Logo

काठमाडौं भ्यूटावरका ठेकेदार भेटवाल जेलमा, सम्झौता तोड्न नसक्ने अवस्थामा महानगर

काठमाडौं भ्यूटावरका ठेकेदार भेटवाल जेलमा, सम्झौता तोड्न नसक्ने अवस्थामा महानगर



काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा बन्न लागेको काठमाडौं भ्यूटावरका मुख्य ठेकेदार रहेका जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवाल यतिखेर प्रहरी हिरासतमा छन् । ठगीको मुद्दामा प्रहरीको खोजी सूचीमा रहेका भेटवालले मंगलबार आत्मसमर्पण गरेसँगै काठमाडौं भ्यूटावरको भविष्य के हुने हो भन्नेमा थप आशंका बढेको थियो । हुन त ठेक्का लिएर पनि उनले टावर निर्माणको काम भने खासै गरेका छैनन् ।

यस्तो अवस्थामा काठमाडौं भ्यूटावरको काम भने नरोकिने काठमाडौं महानगरले स्पष्ट पारेको छ । महानगरका सार्वजनिक नीजि साझेदारीका निर्देशक धुब्र थापाले भेटवालले आत्मसमपर्ण गरेको भएपनि टावर निर्माणमा असर नपर्ने जानकारी दिए । उनले भेटवाल प्रमुख ठेकेदार भए पनि सेयरहोल्डरमात्र भएको र भ्यूटावरको कारण उनले आत्मसमर्पण नगरेकाले काम रोक्न नमिल्ने बताए ।

भेटवालले मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकुमा पुगेर आत्मसमर्पण गरेका हुन् । भेटवालमाथि अहिले ७५ लाख १० हजार ठगी गरेको चन्द्रसिंह धामीले उजुरी गरेका छन् । यसअघि विस २०७५ बैशाखमा समेत उनलाई तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला काण्डको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको खोजी सूचीमा रहेका भेटवाल भागेर भारत पुगेका थिए । उनी मंगलबार बिहान भारतबाट आएर प्रहरी परिसर टेकुमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

अहिले काठमाडौं भ्यूटावरको जगको काम समेत पूरा गर्न सकेको छैन । भेटवालको कम्पनीले २०७३ मा ५ बर्षमा निर्माण सम्पन्न गर्ने गरि ठेक्का पाएको थियो । थापाका अनुसार अहिले उक्त टावरको जमिनमुनि गर्नु पर्ने सतहको समेत ढलान गरेको छैन । तर ५ बर्षको लागि सम्झौता भएकाले तत्काल ठेक्का रद्द समेत गर्न नसक्ने अवस्थामा महानगर रहेको छ । काम नगर्ने ठेकेदारलाई ठेक्का तोडी अर्को ठेकेदार नियुक्त गर्न सकिँदैन भन्ने प्रश्नमा थापाले भने, ‘५ बर्ष पुग्न अझै १ बर्ष बाँकी रहेको छ, हुन त यो १ बर्षमा काम होला भन्ने आस त छैन नै तर, पनि समयावधि पुरा नभएसम्म महानगरले केही गर्न सक्दैन ।’

‘अहिले कम्पनीले महानगरलाई बुझाउनु पर्ने रोयल्टी भने समयमै बुझाएको छ । तर कामको प्रकृति हेर्दा विश्वस्त हुने आधार भने छैन्’ थापाले भने ‘गर्छु, हुन्छ भनेर बोलेको भरमा केही हुनेवाला छैन । महानगरले पनि ठेकेदार कम्पनीलाई यस्तो किसिमको टेक्नोलोजी प्रयोग गर्नु भनेर भनेको छैन तर उच्च प्रविधि भित्र्याएर काम गर्ने हो भने १ बर्षमा केही संरचना भने तयार हुन सक्छ’, उनले भने ।

सुरुमा २९ तले बनाउने बताइए पनि २०७२ को भूकम्पपछि १२ तलेको मात्रै नक्सा स्वीकृत भएकाले सोही अनुरुप टावर निर्माण अघि बढाइएको थियो । उक्त १२ तले निर्माण सम्पन्न भए पछि मात्रै २९ तले बनाउने काठमाडौं महानगरपालिकाको योजना रहेको छ । २०७७ मा निर्माण सम्पन्न गर्नु पर्ने उक्त टावरको निर्माण लागत भने ४ अर्ब रुपैयाँ रहेको छ । तर निर्माणमा ढिलाई भएसँगै लागत बढेर ६ अर्ब रुपैयाँ पुग्ने महानगरको अनुमान रहेको छ ।

१२ तले उक्त टावरको ग्राउन्ड फ्लोरमा अरनिको बसको पार्किङ र माथि २ ओटा तलामा उपत्यकाका सार्वजनिक सवारी तथा हलुका गाडीहरुको पार्किङ रहनेछ । सो भवनमा व्यवस्थित सिनेमा हल, थिएटर, स्वीमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालय समेत रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL