काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले दुबईमा आयोजना हुने नेपाल र वेस्ट इन्डिजबीचको टी२० क्रिकेट श्रृंखलाको प्रसारण र प्रायोजन अधिकार विक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ। क्यानले शुक्रबार जारी गरेको सूचनाअनुसार राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियाअन्तर्गत बोलपत्र माग गरिएको हो।
इच्छुक बिडरहरूले बोलपत्र सम्बन्धी कागजात र थप जानकारी मुलपानीस्थित क्यानको कार्यालयबाट प्राप्त गर्न सक्नेछन्। बोलपत्र कागजात खरिद गर्न कम्पनी वा फर्मको दर्ता प्रमाणपत्रको प्रतिलिपिसहित लिखित आवेदन पेश गरी १० हजार रुपैइाँ दस्तुर तिरेर कागजात लिन सकिने छ। कागजात खरिदको अन्तिम मिति २०२५ अगस्ट २२ तोकिएको छ।
बोलपत्र पेश गर्ने अन्तिम मिति २०२५ अगस्ट २४ दिउँसो १२ बजेसम्म रहेको छ। सोही दिन दिउँसो २ बजे इच्छुक बिडरका प्रतिनिधिहरूको उपस्थितिमा बोलपत्र खोलिने क्यानले जानकारी दिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम २ लाख रुपैयाँको बोलपत्र सुरक्षा रकम संलग्न गर्नुपर्नेछ। बोलपत्र कम्तीमा खोल्ने मितिदेखि ९० दिनसम्म मान्य हुनुपर्ने र बोलपत्र सुरक्षा रकम त्यसभन्दा थप ३० दिनसम्म वैध हुनुपर्ने शर्त राखिएको छ।