काठमाडौं । नेपालका जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा मासिक औसत १० अर्बभन्दा बढी नवीकरण बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब १९ अर्ब ९६ करोड ७ लाख रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेका हुन् । यसरी हेर्दा हरेक महिना बीमा कम्पनीहरुले १० अर्ब १२ करोड रुपैयाँमाथि बीमाशुल्क आर्जन गरेको देखिन्छ ।
यो शुल्क गत आर्थिक बर्षको तुलनामा १३ दशमलव ११ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिसम्म नवीकरण बीमाशुल्क १ खर्ब ६ अर्ब ५ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
उक्त अवधिमा सबैभन्दा धेरै नवीकरण बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ रहेको छ । नेपाल लाइफले ३२ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलव ८९ प्रतिशत बढी हो । दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ, जसले १४ अर्ब ८३ करोड ९ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ । अघिल्लो वर्षको तुलनामा यसमा ७ दशमलव २७ प्रतिशत वृद्धि भएको हो। तेस्रो स्थानमा रहेको नेसनल लाइफले १३ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा १८ दशमलव ३६ प्रतिशतले वृद्धि गरेको छ ।
हिमालयन लाइफले पनि १२ अर्ब ९० करोड ७६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २ दशमलव ४६ प्रतिशतले बढी हो । त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ८९ करोड ९८ लाख, सूर्यज्योति लाइफले ६ अर्ब ८५ करोड ४६ लाख, एसियन लाइफले ६ अर्ब ७ करोड ४४ लाख, सिटिजन लाइफले ४ अर्ब ४० करोड १६ लाख, मेट लाइफले ४ अर्ब २८ करोड ६७ लाख र सानिमा रिलायन्स लाइफले ४ अर्ब १९ करोड २२ लाख रुपैयाँ नवीकरण शुल्क संकलन गरेका छन् । यी कम्पनीहरूको बीमाशुल्क अघिल्लो वर्षको तुलनामा क्रमशः ४४ दशमलव ८५, १४ दशमलव ३५, १० दशमलव ४२, १९ दशमलव ३०, ९ दशमलव १३ र १० दशमलव १८ प्रतिशतले बढेको हो ।
त्यस्तै आइएमई लाइफले ३ अर्ब १८ करोड ७४ लाख, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब १५ करोड ९ लाख, रिलायबल नेपाल लाइफले ३ अर्ब १ करोड ९२ लाख र सन नेपाल लाइफले २ अर्ब ३७ करोड २ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन् । यी कम्पनीहरूको वृद्धि दर क्रमशः १६ दशमलव ७६, ८ दशमलव ९०, २३ दशमलव ६८ र १४ दशमलव ५६ प्रतिशत रहेको छ ।