काठमाडौं । पछिल्ला दिनमा लगातार वर्षा भएसँगै नेपालको बिजुली निर्यात बढेको छ । नेपालले हाल करिव साढे ८ सय मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार नेपालले हरेक दिन २० हजार ५ सय बढी मेगावाट आवर बिजुली भारत निर्यात गर्दै आईरहेको छ ।
नेपालका धेरैजसो जलविद्युत आयोजनाहरु रन अफ रिभर (आरओआर) अर्थात नदी प्रवाहमा आधारित भएकाले सुक्खायाममा नेपालमै बिजुलीको अभाव हुन्छ । तर, मनसुन सक्रिय भई वर्षा भएपछि भने नेपालको नदीमा जलसतह बढेसँगै बिजुली उत्पादन पनि उकालो लाग्ने गरेको छ । सोहीअनुसार यसपल्ट पनि बिद्युत उत्पादन उल्लेख्य भई नेपालमा खपत नभएको करिव साढे ८ सय मेवागाट बिजुली भारत निर्यात गरिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।
‘पछिल्ला करिव २ हप्तादेखि बढेको वर्षाले हामीलाई राहत भएको छ,’ उनले भने, ‘हामीले त्यसयता मात्रै ५ देखि ८ मेगावाटसम्म बिजुली निर्यात गर्दै आएका छौं ।’ हाल प्रणालीमा विद्युतको उच्च माग २ हजार ९ सय २५ मेगावाट छ । यता राष्ट्रिय माग भने २ हजार १ सय ११ मेगावाट छ । यद्यपी यस अवधिमा नेपालमा प्राधिकरणका सहायक आयोजनाहरुबाट १३ हजार ५ सय १२ मेगावाट आवर बिजुली उत्पादन भईरहँदा स्वतन्त्र उर्जा उत्पादकहरुले ४४ हजार ५ सय ५३ मेगावाट आवर बिजुली उत्पादन गरिरहेका छन् ।
यसै अवधिमा प्राधिकरणकै आयोजनाहरुबाट ८ हजार मेवागाट आवर बढी बिजुली उत्पादन भइरहेको प्राधिकरणले जानकारी दिएको छ । यसरी उत्पादन भएको बिजुलीमध्ये नेपालमा २ हजार १ सय मेगावाट बढी बिजुली खपत भईरहेको छ । त्यसमध्ये बाँकी रहेको ८ हजार ५ सय युनीट बढी बिजुली भारत निर्यात भईरहेको प्राधिकरणका प्रवक्ता ढकालले बताए ।
एक वर्षमा झण्डै साढे १७ अर्बको बिजुली निर्यात
गत आर्थिक वर्ष २०८१÷८२ मा भने नेपालले भारत र बङ्गलादेशमा गरी १७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारतमा मात्र करिब १७ अर्ब १९ करोड रुपैयाँको विद्युत् बिक्री गरिएको छ ।
भारतपछि बङ्गलादेशमा पनि २६ करोड ६७ लाख रुपैयाँ बराबरको बिजुली निर्यात भएको प्राधिकरणको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षमा भारतमा १६ अर्ब ९३ करोड रुपैयाँको मात्र बिजुली बिक्री भएकोमा यो वर्ष उल्लेखनीय वृद्धि भएको ऊर्जा मन्त्रालयले जनाएको छ । प्राधिकरणका अनुसार हाल भारततर्फ नेपालबाट ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन र भारत–बङ्गलादेश सीमास्थित बेहरामपुर–भेडामारा लाइनमार्फत बङ्गलादेशसम्म बिजुली निर्यात भइरहेको छ ।