मीरा आचार्यका अनुसार आरोहणका लागि नेपाल आएको राजकुमारसहितको टोलीले हवाई उड्डयन मापदण्डअनुरुप क्वारेन्टिनमा बस्ने र पिसिआर परीक्षण नेगेटिभ आएपछि मात्रै विभागबाट आरोहण अनुमति पाउनेछ ।

सरकारले शरद् ऋतुको हिमाल आरोहण खुला गरेको छ । अहिले एक नेपाली आरोही टोलीले खुम्बु क्षेत्रमा पर्ने ७ हजार १२९ मिटर उचाइको बरुन्से हिमाल आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ । विभागका निर्देशक आचार्यले अहिलेसम्म एक मात्र टोलीले हिमाल आरोहण अनुमति लिएको छ । बहराइनका राजकुमारसहितको आरोहण टोलीले अनुमति लिँदा दोस्रो टोली हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL