काठमाडौं । डोनाल्ड ट्रम्प र एलन मस्कबीचको सम्बन्ध केही दिनमै गहिरो मित्रताबाट कटु द्वन्द्वमा परिणत भएको छ। पूर्वराष्ट्रपति ट्रम्प र अर्बपति उद्यमी मस्कबीचको टकराव सार्वजनिक रूपमा उब्जिएको हो, जसले अन्ततः व्यक्तिगत आरोप, राजनीतिक धम्की र टेस्लाको अरबौँ डलरको घाटासम्म डोर्यायो।
सन् २०२४ को जुलाईमा पेन्सिल्भेनियाको बटलरमा ट्रम्पमाथि भएको हत्या प्रयासपछि मस्कले तत्कालै ट्रम्पलाई पूर्ण समर्थन जनाएका थिए। सामाजिक सञ्जाल ‘एक्स’ मा उनले लेखेका थिए, ‘म राष्ट्रपति ट्रम्पलाई पूर्ण समर्थन गर्छु र उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’ त्यसपछि उनी ट्रम्पको चुनाव प्रचारमा समेत सहभागी भए र ‘मेक अमेरिका ग्रेट अगेन’ लेखिएको टोपीसमेत लगाए।
ट्रम्पको विजयपछि मस्कलाई ‘विशेष सरकारी कर्मचारी’ को रूपमा नियुक्त गरियो र उनले ‘सरकारी दक्षता विभाग’ मा खर्च कटौतीसम्बन्धी अभियान चलाए। सन् २०२५ को फेब्रुअरीमा मस्कले सामाजिक सञ्जालमा ट्रम्पप्रतिको माया प्रकट गर्दै लेखेका थिए, ‘म डोनाल्ड ट्रम्पलाई त्यति माया गर्छु जति एउटा सोझो पुरुषले अर्को पुरुषलाई गर्न सक्छ।’
तर सम्बन्धको अन्त्यको संकेत ३१ मेमा देखियो जब ट्रम्पले ओभल अफिसमा अन्तिम पत्रकार सम्मेलन गरे। उनले मस्कको खुलेर प्रशंसा गरे तापनि केही दिनमै मस्कले ट्रम्प प्रशासनको नयाँ बजेट विधेयक ‘वान बिग ब्यूटिफुल बिल’ लाई ‘घृणित र भ्रष्ट’ भन्दै कडा आलोचना गरे।
५ जुनमा ट्रम्पले मस्कमाथि उनले विद्युतीय सवारी छुट हटाइएको भन्दै विधेयक असफल बनाउन खोजेको आरोप लगाए । ट्रम्पले भने, ‘हामीबीच राम्रो सम्बन्ध थियो, तर अब छैन। म एलनबाट निराश छु। उनले यो विधेयकबारे सबै कुरा जान्दथे, तर पद छाडेपछि मात्रै विरोध जनाए।’
मस्कले ६ जुनमा प्रतिक्रिया दिंदै ट्रम्पको दाबी अस्वीकार गरे। उनले लेखे, ‘यो विधेयक मलाई कहिल्यै देखाइएको थिएन। यो त रातारात पारित गरिएको थियो, धेरै सांसदहरूले पढ्नसमेत पाएका थिएनन्।’
त्यसै दिन मस्कले ट्रम्पको नाम जेफ्री एप्स्टिनको फाइलमा रहेको भन्दै आरोप लगाए। उनले ट्रम्पको पुरानो अभिव्यक्ति पोस्ट गर्दै लेखे, ‘उनी रमाइलो साथी हुन् र महिला अलिक कम उमेरका छन्।’ मस्कले पोस्टको अन्त्यमा लेखे, ‘शुभ दिन होस्, डीजेटी’ । साथै उनले नयाँ राजनीतिक पार्टी बनाउनेबारे सर्वेक्षण पनि राखे।
मस्कले त्यसपछि ट्रम्पको महाभियोगको समर्थन गरे र जेडी भान्सलाई विकल्पका रूपमा अगाडि सारे। उनले ट्रम्पका विश्वव्यापी कर नीति सन् २०२५ को दोस्रो अर्धवर्षमा मन्दी ल्याउने चेतावनीसमेत दिए।
६ जुन साँझ ट्रम्पले सरकारी निकायहरूलाई मस्कका कम्पनीहरूसँगका सबै अनुदान र ठेक्का खारेज गर्ने चेतावनी दिए। यसको प्रत्यक्ष असर टेस्लाको सेयर मूल्यमा देखियो । यो कम्पनीको सेयरमूल्यमा एकाएक १४ प्रतिशतभन्दा बढी गिरावट आयो । जसले कम्पनीको बजार मूल्यबाट झण्डै १५२ अर्ब डलर गुमायो। मस्कको व्यक्तिगत सम्पत्तिमा ८ अर्ब ७३ करोड डलरको गिरावट आयो।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेखे,‘ूएलनले विरोध गर्न सक्छन्, तर त्यो धेरै पहिल्यै गर्नु पर्थ्यो। मैले उहाँलाई हटाएँ, विद्युतीय सवारी सम्बन्धी आदेश फिर्ता गरेँ, अनि उहाँ पागलझैँ हुनुभयो।’
अन्तमा ट्रम्पले लेखे, ‘सरकारी बजेट बचत गर्ने सबैभन्दा सजिलो उपाय भनेको एलनका सबै सरकारी अनुदान र ठेक्काहरू खारेज गर्नु हो।’