Logo

गण्डकी प्रदेशमा भित्रिए ३ लाख पर्यटक, भारतीय पर्यटक मात्रै सवा लाख

गण्डकी प्रदेशमा भित्रिए ३ लाख पर्यटक, भारतीय पर्यटक मात्रै सवा लाख



काठमाडौं । गण्डकी प्रदेशमा मात्रै एक बर्षको अवधिमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक भित्रिएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण संकलन गरेर उक्त तथ्य बाहिर ल्याएको हो ।

laxmi

यसअघि पोखरामा कति पर्यटक आउँछन भन्ने आधिकारीक तथ्याङ्क कहीँ कतै थिएन । नेपाल आएका झण्डै ४० प्रतिशत पर्यटक पोखरा आउँछन भन्ने पर्यटनसम्बद्ध व्यक्ति एवं संस्थाहरुले अनुमान लगाउँदै आएका थिए । प्रदेश सरकार गठनसँगै अघिल्लो आव २०७४/७५ बाट तथ्याङ्क सङ्कलनको प्रक्रिया थालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत शिव परियारले जानकारी दिएका छन ।

तथ्याङ्कअनुसार पोखरामा सबैभन्दा धेरै कात्तिक महिनामा ३८ हजार ५ सय ७५ पर्यटक आएका छन । सबैभन्दा कम असार महिनामा १२ हजार ६ सय २ पर्यटक आएको प्रदेश सरकारको तथ्याङ्कमा उल्लेख छ ।

गण्डकी प्रदेशमा आउने पर्यटकमध्ये सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट आएका छन । गत साउनदेखि असारसम्मको तथ्याङकअनुसार हवाईमार्ग र स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकको संख्या १ लाख २० हजार ९ सय ३८ रहेको सुचना अधिकृत परियारले जानकारी दिए । त्यसैगरी १ लाख ७८ हजार ३७ पर्यटक अन्य मुलुकबाट आएको तथ्याङ्क रहेको छ ।

स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ्क तनहुँको आँबुखैरेनीस्थित पृथ्वी राजमार्गको आँबुखैरेनी प्रहरी चेक पोस्ट र स्याङ्जाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा रहेका प्रहरीले राख्दै आएका छन । हवाईमार्गबाट आउने पर्यटकको पोखरा विमानस्थलबाट तथ्याङ्क संकलन गरिएको हो । गण्डकी प्रदेशको नवलपुरमा आउने पर्यटकको तथ्याङ्क भने यस तथ्याङ्कमा समेटिएको छैन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL