Logo

ईभी गाडीलाई प्रवर्द्धन गर्दा सरकारले ३५ अर्व राजस्व गुमायो, आगामी बजेटमा करको दर बढ्ने संकेत

ईभी गाडीलाई प्रवर्द्धन गर्दा सरकारले ३५ अर्व राजस्व गुमायो, आगामी बजेटमा करको दर बढ्ने संकेत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी) गाडीलाई प्रवर्द्धन गर्दा सरकारले ३५ अर्ब बढीको राजस्व गुमाएको बताएका छन् । अन्तरराष्ट्रिय भन्सार दिवशको अवसरमा शुक्रबार भन्सार विभागमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

laxmi

पछिल्लो समय व्यवसायको शैली बदलिँदा र नेपालमा अनुमान गरेभन्दा बढी विद्युतीय सवारीसाधन भित्रिँदा यसको असर राजस्व उठौतिमा परेको उनले बताए । ‘अर्थतन्त्रका केहि सूचकहरुमा सुधार आएको देखिएपनि राजस्व लक्ष्यमा हामी अझै दवावमा छौं,’ उनले भने, ‘खासगरी हाल व्यवसायको प्रवृत्ति परिवर्तन भइ डिजिटाईज हुँदा र सोचेभन्दा बढी विद्युतीय गाडी आयात हुँदा हामीले धेरैभन्दा धेरै राजस्व गुमाउन पुग्यौं ।’ अर्थमन्त्री महतले पछिल्ला हरेकजसो कार्यक्रममा ईभीको आयातले राजस्वमा असर परेको कुरालाई जोड दिँदै आएका छ ।

उनले पछिल्लो समय सर्वसाधारणलाई ईभीमा आकर्षित गर्नका लागि लिईएको नीतिले उल्टो असर गरेको बताएका छन् । पछिल्लो समय धेरैजसो व्यवसाय अनलाईनमा रुपान्तरण हुँदा पनि परम्परागत तरिकाले राजस्व उठाउने शैलीले यसमा केहि असर गरेको उनको भनाई छ । यस्ता व्यवसायलाई राजस्वको दायरामा चाँडोभन्दा चाँडो ल्याउन सकेमा र चुहावट न्युनिकरण गर्न सकेमा चालु आवमा लिईएको राजस्वको लक्ष्यमा पुग्न सकिने उनको भनाई थियो ।

‘सूचना प्रविधिका कारण व्यवसायको शैली परिवर्तन भएको छ, धेरैजसो व्यवसाय अनलाईनमा आधारित छन् हाम्रो राजस्व प्रशासन भने पुरानै ढर्रामा चलिरहेको छ,’ उनले भने, ‘अब हाम्रो राजश्व प्रशासन पनि अपडेट हुनुपर्छ सूचना प्रविधिमा आधारित सबैजसो व्यवसायलाई करको दायरामा ल्याउनुपर्छ ।’

उनले पछिल्लो समय भन्सारमा हुने गरेको ओभर भ्यालुएसन र न्यून भ्यालुएसनलाई नियन्त्रण गर्न भारतीय राजस्व प्रणालीसँग टाई अप गर्न सकिने कुरा बताएका छन् । यस्तै उनले अब हरेकजसो भन्सार नाकाहरुमा कन्टेनर स्क्यानर जडान गर्ने कुरालाई पनि जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारको आय भन्सारमा मात्रै केन्द्रित हुन नहुने बताए । उनले पछिल्लो समय चोरी पैठारी अत्याधिक बढेको बताउँदै यसको नियन्त्रणमा सरकारले बिशेष ध्यान दिनुपर्ने बताएका छन् । केहि महिना अघि मात्रै राष्ट्र बैंकले ल्याएको नयाँ नीतिले अर्थतन्त्र र व्यापार क्षेत्र चलायमान भएको बताउँदै उनले यसलाई थप सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले आत्मनिर्भर उन्मुख बस्तुको आयातलाई निरुत्साहन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै उनले अवैध पैठारीले अर्थन्त्रमा असर गरेको बताउँदै यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL