Logo

सरकार नझुकेपछि वायुसेवा कम्पनीको हडताल स्थगित, आन्तरिक उडान नियमित हुने

सरकार नझुकेपछि वायुसेवा कम्पनीको हडताल स्थगित, आन्तरिक उडान नियमित हुने



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय फिर्ता नभए आज बुधबारदेखि देशभरका आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका आन्तरिक वायुसेवा कम्पनीहरुले हडताल स्थगित गरेका छन् । मंगलबार राति प्राधिकरणसँग भएको वार्तापछि वायु सेवा सञ्चालक संघले आन्तरिक उडान नियमित गर्न सहमति जनाएको हो । वार्ता आजपनि हुने संघले बताएको छ ।

एयरलाइन्सले हडतालको धम्की दिएपछि त्यसको जवाफमा प्राधिकरणले एयरलाइन्सको धाकधम्की स्वीकार्य नहुने स्पष्ट पारेको थियो । प्राधिकरणले मंगलबार पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान उडान चाप नियन्त्रणका साथै हवाई सुरक्षा सुदृढीकरणका लागि निर्णय लिन बाध्य भएको जनाउँदै उडान नरोक्न आग्रह गरेको थियो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ‘प्राधिकरणको निर्णयको बर्खिलामा एयरलाइन्स कम्पनी उत्रनु जिम्मेवारीबाट पछि हट्नु हो’ भन्दै नागरिकको सेवाप्रति जिम्मेवार बन्न आग्रह गरेका थिए । उनले भनेका थिए, ‘उडान बन्द गर्ने धम्की स्वीकार्य छैन, यो प्राधिकरणको कुनै रहरको विषय नभइ हवाई उडान सुरक्षा सुदृढिकरणका लागि बाध्यकारी निर्णय हो । हवाई सेवा जस्तो संवेदनशील विषयमा व्यवसायीहरू जिम्मेवार हुनुहुन्छ । हडताल गरेर जनतालाई समस्या आएमा प्राधिकरण चुप लागेर बस्दैन ।’

वायुसेवा सञ्चालक संघले मंगलबारै पत्रकार सम्मेलन गरेर प्राधिकरणको निर्णय फिर्ता नभए बुधबारदेखि आपत्कालीन र नियमित सबै हवाई उडान बन्द गर्ने चेतावनी दिएको थियो । लगत्तै प्राधिकरणले पत्रकार सम्मेलन गरी हवाई सेवाजस्तो संवेदनशील सेवामा नागरिकको सेवाप्रति जिम्मेवार रहन सचेत गराएको थियो । प्राधिकरणका महानिर्देशक अधिकारीले विमान कम्पनीहरूले जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा जानुपर्ने स्पष्ट पारे । उनले विमान र हेलिकोप्टर कम्पनीले ‘एओसी’ लिने समयमा जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा राख्नुपर्नेमा प्राधिकरण स्पष्ट रहेको बताए ।

त्रिअविका महाप्रबन्धक प्रेमनाथ ठाकुरले काठमाडौँ विमानस्थलमा अत्यधिक उडान चाप रहेकाले सोको व्यवस्थापन र हवाई सुरक्षालाई मध्यनजर गरी निर्णय लिइएको बताए । प्राधिकरण सञ्चालक समितिको बैठकले यही असार ५ गते निर्णय गर्दै हेलिकोप्टरको हकमा असार ८ गतेदेखि र विमानको हकमा असार १३ गतेदेखि अनुमति लिएका बेसमै जान निर्देशन दिएको थियो । जसअनुसार विमान कम्पनीले काठमाडौँ बाहेक अनुमति लिएका विमानस्थलमा रात्रि बिसान गर्नुपर्ने उल्लेख छ ।

प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रियतर्फ ११ वटा जहाज र आन्तरिकमा १७ वटा जहाज बिसान ‘पार्किङ’ क्षमता रहेको छ । तेत्तीस विमानको रात्रिकालीन बेस अनुरुप गर्नुपर्ने हुन्छ । तर, हाल आन्तरिकतर्फ ५१ वटा विमान पार्किङ भइरहेको छ । हाल आन्तरिकतर्फ ११ वटा हेलिकोप्टर कम्पनीका ३८ वटा हेलिकोप्टर तथा नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज रहेका छन् । साथै, हेलिकोप्टरको हकमा हाल पार्किङ भइरहेको स्थानमा एक महिनाभित्रै एशियाली विकास बैंकको ऋण सहयोगमा ह्याङगर निर्माण सुरु हुने भएकाले साइट क्लियर गर्न जरुरी रहेको प्राधिकरणको भनाइ छ । काठमाडौँ बाहिरका १० वटा विमानस्थलमा रात्रिकालीन बिसान गर्नेगरी व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । त्यसका लागि रु ५० करोड खर्च भएको र आवश्यक सुरक्षा तथा अन्य सेवा सुविधा उपलब्ध गराइएको जनाएको छ । वायुसेवा सञ्चालकसँग छलफल गरेर कमिटी गठन गरेर अहिलेको निर्णयमा पुगिएको प्राधिकरणले स्पष्ट पारेको छ ।

वायुसेवा कम्पनीका माग

वायु सेवा सञ्चालक संघले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानका लागि विभिन्न ५ बुँदे माग अघि सार्दै उडान रोक्ने चेतावनी दिएको हो । विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायत सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत् कायम गर्न सङ्घले माग गरेको छ । यस्तै त्रिअविमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायत भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

यही असार ५ गते प्राधिकरणले लागू गरेको अपरेटिङ बेसका प्रावधान खारेज गरी पहिलेकै व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विमानस्थलबाट सम्पूर्ण विमान सेवा कम्पनीले बिना अवरोध सेवा यथावत् सञ्चालन गर्न पाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । नेपाललाई युरोपेली सङ्घ (इयु) को हवाई सुरक्षाको सूचीबाट हटाउनका लागि सरकारले यथाशीघ्र पहल हुनुपर्ने, इयू एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचीमा राखिएबाट देशका सम्पूर्ण पर्यटन क्षेत्र नै तहसनहस भएकाले समाधान खोज्न आग्रह गरिएको छ । त्रिभुवन विमानस्थल परिसरमा नियमानुसार त्रिभुवन विमानस्थलबाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीले निर्माण गरी हवाई सेवाका लागि प्रयोग भइहेका स्थान तथा संरचनालाई यथावत् राखी प्रयोगका लागि निरन्तरता प्रदान गर्न सङ्घले माग गरेको छ ।

प्राधिकरणको निर्णय

प्राधिकरणको बैठकले हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएको आधार (अप्रेशन वेस) विमानस्थठलमा रात्रि बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने र हेलिकोप्टर कम्पनीले पनि असार ७ गतेदेखि तोकिएको बेस विमानस्थमा रात्रि बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने निर्णय गरेको थियो । त्रिअविमा रहेको आन्तरिक वायुसेवा कम्पनीका अप्रेशन बेस उपत्यका बाहिर स्थानान्तरण गर्ने प्रयोजनका लागि अध्ययन एवं सुझावका लागि गठित समितिले दुई महिनाअघि गठन भएको समितिमा प्राधिकरणका उच्च अधिकारी एवं वायुसेवा सञ्चालक संलग्न रहेका छन् ।

सोही समतिको प्रतिवेदनका आधारमा प्राधिकरणले निर्णय लिएको हो । समितिले आन्तरिक वायुसेवा कम्पनीहरूले विमान किन्दा वा थप गर्दा मन्त्रालयले अपरेशन वेस प्राधिकरणको सिफारिसअनुसार मात्र तोक्ने सिफारिस गरिएको छ । ती हवाई सेवा कमपनीले हालसम्म तोकिएका सञ्चालन आधार लिई त्रिअविको मौजुदा विसान क्षमताअनुसार मात्र गर्ने । सोभन्दा अधिक सङ्ख्यामा विमानलाई अपरेशन वेस राख्न पूर्वाधार भएका बाहिरी विमानस्थलमा स्थानान्तरण गर्ने भनिएको छ । काठमाडौँमा बेस राख्न नसकिने विमानस्थलको हकमा रात्रिकालीन उडान सञ्चालन हुने उपत्यका बाहिरका अपरेशन वेसका लागि आवश्यक न्यूनतम पूर्वाधार भएका विमानस्थलमा सञ्चालन आधार तोक्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL