Logo

टेलिकम कम्पनीहरु न्यूनतम गुणस्तर कायम गर्न पनि असफल, काठमाडौंमै अवस्था नाजुक

टेलिकम कम्पनीहरु न्यूनतम गुणस्तर कायम गर्न पनि असफल, काठमाडौंमै अवस्था नाजुक



काठमाडौं । नेपालमा दूरसंचार सेवाप्रदायक कम्पनीहरुले सेवाको न्यूनतम गुणस्तर पनि नपुर्याएको पाईएको छ । नियामक निकाय नेपाल दूरसंचार प्राधिरकणले गरेको एक अध्ययनमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले नै न्यूनतम गुणस्तर नपुर्याएको पाईएको हो ।

प्राधिकरणले गत असार १२ गतेदेखि २२ गतेसम्म गरेको ड्राईभ टेष्टमा टेलिकम कम्पनीहरुले केहि सेवाको गुणस्तर पुर्याएपनि केहि क्षेत्रमा भने गुणस्तरै नपुर्याएको पाएएको हो । जसअनुसार कल सेट अप सफल हुने दरमा नेपाल टेलिकम र स्मार्ट टेलिकम पछाडि छन् । यसमा एनसेलले प्राधिकरणले तोकेको भन्दा बढी अंक ल्याउन सफल भएको छ ।

अर्थात प्राधिकरणका अनुसार टेलिकम कम्पनीको कल सेट अप सफल हुने दरको कुल अंक ९९.९९ प्रतिशत हुनुपर्छ । तर, यस्तो दर नेपाल टेलिकमको ९५.७१ प्रतिशत र स्मार्ट टेलिकमको ९४.५२ प्रतिशत हुँदा एनसेलको १०० प्रतिशत छ । यस्तै कल सेट अप हुन लाग्ने समयमा भने तीनवटै सेवाप्रदायकको प्राधिकरणले तोकेको भन्दा न्यून गुणस्तरमा रहेको पाईएको छ । प्राधिकरणले कल सेट अप हुन लाग्ने समय अधिकतम ५ सेकेन्ड तोकेको भएपनि नेपाल टेलिकमको कल सेट अप हुन लाग्ने समय ७.२७ सेकेन्ड, एनसेलको ५.१३ र स्मार्ट टेलिकमको ९.३ सेकेन्ड रहेको छ ।

यसैगरि कल ब्लक हुने दर बढीमा २ प्रतिशत वा त्यो भन्दा कम भएमा मात्रै गुणस्तरीय मानिने प्राधिकरणको मापन छ । तर यो क्राइटएरिया पनि एनसेलले मात्रै पुर्याएको छ । परिक्षण गरिएको स्थानमा कल ब्लक हुने दर एनसेलको शुन्य प्रतिशत छ । तर, नेपाल टेलिकम र स्मार्टसेलको भने क्रमशः यस्तो दर ४.२९ र ५.४८ प्रतिशत छ ।

तर, कल ड्रप रेटमा भने सबै सेवाप्रदायकले गुणस्तर पुर्याएको प्राधिकरणले जानकारी दिएको छ । यसको दर २ प्रतिशत भन्दा तल हुनुपर्ने प्राधिकरणको मापन छ । तर, नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको यस्तो दर शुन्य छ ।

प्राधिकरणले करिव १० दिनसम्म काठमाडौंका टंगाल, हाँडीगाउँ, सानो गौचरण, बोद्ध, चावहिल, गौरीघाटलगायतका क्षेत्रसँग जोडिएका मार्गहरुमा उक्त ड्राईभ टेष्ट गरेको थियो । यस्तो सर्भेमा चलायमान सवारीसाधनमा जडान गरिएको उपकरणद्वारा लगातार फोन कल गरेर वा डाटा प्रयोग गरेर तथ्यांक संकलन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL