Logo

के नेपाली अर्थतन्त्र कोल्याप्स हुँदैछ ?, व्यवसायी भन्छन्, ‘गर या मर भैसक्यो’

के नेपाली अर्थतन्त्र कोल्याप्स हुँदैछ ?, व्यवसायी भन्छन्, ‘गर या मर भैसक्यो’



काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रण्का लागि भन्दै दोश्रोे चरणको लकडाउन/निषेधाज्ञा सुरु गरेसँगै उद्योग व्यवसायका साथै देशको अर्थतन्त्रनै कोल्याप्स हुने अवस्थामा पुगेको उद्योगी व्यवसायीले बताएका छन् । सरकारले कोरोनाको नाममा लकडानउ वा निषेधाज्ञा गरेर जनतालाई घरभित्र मात्रै थुनिरहँदा हरेक क्षेत्र प्यारालाईज बन्न पुगेको व्यवसायीहरुको तर्क छ ।

laxmi

अन्य देशको अभ्यास अनुसार पनि कोरोनाबाट सुरक्षित रहँदै अर्थतन्त्रलाई चलायमान बनाउन सोहीअनुरुप उद्योग व्यवसाय संचालन गनुपर्नेमा नेपाल सरकारले भने लकडाउनलाई मात्र प्राथमिकता दिएर उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्ने काम गरेको व्यवसायीहरुको गुनासो रहेको छ । यदि सरकारले कोरोना भाईरसको त्रास देखाएर निषेधाज्ञा मात्रै लागू गर्दै जाने हो भने नेपालको अर्थतन्त्र लयमै फर्कन नसक्नेगरी मन्दीमा जानेसमेत उनीहरुले चेतावनी दिएका छन् ।

सरकारले लकडाउनलाई अहिलेकै अबस्थालाई ३/४ महिना लम्ब्याएमा भोकमरी तथा चोरी लुटपाट बढ्ने नेपाल उद्योग वाणिज्य महासंघका नविर्तमान अध्यक्ष पशुपति मुरारकाले बताए । ‘विश्वभर कोरोना महामारीको प्रकोप फैलिएको छ यस्तो अवस्थामा पक्कै पनि स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘कोरोनाको संक्रमण कहिले सम्म जाने हो थाहा छैन के अब सोही अबधिसम्म सम्म लकडाउन नै गरेर बस्ने ।’

अबका दिनमा स्वाथ्य सम्बन्धी मापदण्ड बनाएर उद्योग व्यवसाय संचालन गर्नुपर्ने मुरारकाले बताए । लकडाउनका कारण एक क्वार्टरमै भारतको अर्थमन्त्रमा २४ प्रतिशतको गिरावट आएको जानकारी दिँदै यदि नेपालले बेलैमै स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर उद्योग व्यवसाय संचालनतर्फ ध्यान नदिने हो भने निकट भविश्यमै अर्थतन्त्रमा ठूलो समस्या आईपर्ने उनले बताए ।

अहिले सरकारले जुन उपाय अपनाएर लकडाउन तथा निषेधाज्ञा गर्दै आएको छ यसले उद्योग व्यवसायका साथै अर्थतन्त्रनै धराशायी बनाउन काम गरेको नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बताए । ‘हामीसँग अहिले दुईओटा चुनौती तथा अवसर छन्,’ उनले भने, ‘अबका दिनमा एक हातले मानव स्वास्थ्यलाई ध्यान दिँदै अभिमुखिकरणका कार्यक्रम संचालन गर्दै कोरोनाबाट आफु र समाजलाई बचाउनु छ भने अर्को हातले विभिन्न सुरक्षा मापदण्ड अपनाएर भएपनि उद्योग व्यवसाय संचालन गर्दै समग्र अर्थतन्त्र जोगाउनु पर्ने बाध्यता छ ।’ लकडाउन तथा निषेधाज्ञा नै कोरोना रोकथामको अचुक उपाय नभएको भन्दै अबका दिनमा मानवको सामान्य आवश्यकता परिपूर्ति गर्दै अर्थतन्त्र जोगाउन उद्योग व्यवसाय संचालन गर्नुको विकल्प नरहेको उनको भनाई छ ।

यस्तो अवस्थामा कन्ट्रयाक ट्रेसिङ गरेर पीसीआर चेकजाँचलाई बढाउनुको विकल्प नरहेको उनले बताए । ‘निषेधाज्ञा गर्नु भनेको स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्था गर्नका लागि हो तर अहिले सरकारले जनतालाई घरभित्रै थुनेर सुतेर बसेको छ,’ उनले भने, ‘अहिले देशको कुल ग्राह्स्थ्य उत्पादनसँग तुलना गर्ने हो भने हामीले निषेधाज्ञाको समयमा दैनिक रुपमा ७ देखि ८ अर्ब रुपैयाँ गुमाउँदै आएका छौं, यसरी कतिदिनसम्म चल्न सक्छौं ?’

