Logo

कहाँ पुग्यो आफ्नै नाममा दर्ता भएको सिमकार्ड मात्रै चलाउन पाईने व्यवस्था, के गर्दैछन टेलिकम कम्पनी ?

कहाँ पुग्यो आफ्नै नाममा दर्ता भएको सिमकार्ड मात्रै चलाउन पाईने व्यवस्था, के गर्दैछन टेलिकम कम्पनी ?



काठमाडौं । गत भदौमा नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार सेवाप्रदायकलाई सेवाग्राहीलाई आफ्नै नाममा भएको सिमकार्ड चलाउने गरी व्यवस्था गर्न निर्देशन दियो । सोही अनुुसार नेपाल टेलिकमले एसएमएसमार्फत आफ्ना सेवाग्राहीलाई अब सिमकार्ड निकाल्दा आफ्नै नाममा मा निकाल्न र अरुको नाममा भएको सिमकार्ड चलाईरहेको भए आफ्नो नाममा नामसारी गर्न निर्देशन दियो ।

laxmi

केहीदिन सो निर्देशन कार्यान्वयनमा ग्राहकहरुको चासो रहेपनि अहिले भने सो निर्देशानुसार उक्त व्यवस्था कार्यान्वयनमा चासो देखिदैंन । प्राधिकरणले भदौमा ३ महिनाभित्रै उक्त व्यवस्था गर्न निर्देशन दिएपनि हालसम्म अर्काेको नाममा दर्ता भएको सिमकार्ड आफ्नो नाममा दर्ता गर्नेको संख्या ज्यादै न्युन छ । गत भदौ महिनासम्म नेपाल टेलिकमले २ करोड बढी सिमकार्ड वितरण गरेको छ भने एनसेलले १ करोड ५३ लाख ३१ हजार बढी सिमकार्ड वितरण गरेको छ । जसमध्ये ८० प्रतिशत सिमकार्ड सम्बन्धित व्यक्तिले चलाउने भएपनि अन्य २० प्रतिशत सिमकार्डहरु भने एक जनाको नाममा दर्ता भई अर्काेले चलाउने गरेको प्राधिकरणको अनुमान छ ।

तर हाल सेवाप्रदायकले विभिन्न एसएमएसमार्फत होस या अन्य माध्यमबाट सेवाग्राहीलाई आफ्नो नाममा सिमकार्ड नामसारी दर्ता गर्न निर्देशन दिईरहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् । उनका अनुसार हाल उक्त व्यवस्थाको कार्यान्वयन भईरहेको छ । तर ग्राहकहरुले नामसारी गर्न नपाएको खण्डमा उजुरी दिन सक्ने र सोहीअनुसार कारवाही हुने उनले बताए ।

यस्ता सिमकार्डहरु आफ्नो नाममा गर्ने प्रक्रिया झन्झटिलो भएपछि सेवाप्रदायक प्रायजसोले पुरानै अवस्थामा सिमकार्ड चलाईरहेका छन् । तर यता प्राधिकरणले सेवाप्रदायकलाई दिएको निर्देशनको म्याद सकिन लाग्दा सेवाप्रदायक भने मौनजस्तै बनेका छन् ।

आफ्नो नाममा गर्ने प्रक्रिया

अर्काको नाममा भएको सिमकार्ड चलाईरहेका सेवाग्राहीले उक्त सिमकार्ड आफ्नो नाममा गर्नका लागि सेवाप्रदायकको कार्यालयमै पुग्नुपर्ने व्यवस्था छ । केहीमहिना अघि नेपाल टेलिकमले अर्काको नाममा भएको सिमलाई आफ्नो नाममा नामसारी गर्न वेबसाईटबाटै व्यवस्था मिलाउने बताएपनि हालसम्म कम्पनीले उक्त सेवा संचालनमा ल्याउन सकेको छैन । सोहीअनुसार सेवाग्राहीले अब आफुले चलाईरहेको सिमकार्ड जसको नाममा छ उसैको परिचय खुल्ने नागरिकता, लाईसेन्स वा पासपोर्ट सेवाप्रदायकको कार्यालयमा पुर्याउनुपर्छ । सोहीअनुसार सेवाप्रदायकले सेवाग्राहीको आवेदनअनुसार सिमकार्डको नामसारी गर्ने व्यवस्था छ ।

उपादयेता

सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत अब सम्पुर्ण सरकारी सेवा एपबाटै लिन सकिने व्यवस्थाअन्तर्गत सिमकार्ड आफ्नै नाममा गर्नुपर्ने व्यवस्था गरिएको हो । अब सिमकार्डमा भएको व्यक्तिगत विवरणअनुसार सरकारी सेवाका लागि फारमहरु अटोमेटिकल्ली भरिने व्यवस्था मिलाउन सरकारले नागरिक अधिकार एप संचालनमा ल्याएको छ । सोही एपमा मोबाईल नम्बर लिंक गरेको अवस्थामा विभिन्न सरकारी सेवाको फारम भर्दा विवरणहरु अटोमेटिक भरिने व्यवस्था मिलाईएको हुन्छ ।
जसको माध्यमबाट सरकारी सेवा लिनका लागि नागरिकले आफ्नो फोन नम्बर राख्नेवित्तिकै फारममा व्यक्तिगत विवरणहरु आफै भरिनेछ । हाल लोकसेवाको फारम, प्यान नम्बर लिंदा, लाईसेन्स लिँदालगायतका फारममा व्यक्ति आफै सम्पुर्ण विवरण भर्नुपर्ने हुन्छ । यसैलाई सहजीकरण गर्नका लागि सरकारले सिमकार्डलाई व्यक्तिगत पहिचान बनाउने अभियान चलाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL