Logo

जुम्लाको हवाई सेवाको टिकट व्यवस्थित गरिँदै, अब कोटा प्रणालीबाट टिकट

जुम्लाको हवाई सेवाको टिकट व्यवस्थित गरिँदै, अब कोटा प्रणालीबाट टिकट



काठमाडौं । हिमाली जिल्ला जुम्लामा हवाई सेवाका लागि टिकट व्यवस्थित गरिने भएको छ । स्थानीय प्रशासनको आयोजनामा जनप्रतिनिधि, एयरलाइन्सका प्रतिनिधि, नागरिक समाज, मानव अधिकार आयोग र पत्रकार सहभागी बैठकमा विमानस्थलमा हरेक वायुसेवा कम्पनीले यात्रुको नाम लेखेर पारदर्शिता गराउनुपर्ने र भोलिपल्टको उडानको टिकट अघिल्लै दिन वितरण गर्नुपर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सन्तोष अधिकारीले जानकारी दिए ।
वायुसेवा कम्पनीले दश सिट बिरामी, अशक्त, सुरक्षाकर्मी र अन्य आकस्मिक काम परेका व्यक्तिका लागि सिट सुरक्षित गर्ने भएको छ । सीता एयरलाइन्सको हकमा भने सात सिट सर्वसाधारणका लागि एक दिन अगावै वितरण हुने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउनुभयो । सर्वसाधारण नागरिक र आन्तरिक पर्यटकका लागिसमेत टिकट पाउन अब सहज हुने विश्वास गरिएको प्रजिअ घिमिरेको भनाइ थियो ।

laxmi

नागरिक समाजका अध्यक्ष राजबहादुर महतले कुनै पनि हालतमा विमानस्थलको द्वारबाहिर कार्यालय खोल्नुपर्ने र टिकट वितरणमा पारदर्शिता हुनुपर्ने बताउनुभयो । हवाई उडान क्षेत्रको टिकट सर्वसाधारणको पहुँचसम्म पुग्नुपर्ने आवश्यकताको विषय हो । पहिलो चरणमा जुम्लामा हुने उडानमा टिकट प्रणाली व्यवस्थापन गरी कार्यान्वयमा ल्याउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको भनाइ थियो ।

लामो समयदेखि जहाजको टिकट वितरण सहज नहुँदा यहाँका नागरिकले सास्ती खेपिरहेको स्थानीय पत्रकार पूर्णप्रसाद चौलागाईले बताउनुभयो । नेपालगञ्जदेखि जुम्लासम्म हप्ताको एकपटक नेपाल वायुसेवाको एयरलाइन्स र नियमित रुपमा समिट एयरले उडान गर्दै आएका छन् । सीता र तारा एयरले समेत जुम्लाका लागि उडान भर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL