Logo

मोबाइल बैंकिङमा आकर्षण बढ्दा इन्टरनेट बैंकिङ सुस्तायो, साढे १ अर्बले घट्यो भुक्तानी

मोबाइल बैंकिङमा आकर्षण बढ्दा इन्टरनेट बैंकिङ सुस्तायो, साढे १ अर्बले घट्यो भुक्तानी



काठमाडौं । चालु आर्थिक बर्षको साउन महिनामा इन्टरनेट बैंकिङमार्फत हुने भुक्तानीमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षको साउनको तुलनामा चालु आर्थिक बर्षको साउनमा यसमार्फत हुने भुक्तानीमा करिव साढे १ अर्बको गिरावट आएको हो ।

पछिल्लो समय मोबाईल बैंकिङमा उपभोक्ताको आकर्षण बढ्दै गएपछि इन्टरनेट बैंकिङप्रति उपभोक्ताको आकर्षण घट्दै गएको देख्न सकिन्छ । चालु आर्थिक बर्षको साउन महिनाभरी इन्टरनेट बैंकिङमार्फत १३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको मात्रै भुक्तानी भएको छ ।

यसमार्फत गत आवको सोही अवधिमा १५ अर्ब १७ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो । गत आवमा यसमार्फत झण्डै साढे ३ लाख पटक भुक्तानी भएकोमा चालु आवको साउनमा भने यस्तो भुक्तानी जम्मा करिव ३ लाख पटक भएको देखिन्छ ।

यसै अवधिमा मोबाइल बैंकिङमार्फत भने १ खर्ब ५२ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । यो भुक्तानी गत आवको साउनमा मोबाइल बैंकिङमार्फत भएको भुक्तानीको तुलनामा ७९ अर्ब ६८ करोड ८० लाख रुपैयाँले बढी हो । गत आवको साउन महिनामा मोबाइल बैंकिङमार्फत उपभोक्ताले जम्मा ७२ अर्ब ८७ करोड रुपैयाँ बराबरको भुक्तानी गरेका थिए ।

यस अवधिमा मोबाईल बैंकिङमार्फत भएको भुक्तानीको समय पनि बढेको छ । राष्ट्र बैंकका अनुसार गत आवको साउनको तुलनामा चालु आवको साउन महिनामा मोबाईल बैंकिङबाट हुने भुक्तानी ६९ लाख १८ हजार पटकले बढेको छ । गत आवमा यस्तो भुक्तानी १ करोड ३१ लाख पटक भएकामा यसपल्ट भने बढेर २ करोड पटक पुगेको हो ।

नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेटमार्फत नै बैंकिङ सेवा प्रदान गर्नेगरी इन्टरनेट बैंकिङ सेवाको सुरुवात गरेका थिए । त्यसपश्चात ग्रामिण भेगसम्म मोबाईलमै एप्लिेकेसनमार्फत बैंकिङ सेवा उपलब्ध गराउन मोबाईल बैंकिङको सुरुवात भयो । जसका कारण हाल इन्टरनेट बैंकिङको तुलनामा मोबाइल बैंकिङको प्रयोग बढ्दो छ ।

राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म नेपालमा मोबाइल बैंकिङका प्रयोगकर्ता १ करोड ८६ लाख ४३ हजार बढी छन् भने इन्टरनेट बैंकिङका प्रयोगकर्ता १७ लाख ६ हजार ८ सय जना छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL