Logo

विद्युत प्राधिकरणको चेतावनीपछि प्राधिकरण र आईस्पानबीच विवाद, कुरै नबुझी सूचना निकालेको आरोप

विद्युत प्राधिकरणको चेतावनीपछि प्राधिकरण र आईस्पानबीच विवाद, कुरै नबुझी सूचना निकालेको आरोप



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत मंगलबार एक सूचना सार्वजनिक गर्दै सहरलाई कुरुप बनाएका केवल तारहरु हटाउन निर्देशन दिएको थियो । ४५ दिनको समयसिमा दिँदै लत्रिएका, उब्रेका, झुण्डिएका, नमिलेका तार तथा केवलहरु व्यवस्थित नगरिए आफै हटाईदिने चेतावनीसमेत उक्त सूचनामा थियो । सोही सूचनाका आधारमा इन्टरनेट सेवाप्रदायक र प्राधिकरणबीच विवाद पैदा भईसकेको छ । इन्टरनेट सेवाप्रदायकहरुले प्राधिकरणको यस्तो सूचनालाई अपरिपक्व सूचना मानेका छन् ।

हुन त पछिल्ला केहि बर्षदेखि केवल सेवाप्रदायक र प्राधिकरणबीच बेलाबेलामा पोल भाडालगायतका बिषयमा विवाद हुँदै आएको थियो । प्राधिकरणले बेलैमा पोल भाडा नबुझाएका, नियमित नबुझाउनेलगायतका सेवाप्रदायकलाई ताकेता गर्ने, चेतावनी दिने र कहिलेकाही तार काटिदिनेसम्मका व्यवहार गर्दै आएको छ । यता केवल सेवाप्रदायकहरु भने प्राधिकरणले यस्ता निर्णय गर्दा अपरिपक्व निर्णय गर्ने गरेको बताउँछन् ।

प्राधिकरणले मंगलबार सार्वजनिक गरेको सूचना अनुसार पोलमा तार झुन्ड्याउँदा फुटपाथ, सडक बाटको दूरी, विद्युतीय तारसँगको दूरीलगायत तोकिदिएको छ । यस्ता कुरा केवल सेवाप्रदायकले पहिल्यैदेखि गर्दै आएको इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष सुधिर पराजुली बताउँछन् । उनका अनुसार प्राधिकरणले सूचना निकालेर चेतावनी दिएपनि केवल सेवाप्रदायकले पहिल्यैदेखि नै तार व्यवस्थापनको काम गरिरहेका छन् । ‘हामीले ठमेल क्षेत्रमा करिव करिव तार व्यवस्थापनको काम टुंग्याईसकेका छौं,’ उनले भने, ‘अब केहिदिनमै सिंहदरबार वरीपरीको क्षेत्रमा तार व्यवस्थापनको काम अघि बढ्दैछ ।’

यस्तै पोलमा वा घरमा आवश्यकभन्दा बढी तार राखेको बिषयमा भने पराजुली प्राधिकरणले कुरा नबुझेको बताउँछन् । केहिगरी अप्टिकल फाईबर अवरुद्ध भयो, चुँडियो भने त्यसलाई जोड्नका लागि भुईँमै झार्नुपर्ने र त्यसका लागि लामो तार चाहिने भएकाले पोलमा एक्स्ट्रा तार राख्ने गरिएको उनको भनाई छ । ‘कुनै स्थानमा अप्टिकल फाईबर चुँडियो भने त्यसलाई जोड्न मेशिन आवश्यक पर्छ, विजुलीको तार जोडेजस्ता सजिलो छैन,’ उनले भने, ‘जसका कारण प्रत्येक घरमा वा पोलमा आवश्यकभन्दा केहि बढी चार छोड्नुपर्छ, यो हटाउन मिल्दैन ।’ तर अन्य क्षेत्रमा भने यसको व्यवस्थापन भईरहेको समेत उनले बताए ।

विस्तारै तार व्यवस्थापनको काम भईरहेपनि प्राधिकरणले भने एक्कारी धम्की दिएरै तार व्यवस्थापन गर्न लगाएको उनको भनाई छ । ‘बिसौं बर्षदेखि अलपत्र तार कसरी ४५ दिनमै व्यवस्थापन गर्न सकिएला र ?’ उनले प्रश्न गरे, ‘केहि क्षेत्र तोकेर ताकेता गरेको भएपनि सम्भव हुन्थ्यो तर, नेपालभरी नै व्यवस्थापन गर्नु भनेको छ कसरी सम्भव होला र ?’

विद्युत प्राधिकरणले पछिल्लो ४५ दिनमा तार व्यवस्थापन नगरे आफै हटाईदिने चेतावनीसमेत दिएको छ । उक्त चेतावनीको डर भने केवल सेवाप्रदायकलाई छैन । अर्थात इन्टरनेट, टेलिभिजन, विजुलीलगायतका अत्यावश्यक सेवामा कसैले रोक लगाउन नपाउने कानुन नै भएकाले सेवाप्रदायकहरु प्राधिकरणको सूचनादेखि डराएका छैनन् । जसका कारण प्राधिकरणले सूचना निकालेको आज ४ दिन भईसक्दा पनि केवल सेवाप्रदायकले तार व्यवस्थापनको काम सुरु गरिसकेका छैनन् ।

हुन त काठमाडौंका हरेक सडक र गल्लीहरुमा अनावश्यक झुण्डिएका तारहरुले सहर कुरुप पारेकै । यसका लागि भन्दै शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नेपाल दूरसंचार प्राधिकरणलगायतका निकायहरुलाई यस्तो अव्यवस्थित प्रणाली घाँडो बनेको छ । त्यसकै लागि नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट र टेलिभिजनका तारहरु पनि अन्डरग्राउन्ड गर्न सकिने गरी नेपाल विद्युत प्राधिकरणसँग सल्लाह गरिरहेको छ । यता विद्युत प्राधिकरणले भने काठमाडौं उपत्यकामा हाल विद्युतीय तार भूमिगत गर्ने कार्य तिव्र गतिमा गरिरहँदा केवल सेवाप्रदायकका लागि भन्दै २ ओटा छुट्टै डक अन्डरग्राउन्ड गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL