Logo

लाईसेन्स आवेदकको चाप घटेपछि कोटा प्रणाली हटाउँदै विभाग, दैनिक कतिले भर्छन फारम ?

लाईसेन्स आवेदकको चाप घटेपछि कोटा प्रणाली हटाउँदै विभाग, दैनिक कतिले भर्छन फारम ?



काठमाडौं । यातायात व्यवस्था विभागले अब सवारी चालकका अनुमतिपत्र (लाईसेन्स)को अनलाईन आवेदनमा कोटा प्रणाली हटाउने भएको छ । यसअघि कोटा प्रणाली रहँदै आएकोमा अब भने यस्तो प्रणाली हटाउन लागिएको हो ।

कोरोना भाईरसको महामारीका कारण बन्द भएको सवारीसाधनको अनलाईन आवेदन केहिदिनअघि मात्रै पुनः संचालनमा आएको थियो । करिव ९ महिनापछि पुन सुचारु भएको अनलाईन आवेदनमा एकैचोटी धेरै जनाले आवेदन दिने भएकाले कोटा प्रणालीको प्रयोग गरिएको थियो । तर हाल अनलाईन आवेदन दिनेको भिडभाड कम हुँदै गएकाले कोटा प्रणाली हटाउने बारे छलफल भईरहेको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले जानकारी दिए ।

हाल विभागले प्रतिदिन ५ हजारका दरले अनलाईन आवेदन लिईरहेको छ । बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म भर्न पाईने अनलाईन आवेदनमा बिहान बिहानै कोटा पुर्ण भईसक्छ । सोही समस्यालाई मध्येनजर गर्दै विभागले अब भने कोटा प्रणाली हटाउने भएको हो । हाल एकैचोटी सबै आवेदन खोलिदिँदा लाईसेन्स छपाईमा असर पर्ने र पुनः पुरानै समस्या दोहोरिने भन्दै विभागले कोटा प्रणालीको व्यवस्था गरेको थियो । लाईसेन्सको आवेदन लिएर सेवाग्राहीलाई लाईसेन्सका लागि कुराउनु भन्दा कोटा प्रणाली गर्दा ठिक हुने भन्दै लागु गरिएको कोटा प्रणालीका कारण गुनासो बढेको थियो ।

‘कोटा प्रणालीका कारण धेरैजसो गुनासो आयो र अपारदर्शी काम भएको भन्दै गुनासो पनि आयो,’ प्रवक्ता भुषालले भने, ‘अब हामी केही दिनमै कोटा प्रणाली हटाएको घोषणा गर्नेछौं ।’ यसरी कोटा प्रणालीको अन्त्य गर्दा लाईसेन्सको आवेदन दिएका सेवाग्राही लाईसेन्स लिनका लाग भने कुर्नुपर्ने अवस्था आउनसक्ने उनी बताउँछन् ।

पछिल्लो समय ९ महिनापछि खुलेको अनलाईन आवेदनमा आवेदनकर्ता झुम्मिदा सर्भरमा नै समस्या देखिने गरेको थियो । सर्भरमा समस्या देखिँदा विभागको वेबसाईन न राम्रोसँग चलेको थियो न सेवाग्राहीले भनेबमोजिम आफ्नो अनलाईन आवेदन विभागकहाँ बुझाउन नै पाएका थिए ।
तर विभागले सर्भर मर्मत गरेपनि समस्या ज्युँको त्युँ छ । अर्थात समस्या अझै सल्टिएको छैन । यसरी समस्या नसल्टीँदा विभागमा पनि धेरै गुनासो आएको र सबैसँग माफीसमेत मागिएको प्रवक्ता भुषाल बताउँछन् । विभागले हप्तामा ४ दिन अर्थात आईतबारदेखि बुधबारसम्म मात्रै अनलाईन आवेदन लिनसक्ने गरी सेवा सुचारु गरेको छ । उक्त ४ दिनमा प्रतिदिन ५ हजारका दरले हप्तामा २० हजार जनाको अनलाईन आवेदन देशभरबाट विभागमा आउने गरेको उनको भनाई छ । तर ट्रायल, लिखित परिक्षा, मौखिक परिक्षालगायत विभिन्न परिक्षणबाट हप्तामा आएका २० हजार आवेदनको २५ देखि ३० प्रतिशत आवेदनकर्ता मात्रै पास हुने गरेको यसअघिको तथ्यांकले देखाउँछ ।

हीअनुसार विभागले पास हुने सेवाग्राहीको तत्काल स्मार्ट लाईसेन्स प्रिन्ट गरी सम्बन्धीत यातायात कार्यालयमा बुझाउने व्यवस्थासमेत गरेको छ । तर कोटा प्रणाली अन्त्य हुँदा भने लाईसेन्स पाईने समय केही बढ्नेछ । अर्थात दैनिक धेरै जनाको आवेदन आउँदा लाईसेन्स छपाईमा नै असर परी लाईसेन्स छाप्ने काम ढिलो हुनेछ ।

विभागले लाइसेन्स छपाईको काममा नकारात्मक असर नपरोस भन्नका निम्ती नयाँ लाईसेन्स कार्ड ल्याउन ग्लोबल टेन्डरको आह्वान गरिसकेको छ । यस्तै लाईसेन्स प्रिन्ट गर्नलाई पनि नयाँ कम्पनीसँग सम्झौतासमेत भईसकेको प्रवक्ता भुषालले बिजखबरलाई जानकारी दिए । उनका अनुसार विभागसँग भएको मास प्रिन्टरबाट लाईसेन्स छाप्नलाई नयाँ कम्पनीसँग हालै नयाँ सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL