काठमाडौं । भारतका प्रमुख विपक्षी नेता राहुल गान्धी पक्राउ परेका छन् । दिल्ली प्रहरीले गान्धीसहित अन्य विपक्षी नेताहरुलाई पनि नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा उनकी बहिनी तथा कांग्रेस नेतृ प्रियङ्का गान्धी वाड्रासमेत छिन्।
भारतीय सञ्चार माध्यमका अनुसार निर्वाचनमा भोट चोरी गरेर भारतीय जनता पार्टी (भाजपा) लाई जिताएको आरोप लगाउँदै विपक्षी दलहरुले प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा तृणमूल कांग्रेसकी सांसद महुवा मोइत्रा बेहोस भएकी थिइन्।
विपक्षीको आन्दोलनलाई मध्यनजर गर्दै प्रहरीले उच्च सुरक्षा व्यवस्था अपनाएको थियो। तर, समाजवादी पार्टीका नेता अखिलेश यादवसहितका केही नेताहरुले सडकमा राखिएको छेकबार नाघेर अगाडि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ।
यसअघि राहुल गान्धीले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउँदै भोट चोरीमार्फत भाजपाले चुनाव जितेको दाबी गरेका थिए, जसपछि विपक्षी दलका नेताहरु सडक आन्दोलनमा उत्रिएका हुन्।