काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर दुई दर्जनभन्दा बढी होटेलमा ठूलो क्षति पुगेको होटेल संघ नेपालले जनाएको छ।
संघका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायतका क्षेत्रमा रहेका स्वदेशी र विदेशी ब्रान्डका प्रतिष्ठित होटेल तोडफोड, आगजनी र लुटपाटको चपेटामा परेका छन्।
काठमाडौंस्थित हिल्टन होटेलमा मात्र आठ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको संघले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार देशैभर करिब २५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।
संघका अनुसार क्षतिग्रस्त होटेल मर्मत–सम्भार र पुनर्निर्माण नगरी सञ्चालनमा आउन सक्ने अवस्थामा छैनन्। यसबाट दुई हजारभन्दा बढी कामदार र कर्मचारीको रोजगारी प्रत्यक्ष प्रभावित भएको छ।
“हाल सञ्चालन अवरुद्ध भएका यी होटेलहरूले बैंक तथा वित्तीय संस्थालगायतका आर्थिक दायित्व नियमित रूपमा बुझाउन असमर्थ हुने देखिएको छ,” संघले विज्ञप्तिमा भनेको छ।
संघले सार्वजनिक लिमिटेड कम्पनीसहित निजी क्षेत्रमा भएको ठूला लगानी र सम्पत्तिमा परेको क्षतिप्रति चिन्ता व्यक्त गर्दै तत्काल अधिकारप्राप्त शक्तिशाली न्यायिक समितिबाट सत्यतथ्य जाँचबुझ गर्न माग गरेको छ।
त्यस्तै, क्षतिको उचित क्षतिपूर्ति, अपराधीमाथि कारबाही र मर्मत–पुनर्निर्माणका लागि राज्यबाट विशेष आर्थिक प्याकेज उपलब्ध गराउनुपर्ने संघको आग्रह छ।
“लगानीकर्ताको मनोबल कायम राख्दै पर्यटन विकासलाई नयाँ युगतर्फ अघि बढाउन राज्यले आवश्यक कदम चाल्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ।