Logo

कोरोना संक्रमणको बढ्दो अवस्थाबीच पनि सेवा निरन्तर जारी रहने बुद्ध एयरको घोषणा, मापदण्ड पालनामा प्रतिबद्ध

कोरोना संक्रमणको बढ्दो अवस्थाबीच पनि सेवा निरन्तर जारी रहने बुद्ध एयरको घोषणा, मापदण्ड पालनामा प्रतिबद्ध



काठमाडौं । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवा निरन्तर जारी रहने जनाएको छ । पछिल्लो समय मुलुकमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोम’ को संक्रमण र सन्त्रास तीव्र रुपमा फैलिरहेपनि हवाई सेवामा बुद्ध एयरले अधिकतम् सुरक्षा मापदण्ड अपनाएर सेवा प्रदान गरिरहेकाले सेवा नरोकिने बताएको हो ।

बिहीबार एक सूचना जारी गर्दै बुद्ध एयरले आफ्नो सेवाग्राहीहरु मध्ये अधिकतम् ९५ प्रतिशत यात्रुले कोभिड विरुद्धको भ्याक्सिन लगाइसकेको र सेवा प्रदान गर्ने कम्पनीका पूर्ण कर्मचारीहरुले समेत खोपको पूर्ण डोज लगाइसकेकाले समस्या नभएको जनाएको छ ।

हाल बुद्ध एयरले उडान गरिरहेका गन्तव्यहरुमा कम्पनीले गरेको कुल एक हजार ८९५ यात्रुहरुमाथि गरिएको सर्वेक्षणमा अधिकतम् एक हजार ७९३ जना यात्रुहरुले खोप लगाइसकेको पाइएको कम्पनीले जनाएको छ । यस अनुसार खोप लगाईसकेका यात्रुहरुको संख्या ९५ प्रतिशत हाराहारी हुन्छ ।

साथै, बुद्ध एयरका सम्पूर्ण कर्मचारीले समेत पूर्ण मात्रामा खोप लगाइसकेको कम्पनीले बताएको छ ।
बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले आफूहरूले पूर्ण सावधानीका साथ सेवा दिइरहेकाले सेवा निरन्तर हुने बताएका छन् । ‘पहिलोपटक संक्रमण हुँदा उडान बन्द भएपछि हामीलाई पनि त्रास थियो । यसमा अध्ययन भएको थिएन । हामीले यसअघि दुईपटक उडान बन्द पनि गरेका छौं । तर अब त्यसरी हुँदैन । हामीसँग तथ्यांक पनि छ । अब हामीसँग अनुभव पनि भएको छ । पूर्ण सावधानीका साथ हामी हवाइसेवालाई निरन्तर सञ्चालन गरिरहने छौं’, बस्नेतले भने ।

पहिलो लकडाउनको समयमा बुद्ध एयरले कोरोना विरुद्ध निर्देशिका बनाएर महिनौं पूर्वअभ्याससमेत गरेको थियो । आफ्ना सबै कर्मचारीलाई विश्व स्वास्थ्य संगठन तथा नागरिक उड्डयन प्राधिकरणको निर्देशिका अनुसार सम्पूर्ण सुरक्षाका उपायका अपनाएर पिपिई, मास्क तथा तालिम प्रदान गरेको थियो । त्यस्तै संक्रमणरहित सरसफाईका लागि फग मेशिन, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका केमिकलको प्रयोग निरन्तर भइरहेको बस्नेतले बताए । उनले हरेक उडानपूर्व जहाजको सरसफाइलाई अनिवार्य बनाएको समेत बताए ।

यद्यपि, यात्रुहरुलाई अधिकतम् भन्दा अधिकतम् कोभिडविरुद्धको प्रोटोकल अपनाउन बुद्ध एयरले आग्रह गरेको छ । सुरक्षा चेकजाँचदेखि ब्यागेज नबुझेसम्म यात्रा अवधिभर मास्कको अनिवार्य प्रयोग गर्न यात्रुहरुलाई भनेको छ भने, नियमित अन्तरालमा सेनिटाईजको प्रयोग गर्न समेत भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL