Logo

व्यवसायी भन्छन्, ‘राजनीतिक पार्टीले चन्दा चाहिदा व्यवसायी सम्झन्छन्, सरकार बन्दा वास्ता गर्दैनन्’

व्यवसायी भन्छन्, ‘राजनीतिक पार्टीले चन्दा चाहिदा व्यवसायी सम्झन्छन्, सरकार बन्दा वास्ता गर्दैनन्’



काठमाडौं । डलर अर्बपति एवंं उद्योगपती विनोद चौधरीले राजनीतिक पार्टीले उद्योगी व्यवसायीलाई चन्दाका लागि मात्रै प्रयोग गर्दैै आएको बताए । नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागका सभापति चिनकाजी श्रेष्ठको अध्यक्षतामा आयोजित कोरोनाका कारण उद्योगी व्यवसायीहरुमा परेको समस्या र सरकारले लिनुपर्ने नीति तथा कार्यक्रका विषयमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘हरेक पटक आर्थिक समस्या आईपर्दा राजनीतिक पार्टी र तिनका नेता उद्योगी व्यवसायीको ढाको ढक्कढ्याउन आईपुग्छन्,’ चौधरीले भने, ‘विभिन्न सहयोग गरेर सरकारमा पुर्यायो अनि सरकारले बन्ने समयमा वेवास्ता गर्छन ।’

laxmi

साथै उद्योग व्यवसाय संचालनका लागि सहज वातावरण बनाईदिन सरकारलाई आग्रह गर्न जाँदा पनि नयाँ सिराबाट पुनः सम्बन्ध स्थापित गर्नुपर्ने बाध्यता रहेको उनको दावी थियो । यदि उद्योगी व्यवसायीले सधै राजनीतिक पार्टीसँग नयाँ सिराबाट सम्बन्ध स्थापित गर्नुपर्ने हो भने देशमा उद्योग व्यवसया फस्टाउन नसकिने उनको तर्क थियो ।

अहिले पनि निजी क्षत्रेले बन्द रहेको उद्योगको विजुली, कर, नविकरणलगायतका शुल्क तिर्नु परेको भन्दै यस विषयमा ध्यान दिनुपर्ने बताए । नेपाली कांग्रेसले आफुलाई गरिखानेको पार्टीको रुपमा उभ्याउनु पर्ने भन्दै नेपालीलाई स्वाभिमानको जीवन विताउन सिकाउनु पर्ने बताए । कांग्रेसले जनतालाई ठगी खान र मागी खानका लागि नभई आधुनिक प्रविधिको युगमा नयाँ नयाँ आविस्कारमा लगाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष सतिष मोरले लकडाउनका कारण हाल उद्योग व्यवसाय धराशायी अवस्थामा पुगिसकेको भन्दै अबका दिनमा यसलाई अवसरको रुपमा उपयोग गर्नुपर्ने बताए । ‘अबका दिनमा सरकार तथा राजनीतिक पार्टीहरुले उद्योगी व्यवसायीमाझ विश्वासको वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘नेपाली उद्योगी व्यवसायीलाई अबका दिनमा पूर्वाधार निर्माणमा अवसर दिनका लागि ग्लोवल टेण्डरको सिमा १ अर्ब रुपैयाँबाट बढाएर ३ अर्ब रुपैयाँ पुर्याउनु पर्छ ।’

यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले हाल बैंक ब्याजदर उच्च रहेको र उद्योग व्यवसाय बचाउनका लागि सरकारले उयुक्त कदम चाल्नुपर्ने बताए । हाल बंगलादेश लगायतका मुलुकले निर्यात प्रोत्साहनका लागि ठूलो स्टीमुलस प्याकेज ल्याएको भन्दै नेपाल सरकारले पनि सोही अनुरुपमा प्याकेजहरु ल्याउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले हाल सरकारले ल्याएको पुनर्कर्जालाई राम्रोसँग कार्यान्वयनमा ल्याउनुपर्ने बताए । लामो समयसम्म लकडाउनका कारण उद्योग व्यवसाय पूर्ण रुपमा बन्द हुँदा त्यसले उद्योगी व्यवसायीलाई ठूलो असर पुर्याएको भन्दै यस विषयमा सरकारकातर्फबाट सम्बोधन हुनुपर्ने बताए ।

यस्तो अवस्थामा सरकारले ३ दिनको समय दिएर उद्योगी व्यवसायीलाई भदौ २५ गतेभित्र कर तिर्न निर्देशन दिनु एकदमै गलत र निरंकुश शैली भएको नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागका सभापति चिनकाजी श्रेष्ठले बताए । ‘निषेधाज्ञा लागु गरेर उद्योग व्यवसायी बन्द गर्न उर्दी जारी गरेर जनतलाई घरभित्रै थुन्ने अनि आफुले उठाउनु पर्ने कर राजस्व चाहिँ समयमै तिर भन्नु कत्तिको जायज हो ?’ उनले भने, ‘नेपाली कांग्रेस सधै जनता र उद्योगी व्यवसायीको पक्षमा छ त्यसैले हामीले सरकारले ३ दिनभित्रै कर राजस्व तिर्न उर्दी जारी गर्ने वित्तिकै विज्ञप्ती निकाले विरोध गरेका हौं ।’

सरकारले अहिले उद्योग व्यवसायीका लागि राहत तथा सहुलियतका प्याकेज दिनुपर्ने अवस्थामा अझै कठिन अवस्था सिर्जना गरेको उनको आरोप थियो । ‘जुन वेला लकडाउन गर्न पर्ने अवस्था थिएन त्यसवेला सरकारले लकडाउन गर्यो तर अहिले अवस्था विकराल हुँदै जाँदा खुला गरेर मानव स्वास्थ्य माथि खेलवाड गरेको छ,’ श्रेष्ठले भने, ‘सरकारको अब्यवहारिक नीतिका कारण देशको उद्योग धन्दा धराशायी हुनुका साथै सास्कृतिक विचलन आएको छ ।’

नपाली कांग्रेस उद्योग व्यवसाय संचालनका लागि समयसापेक्ष कार्यक्रम तथा नीति नियम निर्माणमा सधै अग्र पंतीमा रहेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने सभापति श्रेष्ठले जानकारी दिए ।

साथै कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, पूर्व अर्थमन्त्री एवं सभासद ज्ञानेन्द्र बहादूर कार्की, उद्योपती एवं सांसद उमेशलाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीलगायतका वक्ताहरुले उद्योगी व्यवसायीको समस्याको विषयमा अहिलेको सरकारले कुनै चासो नदिएको भन्दै अबका दिनमा नेपाली कांग्रेसले यस विषयमा सशक्त रुपमा आवाज उठाउनु पर्ने बताएका थिए । साथै २०४८ सालपछि तत्कालिन अर्थमन्त्री डा रामशरण महतको पालामा भएको निजीकरणका कारण हाल देशमा निजी क्षेत्रका साथै बहुराष्ट्रिय कम्पनीहरु नेपालमा आएको र त्यसलाई अहिलेको अवस्थामा पनि सरकारले कुनै संरक्षण एवं प्रवद्र्धन गर्न नसकेको उनीहरुको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL