Logo

आज लकडाउनको ७० औं दिन : लकडाउनको मोडालिटीबारे सरकारले स्पष्ट नपार्दा थप अन्यौल, जनतामा उकुसमुकुस

आज लकडाउनको ७० औं दिन : लकडाउनको मोडालिटीबारे सरकारले स्पष्ट नपार्दा थप अन्यौल, जनतामा उकुसमुकुस



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को आज ७० औं दिन हो । अहिले सरकारले जारी गरेको सातौं चरणको लकडाउन चलिरहेकोे छ ।

सरकारले आगामी जेठ २० सम्मका लागि सातौ चरणको लकडाउन लागू गरेकोमा शनिबारमात्र जेठ ३२ सम्म थप १२ दिन लकडाउन लम्ब्याउने घोषणा गरेको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो ।

यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो । सरकारले अहिले आठौं चरणमा जेठ ३२ सम्म लकडाउन गर्ने घोषणा गर्दै अन्तरराष्ट्रिय सीमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ ।

सरकारका प्रवक्ता अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार सीमा क्षेत्रमा आवागमन स्थगन गर्दै गर्दा त्यहाँबाट आउने जाने कुरालाई अलि कडाइ गरिने र सीमा वारिपारि गर्ने विषयमा विश्व स्वास्थ्य संगठनको मापदण्डनुसार जाँच गरेर मात्रै लाने वा लैजाने कुरा पालना गर्न गराउनका लागि छिमेकी मुलुकसँग सहकार्य गर्ने निर्णय भएको छ । बन्दाबन्दी अवधिमा यसको ढाँचाबारे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने मन्त्री डा खतिवडाको भनाइ छ ।

तर, सरकारले २१ गतेदेखि हुने लकडाउनको मोडालिटीबारे सरकारले स्पष्ट नपार्दा थप अन्यौलता बढेको छ । विभिन्न सञ्चारमाध्यममा प्रेषित फरक–फरक समाचारका कारण पनि जनतामा उकुसमुकुस पैदा भएको छ । सरकारले उच्चस्तरीय समितिको सिफारिसका आधारमा लकडाउनको मोडालिटी तय गर्ने भनेसँगै लकडाउन खुकुलो होला कि थप कडा होला भन्नेमा धेरैको जिज्ञासा रहेको छ । छिमेकी भारतले लकडाउन कायम राखेपनि आजदेखि धेरै क्षेत्र र व्यवसायमा लकडाृन खुकुलो बनाएको छ र जनजीवन सहज बनाउने प्रयास गरेको छ । यस्तोमा नेपालले संक्रमणको गति तीब्र भएका बेला अब कसरी लकडाउन ह्याण्डल गर्छ चन्नेमा धेरैको चासो रहेको छ ।

सरकारले भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई ल्याउने निर्णय गरिसकेको छ भने भारतबाट आउनेका लागि २० वटा नाका तोकेको छ । ती स्थान र संक्रमण बढेको क्षेत्रमा सेना परिचालित हुनेछ । बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजनासमेत स्वीकृत गरेको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा ८ जनाको मृत्युसमेत भएपछि सरकार थप सतर्क बनेको छ । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने व्यवस्था गरिएको छ । यस्तै सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने गरि कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटीमा लकडाउन गरिरहेको छ । तर, आगामी जेठ २१ पछि कुन मोडालिटीमा लकडाउन गर्ने भन्नेबारे उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन निर्णय गर्ने भनिएको छ ।

७०औं दिनसम्म आइपुग्दा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ । करीब १० हप्तायता घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ । यसैक्रममा जारी लकडाउन थप गर्ने सरकारको निर्णयसँगै सर्वसाधारण लकडाउन कहिलेसम्म चल्ने हो भन्ने चिन्तामा देखिएका छन् । सरकारले उद्योगधन्दा सञ्चालन गर्नका लागि लकडाउन खुकुलो बनाउन लागिएको बताएपनि उद्योगी व्यवसायी मजदूर, कच्चापदार्थ तथा बजारका कारण दबाबमा रहेका छन् ।

तर, अहिलेसम्म सरकारले लकडाउन कहिलेसम्म यहि मोडालिटीमा चलिरहने हो र आगामी दिनमा कसरी अगाडि बढने योजना छ भन्ने जानकारी नगराएकाले पनि सबैमा लकडाउनबबारे अन्यौलता देखिएको छ । यस्तै धेरै संक्रमित थपिएसँगै थप त्रास र चिन्ता बढेको छ । अर्कोतर्फ संक्रमितको संख्या बढेर चार अंकमा पुगेको छ ।

पछिल्लो दिनमा संक्रमितको बढ्दो तीब्रताले आगामी जेठ ३२ पछि पनि लकडाउन खुल्ने आशा कमै रहेको जानकार बताउँछन् । जेठ २० पछि लकडाउन खुल्ने धेरैको अपेक्षा रहेपनि सरकारले संक्रमितको व्यवस्थापन र बिदेशबाट भित्रिएका नेपालीका लागि नै उपयुक्त व्यवस्था गर्न नसकेको अवस्थामा लकडाउन खोल्दा थप भयावह अवस्था आउने आँकलनसमेत गरेर सरकारले लकडाउन जारी राखेको सम्बन्धितहरुको भनाई छ ।

देशमा कोरोना भाइरसको संक्रमण निकै बढ्न थालेपनि लकडाउनले जनताको दैनिक जीवन नै संकटतर्फ उन्मुख भएको छ । कतिपय सर्वसाधारण दैनिक गुजाराको चिन्ताले छटपटिएका छन् । यस्तोमा लकडाउनमात्र सरकारले विकल्पका रुपमा लिएकोमा धेरैले आलोचना पनि गरिरहेका छन् । पछिल्लो समय आर्थिक विश्लेषकहरुले देशको अर्थतन्त्र बचाउन पनि लकडाउन खुकुलो बनाउँदै खोल्नुपर्ने बताए पनि स्वास्थ्य विज्ञहरुले भने लकडाउन हटाए थप भयावह अवस्था आउन सक्ने सुझाव दिइरहेका छन् ।

अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । बन्दाबन्दीका कारण बन्द रहेको आर्थिक गतिविधि सुचारु गर्ने भनिए पनि अहिलेसम्म उपयुक्त ढंगले सञ्चालनमा भने आउन सकेको छैन् । लामो लकडाउनका कारण सर्वसाधारणदेखि सबै वर्ग क्रमश समस्यामा पर्दै गएका छन् । सर्वसाधारणलाई दैनिक गुजाराको चिन्ता छ भने व्यवसायी, उद्योगी तथा अन्य क्षेत्रमा समेत बैंक ऋण, कर्मचारीको तलबजस्ता समस्या बढ्दै गएका छन् । यता सर्वसाधारण तथा व्यवसायीले सरकारले लकडाउनको उचित विकल्प नखोजेको, उपयुक्त राहत प्याकेज नल्याएको र आफ्नै पारामा अघि बढेको बताउँदै आएका छन् ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन ट्राफिक महाशाखाले आग्रह गरेको छ । ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ ।

पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL