Logo

अबदेखि १२ महिनासम्म नचलेका सिमकार्ड अर्काको नाममा जारी गर्न नपाईने, प्राधिकरणले सेवाप्रदायकलाई निर्देशन दिँदै

अबदेखि १२ महिनासम्म नचलेका सिमकार्ड अर्काको नाममा जारी गर्न नपाईने, प्राधिकरणले सेवाप्रदायकलाई निर्देशन दिँदै



काठमाडौं । अब १२ महिनासम्म नचलेका सिमकार्ड अर्काको नाममा जारी गर्न नपाइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सिम निष्क्रिय भएको एक वर्षपछि मात्रै पुनः वितरण गर्न पाउने गरी नयाँ व्यवस्था गरेको हो। प्राधिकरणको हालै बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । बैठकले उक्त निर्णय गर्दै अब सेवाप्रदायकलाई समेत उक्त निर्देशन दिने निर्णय गरिसकेको छ । सोही अनुसार अब सेवाप्रदायकलाई निर्देशन दिएपछि उक्त नियम लागु हुनेछ ।

यसअघि ६ महिनासम्म नचलेका सिमकार्ड खारेज गर्न सक्ने व्यवस्था भने कायमै छ । अर्थात ६ महिनासम्म नचलेको सिमकार्ड निश्क्रिय हुने तर निश्क्रिय भईसकेको सिमकार्ड पनि अर्काे ६ महिनासम्म अर्काको नाममा जारी गर्न नपाईने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार विभिन्न बैंकहरुबाट आएको अनुरोधसँगै प्राधिकरणको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । मोबाइल नम्बर अबदेखि बैंक खाता, मोबाइल वालेट, सामाजिक सञ्जाल लगायतका विविध सेवासँग जोडिने भएकाले प्राधिकरणले यस्तो व्यवस्था गरिएको उनको भनाई छ ।

यस अघि सेवाप्रदायकहरुले ६ महिनासम्म निष्क्रिय रहेका सिमकार्ड पुनः बिक्री गर्न पाउने व्यवस्था रहेको थियो । ६ महिनामै सिमकार्ड पुनः वितरण गर्दा जोखिम बढेको भन्दै नेपाल बैंकर्स एसोसियसनले कम्तिको दुई वर्षको अवधि कायम गर्न प्राधिकरणसँग अनुरोध गरेको थियो ।

तर प्राधिकरणले भने बैंकर्स एसोसियसनको माग सम्बोधन गर्नकै लागि एक वर्षपछि मात्रै पुनः वितरण गर्न सकिने व्यवस्था गरेको हो । यसको अर्थ ६ महिनापछि खारेज भएका सिम एक वर्षसम्म सम्बन्धित प्रयोगकर्ताले आफ्नो नाममा पुनः फिर्ता ल्याउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL