Logo

डिजिटल पेमेन्टमा पोख्त बन्दै नेपाली : ४ महिनामा अनलाईनबाटै पौने २ अर्बको सामान खरिद, सवा २२ अर्बको क्युआर पेमेन्ट

डिजिटल पेमेन्टमा पोख्त बन्दै नेपाली : ४ महिनामा अनलाईनबाटै पौने २ अर्बको सामान खरिद, सवा २२ अर्बको क्युआर पेमेन्ट



काठकाडौं । चालु आर्थिक बर्षको ४ महिना अर्थात गत साउनदेखि कात्तिक मसान्तसम्म अनलाईनमार्फत बस्तु खरिदमा मात्रै १ अर्ब ७३ करोड रुपैयाँ बढिको भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ४ महिनामै नेपालीले अनलाईनमार्फत २ लाख ८७ हजार २६३ पटक १ अर्ब ७३ करोड ९० लाख रुपैयाँ बराबरको वस्तु खरिद गरेका हुन् ।

laxmi

पछिल्लो समय नेपालमा बढ्दै गएका इकमर्श कम्पनी र डिजिटल भुक्तानीको ट्रेन्डलाई यसका प्रयोगकर्ताले पनि पछ्याउन थालेको देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत साउन महिनामा नेपालीहरुले ३८ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु अनलाईनमार्फत खरिद गरेका थिए । यस्तै त्यसको पछिल्लो महिना भदौमा ४५ करोड ४० लाख, असोजमा ४५ करोड ५० लाख रुपैयाँ बराबरको वस्तु अनलाईनमार्फत खरिद गरिएको देखिन्छ ।

यस्तै कात्तिक महिनाभरी भने नेपालीले ७६ हजार ८ सय ८७ पटक ४४ करोड ३० लाख रुपैयाँ बराबरको वस्तु अनलाईनमार्फत खरिद गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल नेपालमा संचालित मोबाईल वालेटहरुमार्फत सजिलै वस्तु खरिद गर्न सकिने सुविधाको भरपुर प्रयोग नेपालीले गरेको तथ्यांकले देखाएको छ । नेपालमा दराज, ग्यापु, सस्तोडिल, स्मार्टडोकोलगायतका कम्पनीहरुले अनलाईनमार्फत वस्तु विक्री गर्नेगरेका छन् ।

यस्तै पछिल्लो ४ महिनामा क्युआर कोडमार्फत हुने भुक्तानी पनि उच्च रहेको देखिन्छ । नेपालीले वस्तु तथा सेवा खरिद गर्दा प्राय क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्ने प्रणालीको सुरुवात भएसँगै यसको प्रयोग पनि बढिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

तथ्यांक अनुसार चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा नेपालीहरुले विभिन्न वस्तु तथा सेवा खरिदमा क्युआर कोडको प्रयोग गरी २२ अर्ब ३७ करोड २० लाख रुपैयाँ भुक्तानी गरेका छन् । ४ महिनाको तथ्यांक हेर्नेहो भने क्युआर कोडमार्फत गरिने भुक्तानी कात्तिक महिनाबाहेकका महिनाहरुमा बढिरहेको देखिन्छ ।

गत साउन महिनामा क्युआर कोडमार्फत ५ अर्ब ५ करोड ६० लाख रुपैयाँ भुक्तानी भएकामा त्यसको पछिल्लो महिना भदौमा ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरकोप भएको थियो । क्युआरमार्फत हुने भुक्तानीको परिमाण बढिरहँदा असोज महिनामा ६ अर्ब ९ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । तर, कात्तिक महिनामा भने यस्तो भुक्तानी घटेर ५ अर्ब ३६ करोड रुपैयाँमा सिमित भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यता पछिल्लो ४ महिनामा इन्टरनेट बैंकिङमार्फत ५३ अर्ब ८५ करोड र मोबाइल बैंकिङमार्फत ३ खर्ब १३ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । यस्तै विभिन्न वालेटहरुमार्फत पनि उक्त अवधिमा ५७ अर्ब ६१ करोड र एटिएम कार्डमार्फत २ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । यसरी दिनप्रतिदिन बढ्दै गएको प्रविधिको प्रयोगले अनलाइनमार्फत हुने भुक्तानीलाई प्रश्रय दिँदा यसको सिमा बढिरहेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL