Logo

GBIME

टेलिकमका सेयरधनीलाई ४० प्रतिशत नगद लाभांस, १५ औं साधारणसभाले गर्याे प्रस्ताव पारित

टेलिकमका सेयरधनीलाई ४० प्रतिशत नगद लाभांस, १५ औं साधारणसभाले गर्याे प्रस्ताव पारित



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को पन्ध्रौँ वार्षिक साधारणसभाले सर्वसाधारणलाईक ४० प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको छ । बिहीबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

साधारणसभामा करिब ९१.६ प्रतिशत सेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेशकुमार गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले साधारणसभामा उपस्थित सेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको पन्ध्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले कोभिड–१९ को महामारी तथा यसको प्रभाव र असरकाबिच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रको विश्वबजारमा विकास भइरहेका नवीनतम र अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।

दूरसञ्चार क्षेत्रमा विद्यमान तीब्र प्रतिस्पर्धाको वातावरणमा पनि मुनाफाभन्दा बढी सेवाभावलाई प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गर्नेतर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरेको उनले बताए ।

अध्यक्षले भने, ‘आर्थिक वर्ष २०७८/७९मा आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बिच कम्पनीले कुल ४४ अर्ब ३७ करोड राजश्व आम्दानी गरी ८ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा १ अर्ब ३५ करोड रुपैयाँले बढी हो । यसै आ.व.मा कम्पनीले कर तथा शुल्क वापत आफ्नो कुल आयको ५९.५२ प्रतिशत अर्थात् २६ अर्ब ४१ करोड रुपैयाँ राजश्वका रुपमा नेपाल सरकारलाई बुझाएको छ । कम्पनीको नाफामा सेयरधनीहरुको योगदान र लगानीको उच्च कदर गर्र्दै कम्पनी सञ्चालक समितिले प्रति सेयर ४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि यस सभामा पेश गर्ने निर्णय गरेको छ ।’

प्रत्येक नागरिक, उद्योग व्यवसाय तथा सरकारी क्षेत्रका लागि अधारभूत आवश्यकताका रुपमा स्थापित हुँदै गरेको सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टे सेवा तथा एफटीटीएच सेवा विस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणमा तीब्रता दिएकोले २०७९ असारसम्ममा देशका ७३५ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएको उहाँले उल्लेख गर्नुभयो ।

अझै पनि कम्पनीबाट उपलब्ध टुजी प्रविधिको उपयोग गर्ने ग्राहकको संख्या उल्लेख्य रहेकाले यसको गुणस्तर सुधारसहित विस्तार गर्नुका साथै बहूसंख्यक ग्राहकले प्रयोग गर्ने फोरजी सेवाको स्तर वृद्धि गरी सेवा विस्तारलाई निरन्तरता दिइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभजी प्रविधिको परीक्षण अनुमति प्राप्त भएअनुसार निकट भविष्यमा यसको परीक्षण कार्य सफलतापूर्वक सम्पन्न गर्नेगरी काम अघि बढाइएको पनि अर्यालले बताए ।

कम्पनीको लगानी नीतिअनुरुप लगानी विविधीकरण गरी वित्तीय अवस्था सुदृढ गरिने, वित्तीय अनुसाशन कायम गरी खर्चमा मितव्ययिताको सिद्धान्त अवलम्बन गर्ने तथा कम्पनीका सेवाका गुणस्तर सुधारमा विशेष ध्यान दिइने प्रतिबद्धता अर्यालले व्यक्त गरे ।

विश्वभर नै भ्वाइस सेवाको माग दिनानुदिन घट्दै गइरहेको सन्दर्भमा डाटाको गुणस्तर सुधार गरी लागतप्रभावी बनाउन विशेष जोड दिइने, भ्वाइस सेवामा सुधार गर्दै साझेदार संस्थाहरुसँगको सहकार्य समेतमा भ्यालु एडेड सर्भिसहरु र कन्टेन्ट वेस्ड सेवाहरुको विस्तार गर्ने कार्यमा कर्मचारी, नियामक निकाय तथा सेयरधनीहरुबाट सदा झैं पूर्ण सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
NBL
NCHL