Logo

भारतमा एप्पलको पहिलो स्टोर खुल्यो, नेपालमा तत्काल सञ्चालन गर्न नसकिने एप्पलको निष्कर्ष

भारतमा एप्पलको पहिलो स्टोर खुल्यो, नेपालमा तत्काल सञ्चालन गर्न नसकिने एप्पलको निष्कर्ष



काठमाडौं । आईफोन निर्माता एप्पलले आजदेखि भारतमा आफ्नो पहिलो स्टोर सञ्चालनमा ल्याएको छ । मुम्बईको डायनामिक स्पेस बिकेसीमा रहेको ‘जिओ वर्ल्ड ड्राइभ’ मा रहेको स्टोरको नाम ‘एप्पल बिकेसी’ राखिएको छ । भारतमा एप्पलको क्रेज यस्तो छ कि स्टोर खुल्नुअघि देखि नै स्टोरबाहिर लामो लाइन लागेको थियो । बिहानैदेखि एप्पलको पसलमा मानिसहरुको भिड लागेको र यो क्रम क्रमशः बढ्दै गएको छ । एप्पल सीईओ टिम कुक पनि यो स्टोरको लन्चका लागि भारत आएका छन् ।

laxmi

भारतमा आईफोनको बिक्री लगातार बढिरहेको छ । एक रिपोर्टअनुसार एप्पलले आर्थिक वर्ष २०२३ मा भारतमा ६ अर्ब डलरको बिक्री गरेको छ । यो एप्पल इन्डियाले एकै आर्थिक वर्षमा रेकर्ड गरेको सबैभन्दा धेरै बिक्री हो । भारतमा एप्पलको उत्पादनको बढ्दो बिक्रीलाई देखेर कम्पनीले आफ्नो स्टोर खोल्ने निर्णय गरेको हो ।

एप्पल कम्पनीको कारोबार भारतमा तीव्र गतिमा बढिरहेको छ । भारतमा कम्पनीका स्मार्टफोन र कम्प्यूटरहरूले उनीहरूको उच्च मूल्यको कारणले गर्दा अहिलेसम्म बजारको केही हिस्सामात्र कब्जा गरेको छ । एप्पलले २०२० मा, कम्पनीले भारतमा आफ्नो पहिलो अनलाइन स्टोर सुरू गरेको थियो ।

यसैबीच मंगलबारदेखि कम्पनीले मुम्बईमा आफ्नो पहिलो स्थानीय स्टोर खोल्न लागेको हो । दुई दिनपछि दिल्लीमा पनि एप्पलले आउटलेट खोल्ने योजना बनाएको छ । कोरोना महामारीको समयमा एप्पल इन्डियाको बिक्रीमा ठूलो उछाल आएको थियो । महामारीमा मानिसहरूले धेरै आईफोन र आईप्याडहरू किनेका थियो र कम्पनीको बिक्रीमा यो वृद्धि जारी छ ।

भारतमा अहिले भारतका ४ प्रतिशत मानिससँग मात्रै आइफोन छ । भारतमा ७० करोड स्मार्टफोन प्रयोगकर्ता छन् । विश्वको दोस्रो ठूलो मोबाइल बजारमा सस्तो स्थानीय ब्रान्डका साथै चिनियाँ र दक्षिण कोरियाली कम्पनीहरूको प्रभुत्व रहेको छ ।

नेपालमा तत्काल शुरु गर्न नसकिने एप्पलको निष्कर्ष

छिमेकी भारतमा एप्पल स्टोर सञ्चालनमा आएसँगै नेपालमा पनि एप्पल स्टोर खुल्ने आशा एप्पलका प्रयोगकर्ताको रहेको छ । विश्वकै सबैभन्दा मूल्यवान ब्राण्डका रुपमा रहेको एप्पलका उत्पादनप्रति नेपालीहरुमा पनि ठूलो क्रेज रहेको छ । जसका कारण अहिले पनि नेपालमा एप्पलका उत्पादनका प्रयोगकर्ता बाक्लै रहेका छन् । एप्पलका प्रयोकर्ताहरुले नेपालमा पनि एप्पलको आधिकारिक स्टोर खुल्ने प्रतीक्षा गरिरहेका छन् ।

तर, एप्पलले नेपालमा तत्कालै स्टोर खोल्ने योजनालाई भने नकारेको छ । नेपालमा एप्पलका उत्पादन आधिकारिक रुपमा विक्री वितरणको अधिकार पाएको जेनेरेसन नेक्स्ट कम्युनिकेसनका निर्देशक पवन भिमसरिया नेपालमा एप्पलको आधिकारिक स्टोर खोल्न प्रयास गरेको भएपनि नेपालभित्रकै विभिन्न कारणले असफल भएको बताउँछन् ।

भिमसरियाका अनुसार नेपालमा एप्पलको स्टोर सञ्चालनबारे अध्ययन गर्न केही समयअघिमात्र एप्पलको ३ सदस्यीय टोलीले काठमाडौं भ्रमण गरेको थियो । सो टोलीले नेपालको बजार अध्ययनपछि तत्काल स्टोर सञ्चालनमा ल्याउन नसकिने निष्कर्ष निकालेको भिमसरिया बताउँछन् । ‘टोलीले नेपालको ग्रे मार्केटबारे प्रश्न उठाउँदै मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागु नभएसम्म स्टोर सञ्चालनमा ल्याउन नसकिने स्पष्ट पार्यो’, उनले भने । उनका अनुसार एप्पलको अहिलेको निष्कर्ष नेपालमा अझै २–३ वर्ष स्टोर सञ्चालनमा ल्याउन नसकिने रहेको देखिन्छ ।

भिसमिरयाका अनुसार नेपालमा अहिले एप्पलको विशेषगरि आइफोन प्रयोगकर्ता निकै रहेको भएपनि ती आधिकारिक विक्रेताभन्दा बाहिर ग्रे मार्केटबाट खरीद गरेर प्रयोग भइरहेका छन् । जसको आधिकारिक रुपमा सर्र्भिसको कुनै ग्यारेन्टी हुँदैन् । एप्पलका स्टोरहरूले विश्वको सबैभन्दा मूल्यवान कम्पनीको लागि प्रिमियर रिटेल र शोकेस पोइन्टहरूको रूपमा सेवा प्रदान गर्ने भएकाले विशेष महत्व रहने गरेको छ । यद्यपि अहिले पनि नेपालमा जेनेरेसन नेक्स्ट कम्युनिकेसनका (जी नेक्स्ट) बाट आधिकारिक रुपमा एप्पलका उत्पादन खरिद गर्न सक्ने व्यस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL