काठमाडौं । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले छात्राहरूका लागि सत प्रतिशत छात्रवृत्तिको घोषणा गरेको छ ।
नेपालको पर्यटन उद्योगको विस्तार गर्ने उद्देश्यले विगत एक दशकदेखि होटल व्यवस्थापन शिक्षा अध्यापन गराउँदै आइरहेको उक्त कलेजले नेपालको पर्यटन उद्योगमा देखिएका महिलाहरूको कमजोर सहभागितालाई बढाउन सो घोषणा गरेको हो ।
‘नेपालको पर्यटन उद्योगको विस्तार व्यापक रूपमा हुँदै गइरहेको छ, तर यहाँ सीपयुक्त दक्ष जनशक्तिको अभाव खड्किँदै गएको छ,’ गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईले भने ।
यस क्षेत्रमा दक्ष र सीपयुक्त जनशक्ति आपूर्तिका लागि एकमात्र माध्यम भनेको पर्यटन र होटल व्यवस्थापनको शिक्षा नै हो, जुन अति नै खर्चिलो छ । यस्तो शिक्षा अध्ययनका लागि न्यून आय भएका विद्यार्थीलाई सघाउने माध्यम भनेकै छात्रवृत्ति भएको लकाईले जानकारी दिए ।
देशको पर्यटन क्षेत्रका लागि चाहिने अतिरिक्त जनशक्ति उत्पादनमा सहयोग पुर्याउन न्यून आय भएका र मिहेनेती तथा जेहेनदार छात्राहरूका लागि सत प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णय भएको कलेजले जानकारी दिएको छ ।
‘नेपालको पर्यटन उद्योगमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्न आवश्यक छ नै, पर्यटन उद्योगको उच्च पदमा महिला जनशक्तिको अभाव पूर्तिका लागि पनि हामीले छात्राहरूलाई आवश्यकता र मेरिटको आधारमा सत प्रतिशतसम्म छात्रवृत्ति दिने निर्णय गरेका हौं,’ लकाईंले भने ।