Logo

दयनीय बन्दै टेलिकमको अवस्था, आम्दानी पौने ३ अर्बले घट्दा खुद नाफामा ४८ प्रतिशतको गिरावट

दयनीय बन्दै टेलिकमको अवस्था, आम्दानी पौने ३ अर्बले घट्दा खुद नाफामा ४८ प्रतिशतको गिरावट



काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको आर्थिक अवस्था झनै कमजोर बन्दै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (चैत्र मसान्त) सम्म आइपुग्दा कम्पनीको कुल आय र खुद मुनाफा दुबैमा उल्लेखनीय गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार टेलिकमको आम्दानी मात्र होइन, मुनाफा पनि तीव्रगतिमा घटिरहेको देखिएको छ ।

वित्तीय विवरण अनुसार नेपाल टेलिकमको तेस्रो त्रैमाससम्मको कुल सञ्चालन आय २५ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको २५ अर्ब ४८ करोड रुपैयाँभन्दा १६ करोड रुपैयाँले कम हो । यस्तै, कुल आयमा झनै ठूलो गिरावट देखिएको छ । अघिल्लो वर्षको ९ महिनामा ३१ अर्ब २० करोड रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले यो वर्ष सोही अवधिमा कुल २८ अर्ब ४३ करोड रुपैयाँ मात्रै आम्दानी गर्न सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८.८९ प्रतिशतले कम हो ।

खुद मुनाफा अझै गम्भीर अवस्थामा पुगेको छ । गत आवमा ५ अर्ब ५३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले चालु आवमा त्यो घटेर २ अर्ब ८४ करोड रुपैयाँमा झरेको छ । यो ४८.६७ प्रतिशतले घटेको ।

खासगरी टेलिकमले आफ्नो तथ्यांकमा परिवर्तन आउनुको मूख्य कारणहरुमा ओटीटी सेवाको प्रयोग, नविकरण शूल्क, कर्मचारीको निवृत्तिभरण सुविधालगायतलाई लिएको छ ।

पछिल्लो समय ओटीटी (जस्तै भाइबर, म्यासेन्जर, ह्वाट्सएप) को बढ्दो प्रयोगका कारण अन्तरराष्ट्रिय कलको संख्यामा तीव्र गिरावट आएको छ । यसले कम्पनीको अन्तरआवद्धता आम्दानीमा मात्र २२ प्रतिशतको गिरावट ल्याएको कम्पनीको दावी छ ।

त्यसैगरी, गत वर्ष कम्पनीले जीएसएम सेवा नवीकरणका लागि एकैचोटि २० अर्ब रुपैयाँ तिर्नु परेको थियो भने कर्मचारीका लागि निवृत्तिभरणको रकम व्यवस्थापन गर्न करिब १३ अर्ब रुपैयाँ छुट्ट्याउनु परेको थियो । यसले लगानी घटाएको मात्र होइन, ब्याज आम्दानीमा पनि ठूलो असर पारेको छ । ब्याज आम्दानी मात्र करिब २ अर्ब ३८ करोड रुपैयाँले घटेको छ ।

यसबाहेक प्रतिस्पर्धी इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले वाइफाइ मार्फत मोबाइल डेटामा कटौती गर्न थालेपछि मोबाइल सेवाबाट प्राप्त हुने आम्दानीमा समेत कमी आएको छ । साथै, विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दा लाग्ने बढी लागत र थोरै आम्दानीले पनि समग्र मुनाफामा नकारात्मक असर पारेको छ ।

सेवा शुल्कमा समेत सरकारले नियम परिवर्तन गर्दा दररेट घट्नु प¥यो, जसले आम्दानी घटाएको दावी टेलिकमको छ । थप रूपमा, लेखामान अनुसारको नयाँ पेन्सन योजना, पुराना मुद्दाको समाधानमा लाग्ने खर्च लगायतका कारणले कम्पनीमा स्थगन करको असर समेत देखिएको छ । यी सम्पूर्ण कारणले नेपाल टेलिकमको आर्थिक अवस्था झनै कमजोर बन्दै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्