Logo

पर्यटन बर्ष नारा र प्रचारमै, पर्यटक सडकबाटै गाडी चढ्न बाध्य

पर्यटन बर्ष नारा र प्रचारमै, पर्यटक सडकबाटै गाडी चढ्न बाध्य



काठमाडौं । सरकारले भ्रमण वर्ष–२०२० मनाउन शुरु गरे पनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारीसाधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा अस्थायीरुपमा सोह्रखुट्टेको सडकबाट सवारीसाधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जान बाध्य छन् ।

laxmi

काठमाडौँदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सञ्चालन हुँदै आएका छन् । विगत वर्षहरुमा जमलस्थित कान्तिपथ सडकबाट पर्यटक ओसार्ने गरे पनि गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय सम्हालेपछि शुरु गरेको गृह प्रशासन सुधार योजनाअनुरुप गत वर्षको असार १६ गते सोह्रखुट्टे सडकमा अस्थायी बसपार्कका रुपमा व्यवस्था गरेको थियो ।

काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो । सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् ।

टुरिस्ट बस एसोसिएशन अफ नेपाल (टिवान)का अध्यक्ष प्रल्हाद लोहनी सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन राज्यले पर्यटकीय बसपार्कमा पहिलो प्राथमिकता दिनुपर्ने बताउँछन । ‘सरकार सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने भन्छ तर पर्यटकीय सवारीसाधन सडकबाट गुड्नुपर्ने बाध्यता छ,’ उनले भने ।

विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको उनको भनाइ छ । कान्तिपथ सडकबाट बसपार्क हटाएर सोह्रखुट्टे लगे पनि सरकारले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष लोहनी बताउँछन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि २०७५ चैत २१ देखि तीनमहिने कार्ययोजना बनाएर काम गरेको थियो । उक्त कार्ययोजनामा जेब्राक्रसिङ निर्माण, फुटपाथ व्यवस्थापन, करिडोर निर्माण, सडक विस्तारलगायत रहेका थिए । ट्राफिक प्रहरीको योजनामा समेत पर्यटकीय सवारीसाधनका लागि छुट्टै बसपार्क बनाउने कुरा उल्लेख नगर्दा सडकबाट सवारीसाधन गुड्न बाध्य छन् ।

टिवानका महासचिव कृष्ण आचार्य पर्यटक बसपार्क निर्माणका लागि टिवानले पटक–पटक सम्बन्धित निकायमा छलफल चलाइरहेको बताए । ‘सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा बसपार्क बन्न सकेको छैन,’ उनले भने, पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता भएको उनको भनाई छ ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे नेपालको पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय बसका लागि छुट्टै बसपार्क आवश्यक रहेको बताउँछन । ‘पर्यटक बसपार्क निर्माण गर्ने कुरामा सरकार सकारात्मक छ,’ उनी भन्छन ।

हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि झण्डै १ सय पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक ३ हजारदेखि ४ हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टे पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL