Logo

सुनको मूल्यमा गिरावटसँगै बजारमा बढ्यो सुन अभाव, आयात कोटा बढाउन व्यवसायीको माग

सुनको मूल्यमा गिरावटसँगै बजारमा बढ्यो सुन अभाव, आयात कोटा बढाउन व्यवसायीको माग



काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा लगातार गिरावट आउँदा बजारमा सुनको अभाव हुन थालेको छ । कोरोना कहरकैबीच अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि हुँदा नेपालमा पनि सोही अनुसार मूल्य बढ्यो । विश्वभर फैलिएको कोरोना कहरका कारण खानीमा कामदारहरु जान नसक्दा सुनको मूल्य वृद्धि भएपछि नेपालमा प्रतितोला १ लाख ३ हजार ५ सयसम्म मूल्य पुग्यो । तर त्यसको केही समयपश्चात अर्थात साउन महिनाको अन्तिम र भदौको पहिलो सातामा आईपुग्दा यसको मूल्यमा भारी गिरावट आउन थाल्यो ।

विश्वका विभिन्न विश्वविद्यालयहरु तथा अनुसन्धान केन्द्रहरुले कोरोना विरुद्धको खोप निर्माण गरेका समाचारहर आईरहँदा यसको मूल्य विश्वबजारमै घट्दो छ । नेपालकै कुरा गर्दा पछिल्लो १ महिनामा मात्रै सुनको मूल्य करिव ७ हजार बढीले घटिसकेको छ ।

बजारमा सुनको मूल्यमा गिरावट आएपनि व्यापार भने बढेको छैन । मूल्यमा गिरावट आउँदा पनि व्यापार भने साविकको जस्तै छ । हाल लगनको सिजन भएकाले व्यापार त्यति नराम्रो नभएपनि सुनको भने अभावजस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनार बतउँछन् ।

हाल प्रतिदिन १० किलो सुन मात्रै आयात गर्न पाउने व्यवस्थाका कारण सुनको मागअनुसार आपुर्ति नभएको उनको भनाई छ । ‘हाल सुनको माग प्रदिदिन १५ केजी भन्दा बढी भएपनि व्यवसायीसँग सुनको कमी छ,’ उनले भने, ‘तर बजारमा सुनको कमी हुन नदिन आयातको कोटा बढाएर पहिलेकै अवस्थामा ल्याईनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

हाल बजारमा १० किलो भन्दा बढी सुनको माग आए बजारले धान्न नसक्ने अर्थात पुर्याउन नसकिने अवस्था सिर्जना भएको उनले जानकारी दिए । विश्वलगायत नेपालमा अझै सुनको मूल्य घट्ने अनुमान गरिएको छ । सोहीअनुसार मूल्य घटेपनि बजारमा सुनको अभाव कायमै रहँदा व्यवसायमा ठुलो असर पर्ने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

सरकारले गत चैतमा प्रतिदिन २० किलो सुन आयात गर्न पाउने व्यवस्थालाई परिमार्जित गरी प्रतिदिन १० केजी मात्रै आयात गर्न पाईने व्यवस्था गरेको थियो । कोरोना कहरका कारण नेपाली अर्थतन्त्रमा चाप परेको गत बर्ष भन्दै चैत १६ गते सुनको कोटा कटौति गरेको थियो ।

मंगलबार भने नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ । सोमबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भईरहेको सुन मंगलबार बढ्दै प्रतितोला ९० हजार ५ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले उकालो लाग्दै १ हजार १ सय ५५ रुपैयाँ प्रतितोला पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL