Logo

दैनिक करोडौ राजश्व गुमाउँदै त्रिभुवन विमानस्थल, २२ दिनमा ४४ करोड रुपैयाँ राजस्व गुम्यो

दैनिक करोडौ राजश्व गुमाउँदै त्रिभुवन विमानस्थल, २२ दिनमा ४४ करोड रुपैयाँ राजस्व गुम्यो


राङडोल लामा
1.6k
Shares

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा व्यापक भएको कोभिड–१९ (कोरोना) भाईरसका कारण नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्ने संकेत देखा परेको छ । विशेष गरि पछिल्लो समय धेरै राष्ट्रहरुले हवाई सेवा ठप्प पारेपछि नेपाली पर्यटन तथा उडड्यनको क्षेत्रमा गम्भीर असर देखिन थालेको छ ।

अन्तराष्ट्रिय उडान ठप्प हुँदा नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलको रुपमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको दैनिक राजस्व संकलनमा २ करोड रुपैयाँले कमी आएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार करिब २०÷२२ दिनको राजस्व दैनिक २ करोड रुपैयाँले घटेको हो । फागुन महिनामा मात्रै करिब ४४ करोड रुपैयाँ राजस्व घटेको क्षेत्रीले बताए ।

कोरोना भाईरसको असर पर्यटक आगमनमा कमी आएपछि राजस्व संकलनमा समेत प्रभाव परेको हो । हाल दैनिक ५० प्रतिशत यात्रु घटेको प्राधिकरणले जानकारी दिएको हो । प्राधिकरणका अनुसार आन्तरिक टर्मिनलमा समेत ३० प्रतिशत यात्रु घटेका छन् । नेपाली एयरलाइन्स कम्पनीहरुले आन्तरिक उडानमा दैनिक २ हजार यात्रु घटेको जानकारी दिएका छन् । भाइरसका त्रासका कारण अन्तरराष्ट्रिय यात्रुसँगै आन्तरिक यात्रा गर्ने यात्रुसमेत घट्दा व्यवसायमा असर देखिएको एयरलाइन्स कम्पनीहरु बताउँछन ।

आन्तरिक उडानमा पहलिो नम्बरमा रहेको बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले हाल आन्तरिक उडानमा दैनिक करीब २ हजार यात्रु कमी आएको बताए । उनले भने, ‘समग्रमा दैनिक १० हजार जना यात्रु आन्तरिकतर्फ हुनेमा अहिले ८ हजार पुग्न पनि मुस्किल भईरहेको छ ।’ यात्रुको संख्यामा कमी आएपछि कम्पनीहरुले अहिले काठमाडौं पोखरा २२ सय रुपैयाँमा मात्र टिकट बिक्री गरिरहेको जोशीले जानकारी दिए । २२ सय रुपैयाँमा टिकट बिक्री गरे पनि भाईरसको त्रासका कारण पर्याप्त मात्रामा यात्रु नभएको उनले बताए ।

यात्रु नपाए पनि तत्कालका लागि कुनै उडान भने स्थगित नगर्ने र बिस्तारै अवस्थाको विश्लेषण गरिरहेको पनि जोशीले जानकारी दिए । अध्यागमन विभागले शुक्रबार रातिदेखि नै लागु हुनेगरी नेपाल प्रवेशमा अनअराइभल भिसामा प्रतिबन्ध लगाएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न मुलुकबाट नेपाल आगमनमा रोक लगाएको हो । अनअराइभल भिसामा प्रतिबन्धसँगै विश्वव्यापी रुपमै धेरै देशले हवाई उडान स्थगित गरेका कारण हवाई मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटक ठप्प भएका छन् ।

सरकारले विदेशी पर्यटकलाई दिने अनअराइभल भिसा रद्द गरेसँगै त्यसको प्रत्यक्ष मारमा अन्तरराष्ट्रिय उड्डयन क्षेत्रमा परेको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खडकाले जानकारी दिइन । निगमले कोरोना भाईरसकै असरका कारण भारतको दिल्ली, बैंगलोर, मुम्बई, कतार, बैंकक, हङकङलगायतको उडान स्थगित गरिसकेको छ ।

अन्य मुलुकबाट यात्रुसंख्या घटेर उडाननै स्थगित गरेको निगमले जापानको नारिता विमानस्थलबाट हुने उडान भने स्थगित गरेको छैन । हाल त्यहाँबाट आउने यात्रुको संख्या प्रति उडान २ सय भन्दा माथि भएकाले तत्काल उडान नरोक्ने निगमले जानकारी दिएको छ । त्यस्तै हिमालय एयरलाईन्सले चीन र कतारबाहेककका अन्य कुनै पनि उडान स्थगित गरेको छैन ।

बिहीबार विश्व स्वास्थ्य संगठनले हालै विश्वभर फैलिएको कोरोना भाईरसलाई महामारीको संज्ञा दिएपछि सरकारले अनअराइभल भिसामा रोक लगाएको थियो । यस्तो रोकसँगै नेपालमा पर्यटक आगमन ठप्प भएको छ भने आन्तरिक पर्यटकसमेत यात्रामा निस्कन डराएका छन् । जसको प्रत्यक्ष असर पर्यटन व्यवसायमा परेको छ । हेलिकोप्टर ब्यवसायीहरुको छाता संगठन वायुसेवा संचालक संघले भने शुक्रबारदेखिनै ५० प्रतिशत मात्रै हेलिकोप्टर उडान भएको र बाँकी हेलिकोप्टरहरु ग्राउण्डेड भएको बताएको छ । पछिल्लो समयमा होटल ब्यवसायीहरुले केही कर्मचारीहरुलाई बेतलबी विदामा राख्ने हल्ला बजारमा आएपनि हवाई उड्डयन क्षेत्रमा भने तत्काल कर्मचारी कटौती नहुने एयरलाइन्स कम्पनीहरुले जानकारी दिएका छन ।

हेलिकोप्टर ब्यवसायीहरुको छाता संगठन वायुसेवा संचालक संघले भने शुक्रबारदेखिनै ५० प्रतिशत मात्रै हेलिकोप्टर उडान भएको र बाँकी हेलिकोप्टरहरु ग्राउण्डेड भएको बताएको छ । पछिल्लो समयमा होटल ब्यवसायीहरुले केही कर्मचारीहरुलाई बेतलबी विदामा राख्ने हल्ला बजारमा आएपनि हवाई उड्डयन क्षेत्रमा भने तत्काल कर्मचारी कटौती नहुने एयरलाइन्स कम्पनीहरुले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्