अबका दिनमा मानव स्वास्थ्यको सुरक्षा र उद्योग व्यवसाय संचालनलाई सँगसँगै अघि नबढाए देशको अर्थतन्त्र ठूलो जोखिममा पर्ने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘अहिले धेरै मुलुकको अभ्यासबाट प्रमाणित भैसक्यो कि लकडाउन नै कोरोना संक्रमण फैलनबाट रोक्न उपाय होइन,’ उनले भने, ‘नेपालले पनि कोरोनालाई देखाएर लकडाउन र निषेधाज्ञा थप गर्दै जाने हो भने कोरोनाको असरभन्दा लकडाउनका कारण उद्योग व्यवसाय नचल्दा अर्थतन्त्र कोल्याप्स हुनसक्ने खतरा बढी छ ।’

कोरोना संक्रमण भन्दा पनि लकडाउनका कारण लामो समयदेखि उद्योग व्यवसाय बन्द हुँदा घरेलु, साना तथा मझौला उद्योग व्यवसाय पलायन हुने अवस्थामा पुगेको उनले जानकारी दिए । ‘अहिले स्वरोजगार उद्यमी तथा दैनिक ज्यालादारी श्रमिकहरु खानै नपाउने अवस्थामा पुगिसकेका छन्,’ उनले भने, ‘अब हामीले पनि स्वास्थ्य प्रोटोकल अपनाएर उद्योग व्यवसाय सचालन नगर्ने हो भने विकराल अवस्थामा आउने छ ।’ मानिसहरु अबका दिनमा रोगलेभन्दा पनि भोकले पर्ने अवस्था आइसकेको बताउँदै लामो समय लकडाउन गरेर अर्थतन्त्रलाई स्थिर राख्न नुहने उनको तर्क थियो ।

लामो समयसम्म जारी लकडाउन तथा निषेधाज्ञाका कारण उद्योग व्यवसाय ठप्प भएर अर्थतन्त्र मन्दीमा जानुका साथै सोहीअनुरुप ठूलो संख्यामा बेरोजगारी बढेको नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले बताए । ‘अहिले सरकारले कोरोनालाई देखाएर जुन विधिअनुरुप लकडाउन तथा निषेधाज्ञा जारी राखेको छ त्यो एकदमै गलत छ,’ उनले भने, ‘यदि अबका दिनमा उद्योग व्यवसाय बचाएर अर्थतन्त्र जोगाउने हो भने सरकारले सुरक्षा मापदण्ड अपनाएर उद्योग व्यवसाय गर्ने वातावरण बनाईदिनु पर्छ ।’

यदि अझै निषेधाज्ञालाई जारी राख्दै उद्योग व्यवसाय संचालन गर्ने हो भने माग र आपूर्तिको चक्र विग्रनुका साथै अहिलेको माग नै लयमा नआउने खतरा बढेको उनले जानकारी दिए । ‘लामो समयको लकडाउनको कारण अर्थतन्त्रका सबै चक्र बिग्रनुका साथै उपभोक्ताको क्रयशक्तिमा ठूलो ह्रास आएका कारण अबका दिनमा बजारमा माग नै नहुने अवस्था देखिएको छ,’ उनले भने, ‘माग र आपूर्तिको चक्र विग्रदा उद्योग व्यवसायलाई असर पार्छ नै यसले समग्र अर्थतन्त्रलाई नै थला पार्ने छ ।’

सरकारको जसरी पनि कर राजस्व उठाउने तर उद्योग व्यवसाय संचालन गर्न नदिने नीतिका कारण अबका दिनमा व्यवसायीहरु गर या मरको अवस्थामा पुगेको उनको तर्क थियो । ‘सरकारले एकातर्फ उद्योग व्यवसाय पूर्ण रुपमा बन्द गर भनेको छ अर्कोतर्फ भ्याट तथा अग्रिम कर जसरी पनि समयमै तिर भनेर सूचना जारी गरिरहेको छ, उनले भने, ‘सरकारी दोधारे नीतिका कारण व्यवसायीहरुलाई अझै बढी पीडा भएको छ ।’

यसैगरी नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल पनि स्वास्थ्य पूर्वाधार बढाएर उद्योग व्यवसाय संचालन गर्दै अर्थतन्त्र चलायनमान बनाउनुको विकल्प नरहेको बताउँछन् । ‘हामी भोक र रोग दुबैबाट जोगिनु जरुरी छ,’ उनले भने, ‘रोगलाई देखाएर उद्योग व्यवसाय बन्द मात्रै गरिराख्ने हो भने चाडैनै अर्थतन्त्र कोल्याप्स हुनेछ ।’

लामो समयको लकडाउन तथा निषेधाज्ञाका कारण बैंकको रिकभरीमा ठूलो असर परेको जानकारी दिँदै यसले समग्र अर्थतन्त्रमा नकारात्मक असर पुर्याउनको उनको भनाइ थियो । ‘उद्योग व्यवसाय नचल्दा बैंकको कर्जा असुलीमा असर परेर बैंक कोल्याप्स हुन सक्छ,’ उनले भने, ‘यदि बैंक समस्यामा पर्नु भनेको सम्पूर्ण नेपालीको पैसामा जोखिममा पर्नु हो ।’ यदि भोलिका दिनमा बैंक समस्यामा परेमा यसबाट कोही पनि उम्कन नसक्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
MBL