Logo

स्मार्ट लाईसेन्स वितरणमा चरम लापरवाही : उपभोक्ता मारमा, कर्मचारी चलखेल र घुमघाममा

स्मार्ट लाईसेन्स वितरणमा चरम लापरवाही : उपभोक्ता मारमा, कर्मचारी चलखेल र घुमघाममा



काठमाडौं । स्मार्ट लाइसेन्स (सवारीचालक अनुमतिपत्र) वितरणमा पछिल्लो समय थप अन्यौल उत्पन्न भएको छ । यातायात व्यवस्था विभागको लापरवाही, कर्मचारी तथा उपकरण उपलब्ध गराउने कम्पनीको चलखेललगायतका कारणले लाइसेन्स वितरण अहिले थप अन्यौलमा परेको हो । जसका कारण लाखौं सर्वसाधारण लाइसेन्स परीक्षा पास गरेर पनि स्मार्ट लाइसेन्स कुरेर बसेका छन् । विभागका अनुसार अहिले करीब ८ लाख सवारीचालक परीक्षा पास गरेर लाइसेनस कुरिरहेका छन् ।

laxmi

विभागले विस २०७३ मंशिर २० देखि एशियाली विकास बैंक (एडिबी) को सहयोगमा स्मार्ट लाईसेन्सको दरखास्त लिएर सोही वर्ष पुस २० गतेदेखि स्मार्ट लाइसेन्स वितरण गर्न थालेको थियो । विभागले त्यसबेलादेखि हालसम्म देशभरको विभिन्न यातायात कार्यलयमा १० लाख मात्रै स्मार्ट लाईसेन्स छापेर पठाएको छ । सवारीसाधनको चाप दिनानुदिन थपिँदै जाँदा स्मार्ट लाईसेन्सको छपाईमा भने थप सुस्तता देखिएको छ ।

यो अवधिमा सवारीचालकलाई समयमै स्मार्ट लाइसेन्स उपलब्ध गराउने भन्दै मन्त्रालयदेखि यातायात कार्यालयहरुसम्म व्यापक चलखेल भएको देखिन्छ । मन्त्रालयमा मन्त्रीहरुको फेरबदलसँगै नयाँ चलखेल शुरु भइहाल्ने र कर्मचारी पनि सोही अनुसार चलखेलमा लाग्ने भएकाले स्मार्ट लाइसेन्स वितरणको योजना संकटमा परेको जानकार बताउँछन् । ‘अहिलेसम्म यो स्मार्ट लाइसेन्स छपाई र वितरणसम्बन्धी जानकारी, मेशिन सञ्चालनको तरिका सिक्न, मेशिन खरीद भन्दै दर्जनौ कर्मचारीले बिदेश भ्रमण गरिसके भने करोडौं रुपैयाँ सकिसक्यो । तर, थप समस्या देखिएको छ । सर्वसाधारण थप समस्यामा परेका छन् । यो पुरै चलखेल हो’, विभागका एक कर्मचारीले बिजखबरसँगको कुराकानीमा बताए ।

पछिल्लो समय विभागले स्मार्ट लाईसेन्स वितरणलाई तीव्रता दिन भारतबाट एकैदिनमा धेरै लाईसेन्स छाप्ने क्षमता भएको मास प्रिन्टर समेत ल्याएको छ । विभागमै भएका विभिन्न ६ ओटा साना प्रिन्टरले काम गर्न छोडेपछि गत बर्ष नै विभागले नयाँ मास प्रिन्टर ल्याउन ग्लोबल टेन्डर आह्वान गरेको थियो । विभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहालले यो बर्षको भदौमा उक्त प्रिन्टर भित्र्याएर वितरण गर्न बाँकी रहेका ६ देखि ७ लाख स्मार्ट लाईसेन्स सवारीचालकलाई वितरण गर्ने योजना बनाएका थिए । तर उनले भनेबमोजिम नै भदौमै उक्त मास प्रिन्टर नेपाल आईपुगेपनि भौतिक योजना मन्त्रीसँगको खटपटका कारण तत्कालिन महानिर्देशक दाहालको अन्तै सरुवा भयो ।

त्यसपछि विभागमा नयाँ महानिर्देशक गोगनबहादुर हमालले ईन्ट्री मारे । उनले पनि अघिल्ला महानिर्देशकले भनेझै ३ महिनामा सबै लाईसेन्स वितरण गरिसक्ने उद्घोष गरे । उनले उद्घोष गरेको र मास प्रिन्टर विभागमा पुगेको २ महिना वितिसक्दा पनि मास प्रिन्टर उपलब्ध गराउने कम्पनी मद्रास सेक्युरिटिजले १९ लाख रुपैयाँमा उपलब्ध गराएको उक्त प्रिन्टर संचालनमा ल्याउन सकेको छैन । सवारीचालकहरुले आवेदन दिएको बर्षौं वित्दा पनि विभागले लाईसेन्स छापेर वितरणका लागि यातायात कार्यालयमा पठाउन सकेको छैन ।

विभागले मास प्रिन्टर आएको केही दिनमै सवारीचालकहरुका लागि स्मार्ट लाईसेन्स वितरण गरिसक्ने बताएपनि प्रिन्टर ल्याएको ३ महिना वित्न लाग्दा लाईसेन्स छाप्ने कुनै निधो नभएको विभागकै एक उच्च अधिकारीले बताए । उनका अनुसार विभागको उच्च निकायले नै आफुहरुलाई भदौमै अबको १५ दिनमै लाईसेन्स छाप्छौ भनेपनि प्रिन्टर कहिलेदेखि सञ्चालनमा आउँछ भन्न नसकिने अवस्था रहेको उनले बताए ।

तर त्यसयता विभिन्न निकायका उपसचिवहरु नै मास प्रिन्टरका लागि भन्दै विदेश तालिम समेत लिएर आएका छन । विभागका कम्प्युटर ईन्जीनियर केशवराज गौतमका अनुसार विदेश तालिम लिन गएका ६ जनाले फेरी विभागकै कर्मचारीलाई तालिम दिनेछन । उक्त तालिमपश्चात उक्त मास प्रिन्टर विभागकै कर्मचारीहरुबाट संचालित हुनेछ । जुन हाल उक्त मास प्रिन्टर उपलब्ध गराउने कम्पनीकै ईन्जीनियरहरुले संचालनमा ल्याउन दिनरात खटिरहेका छन । मास प्रिन्टरमा हाल विभागको डाटा ट्रान्सफर गर्ने काम भईरहेकाले छपाईमा ढिलाई भईरहेको उनको भनाई छ ।

परीक्षणमै लामो समय वितिसकेकाले अबको केही दिनमा परीक्षणको काम सकाएर छपाईएको काम अघि बढाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । यस्तै विभागले सोही कामको लागि भन्दै ८ देखि ९ करोडमा अर्काे नयाँ मास प्रिन्टर समेत भित्र्याउने योजना बनाएको छ । चालु आर्थिक बर्षको बजेटमार्फत मास प्रिन्टर ल्याउनकै लागि बजेट विनियोजन गरेअनुसार नयाँ मास प्रिन्टर ल्याउन लागिएको महानिर्देशक हमालले बिजखबरलाई जानकारी दिए ।

उनका अनुसार उक्त मास प्रिन्टर ल्याउनका लागि विभागले केही दिनमै टेन्डर आह्वान गर्नेछ । विभागमा हाल वितरण गर्न बाँकी ७ देखि ८ लाख सवारीचालकका लाईसेन्स प्रिन्ट गर्न बाँकी छ । विभागमा भित्र्याईएको मास प्रिन्टर लामो समयसम्म पनि संचालमा नआउँदा र नयाँ मेशिन खरिद गर्ने कुरा चलिरहँदा लाईसेन्स लिन बाँकी सवारीचालकले कहिले लाईसेन्स पाउने हुन भन्ने अनिश्चित बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL