Logo

आफ्नै नामको मात्रै सिमकार्ड चलाउन टेलिकमको आग्रह, यसरी गर्न सकिन्छ नाम परिवर्तन

आफ्नै नामको मात्रै सिमकार्ड चलाउन टेलिकमको आग्रह, यसरी गर्न सकिन्छ नाम परिवर्तन



काठमाडौं । नेपाल टेलिकमले पुनः आफ्ना सेवाग्राहीलाई आफ्नो नामा भएको सिमकार्ड मात्रै चलाउन आग्रह गरेको छ । राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था भएकाले आफ्नै नामको सिमकार्ड चलाउन टेलिकमले आग्रह गरेको हो ।

laxmi

यस्तो सेवाहरु ग्राहक स्वयंको नाममा दर्ता भएको सिमकार्ड भएको खण्डमा मात्र मोबाइल बंैकिङ लगायत सुविधाहरु सुरक्षित साथ प्रयोग गर्न सकिने अवस्था भएको टेलिकमको भनाई छ ।

अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनु पर्नेसम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानूनी झमेलामा समेत पर्ने सम्भावना रहन्छ ।

तसर्थ ग्राहकले नयाँ सिमकार्ड लिनका लागि आवेदन फाराममा आवश्यक विवरणहरु स्पष्ट रुपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचय पत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचय पत्र नम्बर र सम्पर्क नम्बर स्पष्ट रुपमा लेख्नु पर्दछ ।
स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइनेसमेत टेलिकमले जानकारी दिएको छ ।

परिचय पत्रको प्रतिलिपीलाई सक्कल परिचय पत्रको नाम, बुवाको नाम, परिचय पत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिन्छ ।

सिमकार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्थामा ग्राहक स्वयं उपस्थित भएमा सिमकार्ड परिवर्तनको फाराम पूर्ण रुपमा भरेको/नभरेको जाँच पश्चात ग्राहकको परिचय पत्रको सक्कल र नक्कल लगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध हुन्छ ।

ग्राहक स्वयं उपस्थित नभई अर्को व्यक्तिको नाममा दर्ता रहेको सिमकार्ड लिन आएको अवस्थामा ग्राहक स्वयं उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरिनामा र सक्कल परिचय पत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचय पत्र देखाई सोको प्रतिलिपी रितपूर्वक भरिएको फरामसाथ संलग्न गर्नुपर्छ । कागजात रुजु कार्य सम्पन्न भए पश्चात सिमकार्ड परिवर्तन हुन्छ ।

सिम लिने ग्राहकभन्दा फरक ग्राहकको विवरण दर्ता रहेको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको ग्राहकको मोबाइल नम्बर अद्यावधिक गरी लिने र दिने व्यक्ति आ–आफ्नो नागरिकताको सक्कल वा अन्य आधिकारिक परिचय पत्रको सक्कल र तिनका प्रतिलिपी सहित स्वयं उपस्थित भई निवेदन दिन सकिने व्यवस्था रहेको छ ।

कुनै ग्राहक अशक्त भएमा निजको मञ्जुरिनामा पत्र र परिचय पत्रको सक्कल तथा प्रतिलिपी, लिन आउने व्यक्तिको सक्कल परिचय पत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाण पत्र सहित हकवाला नातेदार सक्कल कागजात तथा परिचय पत्र सहित उपस्थित भएमा सिमकार्ड उपलब्ध हुन्छ ।

वास्तविक प्रयोगकर्ता भन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचय पत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्ट्याई गरी सिमकार्ड परिवर्तन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL