काठमाडौं । गत आर्थिक वर्षमा ओभर द काउन्टर ‘ओटीसी’ मार्केटमा करिब ३ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्सेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ओटीसी मार्केटमा २ अर्ब ९५ करोड ४३ लाख १३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । वर्षभरी विभिन्न कम्पनीहरुको ८१ पटकको कारोबारमा १ करोड ७८ लाख ७८ हजार १४६ कित्ता सेयर किनबेच नेप्सेले जानकारी दिएको छ ।
गत वर्ष सबैभन्दा धेरै प्रोफेसनल एजुकेटरको सेयर कारोबार भएको छ । यस कम्पनीको १२ लाख १८ हजार ३२४ कित्ता सेयर ४८ करोड ७३ लाख २९ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो । यस संस्थाको सेयर प्रतिकित्ता ४ सय रुपैयाँका दरले खरिदबिक्री भएको हो । गत वर्ष ओटीसी बजारमा कारोबार भएका कम्पनीमध्ये सबैभन्दा महंगो भाउमा यहि कम्पनीको सेयर किनबेच भएको हो ।
त्यस्तै, मेडिकियर हस्पिटलको पनि २०९ रुपैयाँ १९ पैसामा १२ लाख ८७ हजार १७८ कित्ता सेयर किनबेच भएको छ । दोस्रो बजारमा सूचीकृत नभएका तर प्रचलित ऐन, नियम कानुनअनुसार पारदर्शी हिसाबले सेयर खरिदबिक्री गर्नुपरेमा ओटीसी बजारमा सूचीकृत हुन सकिन्छ । यसरी सूचीकृत भएका कम्पनीका सेयरधनीले सेयर खरिदबिक्री गर्नुपरेमा उनीहरु आफैंले खरिदकर्ता खोजेर आपसी सहमतिमा कारोबार गर्न पाउँछन् । तर, कारोबारका लागि नेप्सेले तय गरेका निश्चित मापदण्डहरु भने पालना गर्नुपर्छ ।
नेप्सेले ओटीसी बजार सञ्चालन विनियावली, २०६५ जारी गरी यसका लागि आवश्यक मापदण्डहरु निर्धारण गरेको छ । हालसम्म धेरैजसो मर्चेन्ट बैंकर, भेन्चर क्यापिटल, जलविद्युत आयोजना, शैक्षिक संस्था, विद्यालय तथा कलेज, अस्पताल, दुग्ध डेरी कम्पनीहरु ओटीसी बजारमा कारोबारका लागि दर्ता भएका छन् । यस्तै, प्रकाशन गृहहरु, चिया तथा कफी उद्योग, डिजिटल भुक्तानीको सेवा दिने कम्पनी, वस्तु विनिमयसम्बन्धी काम गर्ने कम्पनी, धितोपत्र बजार कम्पनी तथा विभिन्न समूहमा आवद्ध कम्पनीहरु यसमा दर्ता भएका छन् । नेपाल स्टक एक्सचेञ्ज आफैं पनि सोही बजारमा दर्ता भएर आफ्नो कारोबार गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकका केही सेयरहरु समेत यो बजारबाट कारोबार हुने गरेको छ । यसअघि कम्पनी रजिस्ट्रार कार्यालयबाट यस्ता कम्पनीहरूको कारोबार हुँदै आएको थियो । पछिल्लो समय नेप्सेमार्फत यस्ता कम्पनीको कारोबार हुँदै आएको छ ।
के हो ओटीसी मार्केट ?
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत नभएका कम्पनीहरुको सेयर पनि किनबेच हुने गर्छ । जसलाई ओटीसी मार्केट वा ओभर द काउन्टर मार्केट भनिन्छ । तर, त्यसले सेयर बजारको घटबढलाई भने असर गर्दैन । सामान्यतयः नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा गर्न नसकेको कम्पनीहरुको धितोपत्रहरुमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने हेतुले ओटीसीमार्फत सेयर कारोबार हुन्छ ।


