Logo

‘पर्वतीय उडान’मा भारतीयको आर्कषण, आन्तरिक हवाई पर्यटनमा उत्साह

‘पर्वतीय उडान’मा भारतीयको आर्कषण, आन्तरिक हवाई पर्यटनमा उत्साह



काठमाडौं । नेपाली आकाशबाटै मानसरोवरस्थित कैलाश पर्वतको दर्शन गर्न पाइने भएपछि यतिबेला नेपालगञ्जबाट हुने ‘माउण्टेन फ्लाइट’ (पर्वतीय उडान)मा नेपालीसँगै भारतीय यात्रुको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ ।

laxmi

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको पवित्र तीर्थस्थल कैलाश पर्वतलाई महादेवको बासस्थान मानिन्छ । सडकमार्ग भइ त्यहाँ पुग्न ठूलो खर्च र धेरै समय लाग्छ । त्यसमाथि चीन सरकारको अनुमति पनि आवश्यक पर्छ । पर्याप्त समय र खर्च गर्न नसक्ने तथा शारीरिक रुपमा कमजोरका लागि पर्वतीय उडानमार्फत मानसरोवरको दर्शन गराउने उद्देश्यले श्री एयरलाइन्सबाट गत माघ दोस्रो सातादेखि सेवा सुरु गरिएको थियो ।

सिद्धार्थ हस्पिटालिटी ग्रुपद्वारा सञ्चालित टुर एण्ड ट्राभल्स पथिल होलिडेजको परिकल्पनामा भारतको तीर्थयात्रासम्बन्धी कम्पनी ट्रिप टु टेम्पल्ससँगको सहकार्यमा पर्वतीय उडान गराउँदै आइएको सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए । यस पर्वतीय उडानमा खास गरी दक्षिण भारतको चेन्नइ, बैङ्लोर, कलकत्ता, दिल्ली आसपासबाट आउने भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रहेको उनको भनाइ छ ।

हाल श्री एयरलाइन्सको विमानबाट प्रत्येक सोमबार र हिन्दु धर्मसँग सम्बन्धित महत्वपूर्ण पर्वमा पर्वतीय उडान भइरेको छ । ‘यस उडानमा अधिकांश भारतीय पर्यटक हुने गरेका छन्, आन्तरिक पर्यटकको सङ्ख्या पनि राम्रो छ’, होलिडेजका सुपरभाइजर पेशल दाहालले भने । ‘भारतीय पर्यटकलाई भारतको लखनउबाट ल्याएर एक दिन घुमाएर लखनउमै पुर्याउने गरिएको छ’, दाहालले भने ।

नेपालगञ्ज–कैलाश मानसरोवर यात्राका लागि भारतीय पर्यटकलाई ‘विन्डो सिट’का लागि भारु ४० हजार र सामान्य सिटका लागि भारु २१ हजार शुल्क निर्धारण गरिएको छ । भारु ४० हजार शुल्क तिर्ने पर्यटकलाई एक रात आवास तथा खानाको समेत प्रवन्ध गरिएको छ । नेपालीहरुको हकमा भने ‘विन्डो सिट’का लागि रु २८ हजार र साधारण सिटका लागि रु १० हजार शुल्क निर्धारण गरिएको कम्पनीको भनाइ छ ।

पर्यटन व्यवसायी केशव न्यौपानेले भारतीय पर्यटकसहितको पर्वतीय उडानले नेपालगञ्जको खस्कँदो पर्यटन व्यवसायलाई उकास्न सहयोग गरेको बताए । उनले कैलाश मानसरोवर जाँदा त्यहाँको आर्कषक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको उल्लेख गर्दै यसबाट अन्य क्षेत्र पनि चलायमान हुने बताए ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले उडानको सफलतासँगै आर्थिकरूपमा नेपालगञ्जको भविष्य समेत जोडिएकाले यसलाई सबैले आत्मसात गर्न आवश्यक भएको धारणा व्यक्त गरे ।

रामनवमीमा पाँच उडान

आगामी वैशाख ५ गते परेको रामनवमीका दिन पाँच वटा पर्वतीय उडान हुने भएको छ । टुर एण्ड ट्राभल्स पथिल होलिडेज प्रालिले श्री एअरलाइन्सको विमानबाट उक्त उडानको तयारी भइरहेको जनाएको छ ।

‘हामीले पाँचवटा उडानका लागि अग्रीम बुकिङ खुला गरिसकेका छौँ’, सुपरभाइजर दाहालले भने । खास गरी रामनवमी जस्ता विभिन्न पर्वमा यस्ता उडान बढी हुने गरेको उनको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL