काठमाडौं । नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको मुख्य कारण बनेको विश्व बैंकले बताएको छ । वायू शुद्धीकरणका लागि एकै क्षेत्रको प्रयासले नपुग्ने भन्दै विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा बहुआयामिक नीति र लगानीमार्फत प्रभावकारी समाधान आवश्यक रहेको उल्लेख छ ।
‘सफा हावा नेपालमा : लाभ, स्रोत र समाधान’ शीर्षकको उक्त प्रतिवेदनले नेपाल र इन्डो–ग्याङ्गेटिक समथर क्षेत्र तथा हिमाली फेदीको साझा वायुपट्टिको अवस्थालाई आधार बनाएर मूल्यांकन गरिएको छ ।
प्रतिवेदन अनुसार काठमाडौं उपत्यका र तराई नेपालका प्रमुख वायु प्रदूषण केन्द्र हुन् जहाँ पछिल्लो दशकमा खासै सुधार आएको छैन । हालको वायु प्रदूषणका कारण एक नेपालीको औसत आयु ३.४ वर्षले घटिरहेको छ भने वार्षिक करिब २६ हजार जनाको असामयिक मृत्यु हुने गरेको छ । वायू प्रदूषणले मानव स्वास्थ्यसँगै श्रम उत्पादकता, पर्यटन र हवाई उड्डयन क्षेत्रलाई समेत प्रतिकूल असर पुर्याइरहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तो प्रदूषणका कारण नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ६ प्रतिशतभन्दा बढी बराबरको आर्थिक क्षति भइरहेको प्रतिवेदनमा उल्लेख छ । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले भने, ‘सफा हावा र आर्थिक वृद्धि परस्पर विरोधी होइनन् । प्रदूषण नियन्त्रणमा अहिले नै ठूला र साहसी कदम चाल्नुको लागत दीर्घकालीन बेवास्तिको तुलनामा निकै कम छ ।’
प्रतिवेदनमा वायु प्रदूषण न्यूनीकरणका लागि विद्युतीय सवारी विस्तार, नियमित सवारी निरीक्षण र सडक धुलो नियन्त्रण, उद्योगहरूमा सफा इन्धन तथा प्रविधिको प्रयोग, घरायसी खाना पकाउने चुलोमा विद्युतीय विकल्पलाई प्रवर्द्धन, वन डढेलो नियन्त्रणमा जनचेतना तथा शीघ्र प्रतिकार्य संयन्त्र र छिमेकी मुलुकहरूसँग सीमापार प्रदूषण न्यूनीकरणमा सहकार्य गर्नुपर्ने सुझाव दिइएको छ ।
काठमाडौं उपत्यकाको भाँडो आकारको भौगोलिक बनावटले प्रदूषण अझै चुल्याउने उल्लेख छ । विश्व बैंकका नेपाल, श्रीलङ्का र माल्दिभ्सका देश निर्देशक डेविड सिस्लेनले भने, ‘सफा हावाका लागि विश्व बैंक नेपालको प्रयासमा वित्तीय, प्राविधिक र सीप अभिवृद्धिको माध्यमबाट सहयोग गर्न तयार छ । विश्वभरका अनुभव र ज्ञान प्रयोग गर्दै दीगो र प्रभावकारी समाधानमा हाम्रो साथ रहनेछ ।’