Logo

१ महिनामा भित्रिए १५ हजार विदेशी पर्यटक, सबैभन्दा बढी भारतबाट

१ महिनामा भित्रिए १५ हजार विदेशी पर्यटक, सबैभन्दा बढी भारतबाट



काठमाडौं । कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् ।

laxmi

अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार १ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १ सय ३८ देशबाट १४ हजार ९ सय ७७ विदेशी नागरिक नेपाल भित्रिएका छन् । तीमध्ये ११ हजार दुई पुरुष र ३ हजार ९ सय ६३ महिला र १२ अन्य नागरिक रहेका छन् ।

विभागको तथ्याङ्कअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट सात हजार ६ सय ५८ पर्यटक नेपाल भित्रिएका छन् । जसमा ६ हजार १ सय ६९ पुरुष, एक हजार ४ सय ७७ महिला र १२ अन्य नागरिक रहेका छन् । यसैगरी चीनबाट एक हजार २ सय ७ पर्यटक नेपाल भित्रिएका छन् । जसमा १ हजार २९ पुरुष र १ सय ७८ महिला छन् ।

एक महिनामा अमेरिकाबाट एक हजार ५६ पुरुष र ६ सय ४७ महिला गरी एक हजार ७ सय ३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विभागको तथ्याङ्कअनुसार गत जनवरीमा ८ हजार ८ सय ७४ र फेब्रुअरीमा नौ हजार १ सय ४६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । गत फेब्रुअरीको तुलनामा मार्च महिनामा झण्डै पाँच हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

यसैगरी एक महिनामा नौ हजार ५ सय ८७ विदेशी पर्यटक स्वदेश फर्किएका छन् । जसमा छ हजार ६ सय ६३ पुरुष, दुई हजार ९ सय १३ महिला र ११ अन्य नागरिक रहेका छन् । यस्तै एक महिनामा ४९ हजार पाँच नेपाली विदेश गएका छन् । जसमा चालिस हजार ५६ पुरुष, आठ हजार ८४८ महिला र एक अन्य नागरिक रहेका छन् । एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७१ हजार २७० जना नेपाल भित्रिए भने ५८ हजार ५९२ जना बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL