Logo

पुँजी बजारमा उत्पादनमूलक कम्पनीको बढ्दो आकर्षण, १७ कम्पनी आईपीओको लाइनमा

पुँजी बजारमा उत्पादनमूलक कम्पनीको बढ्दो आकर्षण, १७ कम्पनी आईपीओको लाइनमा



काठमाडौं । पछिल्लो समय पुँजी बजारमा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरुको आकर्षण उल्लेख्य बढिरहेको छ । नेपाल धितोपत्र बोर्डमा हालै मात्रै १७ ओटा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरुले आइपीओ निष्काशनको लागि अनुमति माग्दै यसप्रतिको आकर्षण दर्शाएका हुन् । बोर्डको याे विवरण अनुसार पछिल्लो समय उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको पुँजी बजारमा आकर्षण बढेको देखाउँछ ।

हालसम्म नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा उत्पादन तथा प्रशोधन क्षेत्रका १० वटा कम्पनीहरु मात्रै सूचीकृत छन् । अहिले नेप्सेमा कुल २५१ वटा कम्पनीहरु सूचीकृत छन् । यसलाई आधार मान्दा पूँजी बजारमा उत्पादनमूलक कम्पनीहरुको उपस्थिति न्यून छ । तथापि, आइपीओ निष्कासन अनुमति माग्ने कम्पनीहरुको सूची हेर्दा यी समूहका कम्पनीहरुको आकर्षण भने बढेको देखिएको छ ।

पुँजी बजारलाई अर्थतन्त्रको ऐना भन्ने गरिन्छ । अर्थतन्त्रको मेरुदण्ड मानिने वास्तविक क्षेत्रका कम्पनीको हिस्सा सेयर बजारमा न्यून छ । सरकारले एक दशकदेखि बजारमा वास्तविक क्षेत्रका कम्पनी ल्याउन विभिन्न उपाय खोजे पनि त्यस अनुरुपको नतिजा भने विस्तारै देखिन थालेको यससम्बद्ध सरोकारवालाहरु बताउँछन् । सेयर बजारमा झन्डै दुई तिहाई बढी हिस्सा बैंक तथा वित्तीय संस्थाहरुले ओगटेका छन् । नेपाली सेयर बजारमा रियल सेक्टर (वास्तविक क्षेत्र) का कम्पनीहरु एकदमै न्यून मात्रामा रहेका छन् ।

मुख्यगरी धितोपत्र बोर्डले रियल सेक्टर क्षेत्रका कम्पनीहरूले प्रिमियम मूल्यमा सेयर जारी गर्न पाउने व्यवस्था गरेसँगै रियल सेक्टर क्षेत्रका (सिमेन्ट, डण्डी, होटल, अस्पताल, केबलकार, रेमिटेन्स, मिडिया, दूरसंचार सेवा प्रदायक लगायत कम्पनीहरु) सेयर बजारमा प्रवेश गर्ने पर्खाइमा रहेका छन् ।

डेढ दर्जन उत्पादनमूलक कम्पनी पाइपलाइनमा, कुन कम्पनीको कति कित्ता ?

हाल उत्पादन तथा प्रशोधन क्षेत्रका करिब डेढ दर्जन बढी कम्पनीहरुले सेयर बजारमा सूचीकृत हुनका लागि धितोपत्र बोर्डसमक्ष आइपीओ निष्काशनको अनुमति मागेका छन् । उत्पादनमूलक क्षेत्रका १७ कम्पनीहरुले २७ अर्ब ५६ करोड ८१ लाख ७१ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासनको लागि अनुमति मागेको बोर्डले जानकारी दिएको छ ।

जसमध्ये ६ वटा कम्पनी प्रिमियम मूल्यमा आइपीओ निष्कासन अनुमतिको पर्खाइमा छन् । आइपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनीहरुमा सिमेन्ट, स्टिल, औषधि, डिष्टलरी लगायतका कम्पनीहरु रहेका छन् । जगदम्बा स्टीलले प्रतिकित्ता ३०० रुपैयाँमा, सौर्य सिमेन्टले २६४.५१ रुपैयाँमा, रिद्धीसीद्धी सिमेन्टले प्रतिकित्ता २१४ रुपैयाँ, मारुती सिमेन्टले ३७७, अम्बे स्टील प्रतिकित्ता ३०३ रुपैयाँका दरले आइपीओ जारी गर्ने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्